नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा सांस्कृतिक विविधता भित्र एकताको मालामा गासिएका नेपालीहरूको देश नेपाल हो । नेपाली समाज भित्र एकआपसमा एकता र मैत्रीपूर्ण वातावरण छ । नेपालमा मुस्लिम जातिको धर्म, संस्कार, भाषा, रहनसहन, परम्परा, भेषभूषा, साहित्य, कलाकौशल इत्यादि फरक रहेता पनि हामी नेपाली हौं भन्ने भावना यस समुदायका व्यक्तिहरूको रहेको छ । नेपालमा सदियौंदेखि मुस्लिम समुदायको बसोबास रहँदै आएको पाइन्छ ।

जनसङ्ख्याको हिसाबले मुस्लिम धर्मावलम्बीहरू अल्पसङ्ख्यक रहेता पनि यहाँका सबै समुदायमा आपसी सद्भाव र सहिष्णुता रहँदै आएको छ । नेपालमा मुस्लिम समुदायका व्यक्तिहरूको बसोबास र उपस्थिति पेशा तथा जीविकोपार्जनका कारण ७७ वटै जिल्लामा छरिएर रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार नेपालको कूल जनसङ्ख्याको ४.४५ प्रतिशत अर्थात् ११,६४,२५५ मुस्लिम जनसङ्ख्या रहेको देखिन्छ । तर, अन्य समुदायसँग सम्बन्धित धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रको विकासमा मुस्लिम समुदाय निकै पछाडि परेको छ ।

स्रोत र साधनको सन्तोषजनक परिवेशको अनुभूति यस समुदायले गर्न सकिरहेको छैन । अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनि रहेको पाइन्छ । तुलनात्मक रूपले नेपाली मुस्लिमहरू अशिक्षित र बेरोजगार छन् । सामाजिक समावेशीकरणका लागि सार्वजनिक क्षेत्रमा छुट्टै आरक्षण कोटाको निर्धारण भएको छैन । धार्मिक तथा सांस्कृतिक महŒव राख्ने स्थलहरूको स्वामित्व स्थापित भएको छैन । मुस्लिम महिला र बालबालिका शिक्षा, स्वास्थ्य र पोषणमा पछाडि परेका छन् । मदरसा शिक्षा प्रणालीले समकक्षता र औपचारिकता पाएको छैन । यस समुदायका मुख्य चाडपर्वहरूमध्ये ईद उल फित्र (ईद), ईदुल अज्हा (बकर ईद) तथा मुहम्मद जयन्तीको दिन सार्वजनिक विदा दिन सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिति रहेको छ ।

मुस्लिमहरूका विभिन्न पक्षहरूको अन्वेषण र अनुसन्धान छैन । यस समुदायको हक, हित एवं अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरणको सिर्जना भएको छैन । प्रगति अर्थतन्त्रका तथ्याङ्कले मात्र नभई यस समुदायको मानिसको जीवनस्तर, सेवा, सुविधा, चेतनाको स्तर र खुशीलाई जाच्दा पनि वास्तवमा यो समुदायको उत्थान विकास हुन सकिरहेको छैन । नेपालमा मुस्लिम नागरिकहरू पिछडिएका अवस्थामा छन् । विदेशी इस्लामिक विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका मुस्लिम नागरिकले शैक्षिक उपाधिको मान्यता पाइरहेका छैनन् । हज गर्न जाने हाजीहरूका लागि हज हाउस बन्न सकेको छैन । यस्ता विविध समस्याहरू नीतिगत रूपमा संशोधन गरी कार्यान्वयन गर्न र गराउन आवश्यक देखिन्छ । विद्यमान कानूनी व्यवस्था र नीति नियमहरूको समीक्षा, अनुगमन, मूल्याङ्कन गरी समयानुकूल संशोधन, परिमार्जन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न जरूरी देखिन्छ । यी सबैको पछाडि यस समुदायमा मुस्लिम नेतृत्वको अभाव हो, या हामीमा राष्ट्रप्रेम नभएर राज्यबाट नै अपहेलित छौं ? आखिर दोष कसको छ ?

मुस्लिम समुदायको मानिसको हृदयमा राष्ट्रप्रेम नभएको पनि अवश्य होइन किनकी एक नागरिकको हैसियतले आफ्नो देशको रक्षाका लागि आफूलाई परित्याग गर्नु, बाह्य आक्रमणबाट राष्ट्रलाई बचाउनु र नैतिक सिद्धान्तको रूपमा कानून र संस्कृतिको विकास गरेर आफ्नो गौरव बढाउनु नेपाली मुस्लिमहरूको पहिचान रहँदै आएको छ । करिब २००७ सालदेखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था शुरू भएको बेलादेखि नै प्रजातन्त्र, पञ्चायती व्यवस्था, पञ्चायती व्यवस्थाको पुनर्बहाली र पछिल्लो पटक प्राप्त गणतन्त्रमा नेपालका मुस्लिम जनसमुदायको पूर्ण सक्रियता रहेको छ । मुस्लिम समुदायहरूले आन्दोलनमा आफ्नो ज्यान समेत गुमाएका छन् । समाज परिवर्तनको लागि भएको क्रान्तिको अभ्यासलाई हेरियो भने मुस्लिम समुदायको विशिष्ट भूमिका रहेको पाइन्छ ।

