धरान । माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकनका लागि गर्न लागिएको पदयात्रापूर्व बुधबार ‘अनुसन्धानमूलक लेखन’ अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
अनुसन्धानमूलक लेखनका विषयमा ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले सहजीकरण गरे । कार्यक्रममा माङसेबुङ गाउँपालिकाभित्र कार्यरत पत्रकार तथा झापा दमकका पत्रकारहरू सहभागी थिए । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक लेख प्रकाशन गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक कमन देवानले जानकारी दिए ।
गाउँपालिकाले १८ वटा पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्र पहिचान गरेको छ । उक्त क्षेत्रमा ९ जना पत्रकारहरूले अनुसन्धानमूलक लेख प्रकाशन गर्ने तयार गर्ने कार्यक्रम रहेको आयोजक संस्थामध्येको एक बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. माङसेबुङका अध्यक्ष रामकुमार लिम्बू (योङहाङ) ले बताए ।
कार्यक्रमको उद्घाटन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका थिए । उनले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अगाडि बढेको उनले बताए । उनले धार्मिक पर्यटकीय क्षेत्र लारुम्बा क्षेत्रमा लाखौँ देशीविदेशी पर्यटकहरू आउने गरेको बताए ।
यस्तै अन्य क्षेत्रहरू पनि रहेको र त्यसलाई पत्रकारहरूको माध्यमबाट बाहिर ल्याउने अभिप्राय गाउँपालिकाको रहेको बताए । उनले कोशी प्रदेश सरकारले यसैवर्षबाट पर्यटन वर्ष मनाइरहेको सन्दर्भमा गाउँपालिकाले यहाँका पर्यटकीय क्षेत्रहरूको विकासका लागि काम गरिरहेको बताए ।
कार्यक्रमका अतिथि उपाध्यक्ष विनोदकुमार नेम्बाङले गाउँपालिकाको पर्यटकीय क्षेत्रहरूको पहिचान गर्ने कार्यमा आफूहरू लागिरहेको बताए । उनले पदयात्राको शुभकामना दिए । माङसेबुङ ४ का वडाध्यक्ष नवीन लिम्बूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात् सात दिने पदयात्रा सुरु गरिएको छ ।
पदयात्रामा माङसेबुङ र झापाका पत्रकारहरूले सातदिनसम्म १८ स्थानका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रहरूको भ्रमण गरी अनुसन्धानमूलक लेख लेखिने जनाइएको छ ।