रङ्गेली/ ग्राहकको चाहना अनुसार फलामका औजार बनाउने शम्भु विकको जीवन सधैं अभावमै रह्यो । आरन चलाउने पेसाले आफ्नो परिवारको गर्जो टार्न धौ धौ हुन्छ ।
विराटनगर – १ मा उनी विहान ६ बजेदेखि साँझ ६ बजेसम्म आरनमा भेटिन्छन् । उनी सपरिवार त्यहाँ हुन्छन् । रात गुजारा भने उनी बुढीगङ्गा–१ को आफ्नो छाप्रोमा पुग्छन् । ‘दिन भरि आरन रुङ्दा पनि विहान बेलुकाको छाक टार्न मुस्किल पर्छ ।’ उनले भने ‘ चार महिन आगाडि आरनको मेसिन बनाउन दिएको १५ सय नहुँदा ल्याउन सकेको छैन ।’
भोजपुरको तत्कालीन गोगने गाविसमा जन्मेका शम्भु २०४८ सालमा तराई झरे । उनी २०५८ साल देखि विराटनगरको उक्त क्षेत्रमा आरन चलाएर जीवन चलाउँदै आएका छन् । विराटनगर–१ को घिनाघाट क्षेत्रमा उनले ३ वटा ठाउँ सरिसकेका छन् । त्यहाँको शहर विकास हुँदै गएपछि उनको बस्ने ठाउँ पनि हराउँदै गएको हो । उनले भने ‘तीन ठाउँ सरिसकेँ अब सर्नु प¥यो भने काहाँ जानुपर्ने हो थाहा छैन ।’ त्यहाँ आसपासमा गुम्ती राख्ने ठाउँ पनि सकिँदै गएको छ ।
ग्राहकले भने अनुसार फलामका टुक्रालाई सुन्दर आकृतिमा ढाल्ने काम गर्छन् शम्भु विक । फलामले सुन्दर आकृति ग्रहण गरे जसरी उनको १० जनाको परिवार पनि सुन्दर जीवन जिउन सकेको छैन । ‘आरनको काम शुरु गर्दा १६ वर्षको थिएँ अहिले ५० वर्षको भएँ ।’ उनले भने ‘खै के कमाएँ भन्नु ९ महिना अगाडि बाउ मर्दा चन्दा मागेर क्रिया गरेँ ।’
विगत ३४ वर्षदेखि कडा फलामसँग खेल्दै आएका शम्भुको जीवनको आर्थिक पाटो फलाम जस्तै दह्रो हुन कहिले सकेन । जीवन
सधंै धौ धौ मै गुजरिरहेको छ । फलमका औजार खोज्नेको माग पूरा गरे पनि आफ्नो परिवारको माग पूरा गर्न नसकेको उनी गुनासो गर्छन् । फलाम कुटेर सुन्दर आकृति प्रदान गर्न सक्ने शम्भुले आफ्नो भाग्य सुन्दर बनाउन नसक्दाको पीडा उनको अनुहारमा झल्किन्छ ।
रेडिमेड सामानले आरनको काम चौपट्ट
शम्भु आरनमा गालेर फलामबाट बनाउने विभिन्न औजार आजकाल बजारमै पाइन्छन् । चाहेको बेला चाहे अनुसारको सामान पाउने भएपछि उनलाई अर्डर गरेर बनाउन आउनेको सङ्ख्या घटेको छ । ‘हामीले बनाउने सबै सामान फ्याक्टरीले बनाउन थालेको छ ।’ उनले भने ‘ हामीले बनाएको भन्दा सस्तोमा पाएपछि किन आउँथे यहाँ ।’ फ्याक्ट्रीमा धेरै परिमाणमा सामान उत्पादन हुँदा सस्तो पर्ने गर्छ । उनले आरनमा सामान निर्माण गर्दा बजारको भन्दा केही महँगो पर्ने हुन्छ । यसले पनि आजकल मानिस उनकोमा नयाँ सामान बनाउने अर्डर गर्ने कम हुने गरेका छन् । पुराना सामानमा धार लागाउने, खुकुरीमा बिँडलागाउने लगायतका काम आउने गरेको उनी बताउँछन् ।
केही वर्षअघि सम्म गाउँगाउँ तावा, खुकरी, दाउलागयतका औजार बेच्न डुल्ने गरे पनि आजकल त्यसरी गए पनि बिक्न छाडेको शम्भुले बताए । उनी त्यसरी सामान बेच्नका मोरङको कर्सिया, डाइनीया, रङ्गेली, रञ्जनी, होक्लाबारीलगायतका गाउँसम्म पुग्ने गरेका थिए । रेडिमेड उत्पादनले उनको सबै कारोबार खुम्चिएको छ ।
भोजपुरे खुकुरी यहाँ चल्दैन
भोजपुरे खुकुरी नेपालमा मात्र होइन विदेशमा पनि चर्चित छ । शम्भु पनि भोजपुर कै हुन् । उनी त्यस्तो खुकुरी बनउन यहाँ कठिन हुने बताउँछन् । भोजपुरे खुकुरी बनाउन आश्यक कोइला र पाइनै पुग्दैन । जङ्गलमा आफै गएर बनाएको कोइला जस्तो यहाँ कहाँ पाउने उनी बताउँछन् । त्यहाँको जस्तो पाइन पनि यहाँ नहुने उनी बताउँछन् । यहाँका गाउँघरमा आगो बालेर बनेको कोइलाबाट भोजपुरे खुकुरी निर्माण गर्न असम्भव छ । भोजपुरमा जस्तो गुणस्तरीय खुकुरी बनाउन कठिन हुने उनी बताउँछन् । भोजपुरमा त्यस्ता खुकरीको चुरीफुरी नै राम्रो छ । त्यहाँ माग धेरै भएकोले धेरै बन्ने गर्छन् । एक जनाले खुकुरीको लागी आवश्यक फलाम र कोइला पु¥याउन कठिन हुन्छ ।
परिवार बढे सम्पत्ति बढेन
शिरमा ढाका टोपी, टिसर्टमाथि स्टकोट, मैलो कट्टु उनका सबै लुगा काला भएका थिए । हात खुट्टा र अनुहार पनि कोइलाले कालै थिए । फुटेका पनि छन् । आरनमा बलेको आगोबाट उडेको खरानीले उनको सबै शरीर नै कालो बनाएको छ । खरानीले उनको शरीर ढाके जस्तै अभावले उनको जीवन ढाकेको छ । उनकामा आउने प्रत्येक ग्राहकसँग हँसिलो मुहार देखाउँछन् । आफ्नो समस्या आफैसँग लुकाउँछन् । शम्भु विकले सम्पत्तिको नाममा सन्तान जोडेका छन् । उनको अहिले १० जनाको परिवार छ । उनका दुई छोरा, दुई छोरी, दुई बुहारी र ३ जना नतिनातिना रहेका छन् ।
शम्भु दम्पतीले आरनमा बालेको कोइलाले मात्र सबैको पेटको आगो निभाउन सक्ने अवस्था छैन । त्यसैले उनका छोरा छोरीले वैकल्पिक जन मजदुरीको काम गर्ने गर्छन् । फलामका विभिन्न औजार जसरी बनाउन मिल्ने भए शम्भुले आफ्नो भाग्य विहान बेलुकाको गुजारा चल्नेसम्मको पक्कै बनाउँथे होलान् ।