धरान । गत मङ्गलबार धरानस्थित कृषिउपज बजारमा आएको तरकारीमध्ये फूलकोपीमा खान नमिल्ने गरी धेरै विषादी पाइएको छ ।
मकवानपुरको पालुङ्ग क्षेत्रबाट आएको फूलकोपीमा धेरै विषादी देखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ धरानले परीक्षण गरेको रिर्पोटमा भेटिएको हो । रिर्पोटअनुसार व्यवसायी सन्तोष ढकाल र लालो चौधरीले पठाएको करिब दुई हजार ४२ केजी कोपीमा खान नमिल्ने गरी धेरै विषादी पाइएको छ । दुई चरणमा परीक्षण गर्दा ९७.४ र ९३.५ प्रतिशत कार्वमेट र अर्गानोफस्फेट तŒव बढी भएको प्रयोगशालाको रिर्पोटमा उल्लेख छ ।
कृषिउपज बजारका व्यावस्थापक लक्ष्मण भट्टराईका अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भए मात्रै खान योग्य मानिन्छ । ४५ प्रतिशत भए १५ दिन राखी पुनः परीक्षण गरी विषादीको मात्रा कम भए मात्रै खान मिल्ने उनले जानकारी दिए । ४५ प्रतिशतभन्दा माथि आए खान अयोग्य हुने भएकाले तुरुन्त नष्ट गर्नुपर्ने निर्देशिकामा उल्लेख भएको व्यावस्थापक भट्टराईले जानकारी दिए ।
केन्द्रले फूलकोपीसँगै मुला, बन्दाकोपी, हरियो खुर्सानी, घिरौला, गोलभेडा, गाजर, सिमीलगायत ११ वटा तरकारी परीक्षण गरेको थियो । धनकुटा, विराटनगरलगायत क्षेत्रबाट आएको फूलकोपीमा विषादीको मात्रा खान योग्य रहेको भए पनि पालुङ्ग क्षेत्रबाट आएको फूलकोपीमा खान नमिल्ने गरी धेरै विषादी देखिएको र नष्ट गरिएको व्यावस्थापक भट्टराईले जानकारी दिए ।
‘कोपीसँगै मुला, गाजरलगायत अन्य तरकारी पनि आएको थियो अन्य तरकारी खान योग्य थिए’ भट्टराईले भने, ‘तर कोपी भने खाने योग्य देखिएन ।’ अफ सिजनका बेला कृषि बजारमा ५० टनभन्दा बढी तरकारी बिक्री हुँदै आएको छ । सिजनका बेला २ सय मेट्रिक टनसम्म बिक्री हुने गरेको छ ।
कोपी नष्ट
विषादी धेरै भेटिए पछि मङ्गलबार पालुङ्गबाट आएको फूलकोपी नष्ट गरिएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, १३ नं. वडाका वडाध्यक्ष नेत्र काफ्लेलगायतको रोहवरमा नष्ट गरिएको व्यावस्थापक भट्टराईले जानकारी दिए । विषादीको बारेमा स्थानीय कृषकहरूसँग भने कृषिउपज बजारले छलफलसमेत गरेको छ ।
पालुङ्गबाट अन्य बजारमा आयात जारी
कृषिउपज बजारमा आएका तरकारीको विषादी मापन गरिए पनि इनरुवा, इटहरी, विराटनगरलगायत क्षेत्रमा आउने तरकारीको विषादी मापन गरिँदैन । ती बजारहरूमा विषादी मापन यन्त्र छैन । धरानमा कोपी आउन छाडे पछि त्यही कोपी इनरुवा, इटहरी र विराटनगरलगायत पूर्वमा जाने गरेको कृषिउपज बजारका व्यावस्थापक भट्टराईले जनाए । खान नमिल्ने गरी धेरै विषादी भएको फूलकोपी बजारमा जाँदा चिन्ताको विषय भएको उनले बताए ।