यस्तो योगदानको बावजुद पनि राज्यबाट किन यस समुदायले बारम्बार उपेक्षाको शिकार हुनुपरेको छ ? यस विषयलाई सबैले गम्भीर रूपमा लिनुपर्छ । सामाजिक सङ्कीर्णताको लडाइँ के अब पनि जातिगत रूपमा लड्नुपर्ने हो त ? यसो हो भने अवश्य पनि नेपाली राजनीतिले फड्को मार्न सक्नेछैन । राजनीति एक निःस्वार्थ समाज सेवा हो जसलाई माध्यम बनाएर आफ्नो चिन्तनलाई परिष्कृत गर्दै आफ्नो समुदाय र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिन्छ ।

यो एक उत्तम स्थान हो तर दक्षता, विद्वता, इमानदारिता र शिक्षाको खडेरी भएका व्यक्ति जब नेता बन्न राजनीतिमा प्रवेश गर्छन् तब समुदायको कल्याण भन्दा पनि आफू कसरी चर्चित बन्ने भन्ने चिन्तनमा लागेका हुन्छन् । यहाँ पनि यस्तै थिति देखिएको छ । आफ्नो पद तथा शक्तिलाई निजी शासनको रूपमा लिने मुस्लिम नेताहरूलाई यस समुदायले मुस्लिम नेतृत्व मान्नु एउटा भ्रम हो । नेतृत्वको अभावमा नेताको मूल्य हुँदैन । अर्थात् जुन व्यक्तिमा नेतृत्वको क्षमता हुँदैन ऊ नेता बन्ने या भन्ने लायक हँुदैन । नेता त्यो हो जसले नेतृत्व गर्छ, सुझाव दिन्छ, पथप्रदर्शन गर्छ। आदर्शको रूपमा काम गर्छ, सरकार र समुदायबीच सामञ्जस्य प्रदान गर्छ । नेताको अर्थ राज गर्नु नभएर जनसमुदायको जीवन सहजीकरण गर्नु हो । जब मानिस असभ्य अवस्थामा थियो र जङ्गलमा बसोबास गथ्र्याे तब पनि नेता हुन्थ्यो र आज जब ऊ सभ्यताको चरम शिखरमा पुगेको दाबा गरिरहेको छ तब पनि नेता विभिन्न रूपमा प्रकट भएको पाइन्छ ।

युगान्तकारी परिवर्तन गर्न चाहने मुस्लिम समुदाय राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेका छैनन् । साथै हामी मुस्लिम समुदाय पनि राज्य र नेतृत्वमाथि आश्रित भयौं । समाजको उत्थानको लागि एकजुट हुन सकिरहेका छैनौं । एकाग्र भई आवाज उठाउन र दबाब दिन सकिरहेका छैनौं । वर्तमान नेताहरूमाथि नै विश्वास छैन भने दीर्घकालसम्म स्मरण गर्न लायकका नेता कहिले पाउछौं ? हामी कस्ता छौं, हाम्रो समाज कस्तो छ ? त्यहीअनुसारको नेता हामीले पाउने हौं । नेतृत्व बलवान्, बुद्धिमान्, शिक्षित, इमानदार, जवाफदेही र पारदर्शी हुनुपर्छ । तर, मुस्लिम समुदायमा हामीले यस्ता नेता पाएका छौं त ? पाएका छैनौं भने किन पाएनौं यो बहसमा हामी कहिल्यै प्रवेश नै गर्न चाहेनौं । अदूरदर्शी नेताले भीडलाई एकाकार गर्न त सक्छ जब कि असल नेतृत्वले आन्दोलन चलाउँछ, त्यसलाई उपलब्धितर्फ डो¥याउँछ । समाजलाई समुन्नत बनाउँछ ।

खै त आन्दोलन ? खै समुदायलाई सन्तुष्टि प्रदान गरेको ? समुदायको समस्याहरू समाधानका लागि माग र दबाब खै ? जुनसुकै पार्टीका मुस्लिम अगुवा किन नहोस् पद र शक्तिको दम्भले आफ्नै समाजको कुरा नसुनेका उदाहरणहरू कयौं छन् । आफ्नै सामाजिक मुद्दाहरू पूरा गर्न सकिरहेका छैनन् । कुनै समुदाय छ भने त्यहाँ नेता छन् । त्यहाँ नेतृत्व हुनु पनि स्वाभाविक पनि हो । यो समुदाय पिछडिएको वर्ग उन्मुख छ, अगाडि परेको समुदाय, वर्ग कहिले बन्ने ? पिछडिनुमा मुस्लिम समुदाय जिम्मेवार हो कि ? राज्यबाट अपहेलित भएको हो कि ? अथवा नेतृत्वको अभाव भएर हो ? यिनै प्रश्नको उत्तर खोज्दै मुस्लिम समुदाय सामुदायिक उन्नतिका लागि जागरुक र एकजुट हुन जरुरी देखिन्छ । (मधेश दर्पण फिचर सेवा)