सुनसरी । कोशी प्रदेशमा ‘सीप उत्सव २०८२’ को सुरुवात इटहरीबाट गरिएको छ । पहिलो दिन शनिबार इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा आयोजित कार्यक्रममा होटल व्यवस्थापन विषयका प्री–डिप्लोमा तहका औद्योगिक प्रशिक्षार्थीबीच सीप प्रतियोगिता सम्पन्न भयो ।

शिक्षालयका अध्यक्ष एकचन्द्र बराल (निर्मल) ले सलाद काट्ने नयाँ शैली नामक कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा इन्स्योर परियोजना कोशी प्रदेशका प्रमुख विकास पन्थीको विशेष उपस्थिति थियो ।

प्रतियोगितामा दुई टोली सहभागी थिए । प्रत्येक टिममा ६ जना प्रशिक्षार्थी रहेको प्रतियोगितामा सेवा, सजावट, खाना तयारी र आतिथ्य सत्कारका सीपहरू प्रस्तुत गरिएको थियो ।

उक्त उत्सव कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा, स्विस विकास सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित इन्स्योर परियोजना अन्तर्गत गरिएको हो ।

उत्सव अन्तर्गत कोशी प्रदेशमा रहेक विभिन्न प्राविधिक शिक्षालयहरूमा वैशाख २२ देखि ३० गतेसम्म विविध विषयमा सीप प्रतिस्पर्धा सञ्चालन गरिनेछ । होटल व्यवस्थापनसँगै सूचना प्रविधि र अटोमोबाइल इन्जिनियरिङ विषयमा समेत प्रतिस्पर्धात्मक कार्यक्रम गरिने प्रमुख पन्थीले जानकारी दिएका छन् ।

आयोजकका अनुसार उत्सवको उद्देश्य प्राविधिक तथा व्यावसायिक शिक्षामा संलग्न विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नु, प्रतिस्पर्धामार्फत् व्यावसायिक अनुभव दिलाउनु र सीपमूलक शिक्षाको प्रवद्र्धन गर्नु हो ।

‘सीप उत्सव २०८२’ को समापन कार्यक्रम वैशाख ३० गते बिर्तामोडस्थित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानमा आयोजना गरिनेछ ।