रङ्गेली/  मोरङको धनपालथानकी आशिका चौधरीलाई तिहारका कारण भ्याइ(नभ्याइ छ । घरछेउको पोखरीबाट हिलोमाटो ओसार्न उनी व्यस्त छिन् ।

तिहार नजिकिदै गर्दा घर नयाँ माटोले लिप्न उनीमात्र होइन टोलका सबै व्यस्त छन् । घर लिप्नलाई आवश्यक पर्ने लिसाइलो माटो ओसार्न समूह समूहमा महिलाहरूको चहल पहल देखिन्छ । पानी सुक्दै गए पछि खोला, पोखरी, पैनी, नहरमा लिसाइलो माटो निकाल्न तँछाडमछाड नै हुने गर्छ । यस्तो दृश्य तराइका बस्तीहरूमा तिहार छेउ देखिने गर्छ । तराईका बासिन्दामा दशैंभन्दा तिहारको रमझम बढी हुने गर्छ । लिसाइलो माटो घरको भित्तामा लिम्सेपछि चौधरी,सरदार समुदायमा विभिन्न कलात्मक चित्र बनाउने गरिन्छ ।

दशैंभन्दा तिहार धुमधामसँग मनाउने गरेको कटहरीकी जलेश्वरी सरदारले बताइन् । यतिबेला तराई बासीहरूको घरआँगन सिँगार्ने काम भइरहेको छ । तराईका बस्ती बस्तीमा तिहारको चहलपहल देख्न सकिन्छ । यता बजारमा पनि तिहार लक्षित सामानहरू आइसकेका छन् । तिहारको लागि विराटनगरमा फूल, माटाको दियो, घडा, बिजुलीका झिलीमिली सामानको व्यापार शुरु भएको हो । बजारमा व्यापारीहरूले तिहारको लागि मात्र नभएर छठको लागि अवश्यक पर्ने नाङ्लो, कुनिया, माटाका भाँडालगायतका सामान पनि बिक्रीमा राखेका छन् ।

तिहार लगत्तै आउने छठको पूजा पनि तराईमा भव्य रूपले मनाउने गरिन्छ । तिहार र छठमा माटाको भाँडाको खपत बढ्ने गर्छ । माटाका भाँडा बनाउने व्यवसायीले यो मौकालाई लक्षित गरेर ठूलोमात्रामा माटाका सामानहरू बनाउने गरेका छन् । सुनसरी चिमडीका गोपाल पण्डितले यस वर्ष तिहार र छठको लागि २० हजार माटाका दियो बनाएका छन् । उनले ५ हजार माटाको कलश पनि बनाएका छन् । आफूले तयार पारेका सामान तिहार र छठ भरीमा बेचिसक्ने उनले बताए ।

अहिले विराटनगरमात्र नभएर मोरङमा साप्ताहिक रूपमा लाग्ने हाटबजारमा पनि माटाका सामान र बाँसका सामान बिक्रीका लागि राखेको प्रसस्त देख्न सकिन्छ । मानिसले तिहारमा आवश्यक पर्ने सामानको जोहो बेलैमा गर्न थालिसकेका छन् । पछि भिडभाड बढने र सामान नपाई सक्ने भन्दै बेलैमा सामान जोहो गर्न लागेको बुढीगङ्गाकी पुनीता यादवले बताइन् ।‘तिहार र छठको लागि आवश्यक सामाग्री बेलैमा जोहो गर्दै छु ।’ उनले भनिन् ‘पछि भीडभाडमा झन्झट गर्नुभन्दा अहिले नै किन्यो आनन्द ।’ माटाको दियो, कलश लगायतका सामान बिक्री हुन थालिसकेको विराटनगरका व्यपारी भरत साहले बताए । घरमा तिहारमा बाल्ने दियो र कलश किन्न ग्राहकहरू आउन थालेको उनले बताए । तिहारमा बाल्न आठ दशवटा देखि एक डेढ सयसम्म माटाका दियो ग्राहकले लाने गरेको उनले बताए ।

दियो, माटाको भाँडा, कलश, कुनियाँ, ढाकी, नाङ्लोलगायतका सामान बिक्ने गरेको व्यापारी सुनितादेवी साहले बताइन् । उनलेगुद्रीबजारमा पहिलादेखि नै बाँसको सामान र भाटाका भाँडा बेच्दै आएकी छन् । दीपावली र छठको बेलामा यस्ता समानको व्यापार बढ्ने गरेको उनले बताइन् । तिहारमा धनकी देवी लक्ष्मी र भगवानको पनि आराधना गर्ने गरिन्छ । पूजाका लागि सर्वसाधारणले लक्ष्मीको फोटो पनि किन्ने गर्छन् । यस समयमा लक्ष्मी माताको फोटो बिक्री बढ्ने गरेको व्यापारी सञ्जयकुमार साहले बताए । तिहार दाजुभाइ तथा दिदीबहिनीको मिलनको पर्वको रूपमा रहेको छ । यसमा भाइटीकाको दिन दिदीबाहिनीले दाजुभाइलाई टीका लगाएर विभिन्न सामानहरू दिने गर्छन् । चेलीहरूले आफ्ना दाजुभाइलाई दिने विभन्न मसाला र उपहारका सामान पनि यतिबेला निकै बिक्री हुने गरेका छन् ।