भद्रपुर । छोराको मृत्युको घटनालाई लिएर परिवारले छानबिनको माग गरेका छन् । 

झापाको शिवसताक्षी–१० माईधारमा रहेको अनन्त आदर्श संस्कृत वेद विद्यालयमा कक्षा ५ मा पढ्ने कनकाई–७ का १२ वर्षीय उत्सव गौतम मृत भेटिएको विषयमा परिवारले छानबिनको माग गरेको हो । गौतम गत चैत २७ गते गुरुकुलको स्टोरमा मृत अवस्थामा भेटिएका थिए । गौतमले ‘आत्महत्या’ गरेको भनिए पनि परिवारले घटना रहस्यमय भनिरहेको छ ।  मृतक विद्यार्थीको परिवारले घटना शङ्कास्पद भएको दाबी गर्दै छानबिनको माग गरेको हो ।

मृतकका बुबा बोधराज गौतमले घटना गम्भीर भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । छोराले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । पोष्टमार्टमको रिपोर्टमा झुण्डिएको भनिए तापनि त्यो नभएर छोराको हत्यापछि झुण्ड्याइएको उनले दाबी गरे । गुरुकुलका केही शिक्षकहरूको विरुद्धमा जाहेरी दिँदा प्रहरीले लिन नमानेपछि सरकारी वकिलको कार्यालयमार्फत् प्रक्रिया अगाडि बढाइने उनले बताए ।  

एक वर्षअघि खुदुनाबारीस्थित साधुटारबाट अनन्त आदर्श संस्कृत वेद विद्यालय यहाँ ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेले प्रारम्भिक जानकारी सङ्कलन गरिरहेको छ । 

घटनालाई सूक्ष्मरूपमा बुझ्न इलाका प्रहरीसँग समन्वय गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा गुरुकुलका प्राध्यापक उद्धव बास्कोटाको ९८१६९००७६९ नम्बरमा फोन सम्पर्क हुन सकेन । ब्लाष्टको प्रधान कार्यालयबाट उक्त नम्बरमा फोन गर्दा स्वीच अफ रहेको बतायो ।