भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरमा कार्यरत चिकित्सकहरूले बिरामीलाई ‘फुड सप्लिमेन्ट्री’ (खाद्यपूरक) खान बाध्य बनाएको पाइएको छ । 

अस्पताल प्रशासनले आवश्यकताका आधारमा ‘फुड सप्लिमेन्ट्री’ लेख्न दिएको आदेशलाई चिकित्सकले बेवास्ता गर्दै आएका छन् । औषधि बिक्रेतासँगैको मिलेमतोमा बिरामीलाई ‘फुड सप्लिमेन्ट्री’ खान बाध्य पारिरहेको बिरामीका आफन्तले बताए । अस्पतालमा सेवा लिन आउने हाडजोर्नी तथा नशा रोगका बिरामीहरूलाई अस्पतालका केही चिकित्सकले ‘फुड सप्लिमेन्ट्री’ को सिफारिस गर्ने गरेका छन् । डाक्टर रूपेश गौतम, अनिल यादवलगायतले ‘फुड सप्लिमेन्ट्री’ खान बाध्य बनाइरहेको बिरामीका आफन्तले बताए । घाँस काट्ने क्रममा हातमा गहिरो चोट लागेर उपचारका लागि अस्पताल आएका एक बिरामीले पुर्जा देखाउँदै भने, ‘डाक्टर अनिल यादवले जबरजस्ती अर्थोहिल नामक औषधि भिडाए ।’

चिकित्सकले भारतमा उत्पादित अर्थोहिल, केअर के टु र  जीङ कल डी थ्रीलगायतका ‘फुड सप्लिमेन्ट्री’ सिफारिस गर्ने गरेका छन् । ती ‘फुड सप्लिमेन्ट्री’ मा ८ सय, ७ सय र ६९५ अधिकतम भारतीय मूल्य लेखिएको छ । ‘बायाँ कुम दुखेर चेक गराउन आउँदा  डाक्टरले यो औषधि खानुपर्छ र किनेपछि मलाई देखाएर मात्रै जानु भन्नु भएकाले देखाउन आएको हो’–अस्पतालमा भेटिएकी एक बिरामीले भनिन् ।

‘फुड सप्लिमेन्ट्री’ फरक–फरक नाममा आउने गरेको फार्मेसी सञ्चालक बताउँछन् । स्वास्थ्य विभागबाट मान्यता प्राप्त औषधि नभए पनि चिकित्सकले सिफारिस गरेपछि लुकाएर बिक्री गर्नु परेको उनीहरू सुनाउँछन् । चिकित्सकले औषधि सिफारिस गरेबापत चिकित्सकको नाममा निश्चित रकम जम्मा हुँदै आएको उनीहरूको दाबी छ । बिरामीले ‘फुड सप्लिमेन्ट्री’ खरिद गरिसकेपछि डाक्टरलाई देखाउनु पर्ने बाध्यता रहेको औषधि व्यवसायी बताउँछन् । डाक्टर अनिल यादवले बिरामीलाई यस्ता औषधिले छिटो समस्या समाधान हुने भएकाले दिँदै आएको बताए । अबदेखि बिरामीलाई सिफारिस नगर्ने उनले बताए । 

पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत अर्थो विभागका डाक्टरले अटेर गरेको अस्पताल प्रशासन शाखा प्रमुख कृष्णा श्रेष्ठले बताइन् । यो प्रक्रिया नरोकिएमा अस्पताल प्रमुख, व्यवस्थापन समितिलगायतले उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइने उनको दाबी छ । यस्ता प्रकारका खाद्यपूरक अन्तर्गत पर्ने भएकाले डाक्टरले सिफारिस गर्न नमिल्ने स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सूचना अधिकारी डा. केनिन राईले बताए । यस्ता भिटामिन सूचीकृत नभएकोले सिफारिस नगर्न स्वास्थ्य मन्त्रालयले परिपत्रसमेत जारी गरिसकेको उनले जनाए ।