विराटनगर । विदेशमा मृत्यु भएका श्रमिकको बिमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले सन नेपाल लाइफ इन्स्युरेन्स कम्पनीका शाखा प्रमुखलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ बस्ने शाखा प्रमुख सन्तोष अधिकारीलाई मोरङ प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । मोरङको केराबारी गाउँपालिका–९ निवासी ३७ वर्षीय नइन्द्र विश्वकर्मा वैदेशिक रोजगारीको सिलसिलामा २०८० सालमा बहराइन गएका थिए । २०८१ सालमा मिर्गौला रोगबाट पीडित बनेर नेपाल फर्किएका उनी उपचारको क्रममा निधन भएको थियो ।
उनको मृत्युपछि श्रीमती भीमकुमारी विश्वकर्माले पाउनु पर्ने बिमा रकम १३ लाख रुपैयाँ दाबी गर्न सन नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको विराटनगर शाखामा पुगेकी थिइन् । त्यसक्रममा शाखा प्रमुख सन्तोष अधिकारीले बिमा प्रक्रियाबारे नबुझेकी भीमकुमारीलाई झुक्याई विभिन्न कागजातमा सहीछाप गराई, ग्लोबल आइएमई बैङ्कमा एकल तथा संयुक्त खाता खोल्न लगाई चेकबुकहरू आफूसँग राखेको अनुसन्धानबाट खुलेको छ ।
बिमा रकम भुक्तानीको क्रममा जम्मा पाँच लाख ७६ हजार रुपैयाँ मात्र प्राप्त हुने जानकारी पाए पछि भीमकुमारीले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा अधिकारीले भीमकुमारीको नाममा १५ वर्षे अवधिको बिमा गराई वार्षिक ७० हजार रुपैयाँ तिर्ने व्यवस्था गरेका थिए ।
साथै, मृतकका नाति प्रतीक विश्वकर्मा र पहिलो श्रीमती मीरा विश्वकर्माको नाममा समेत बिमा गरी आर्थिक भार सिर्जना गरिएको पाइएको छ ।यसरी विश्वासघात गरी झुक्याएर ठगी गरेको पाइएपछि मोरङ प्रहरीले सन्तोष अधिकारीलाई नियन्त्रणमा लिई आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान थालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।