भद्रपुर । स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले बुधबार बिहान मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित मोरङ उर्लाबारी–८ अठियाबारीका ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल हेक्वा गण नं. २ झापाले जनाएको छ ।
काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा रकमसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल हेक्वा गण नं. २ झापाका डिएसपी सुमन पोखरेलले जानकारी दिए ।
प्रहरीका अनुसार बिहान करिब १०ः०५ बजे काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बसमा शङ्का लागेर चेकजाँच गर्दा ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ (विनिमय दर अनुसार नेपाली २३ लाख ९९ हजार ५२० बराबर) सहित कार्कीलाई पक्राउ गरेको डिएसपी पोखरेलले जनाए । बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उनले जानकारी दिए ।