रङ्गेली/ प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याए पनि प्रयोगविहीन अवस्थामा छ । प्रदेश सरकारले विदेशबाट आयात हुने तरकारी तथा खाद्यवस्तुसँगै स्थानीय उत्पादनको पनि परीक्षण गर्ने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त प्रयोगशालाबाट प्रदेशका जनताले कत्तिको मात्रामा विषादीयुक्त तरकारीको प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने काम मात्र भएको छ । त्यसको कार्यान्वयन पक्ष भने फितलो अवस्थामा रहेको छ । बालीसंरक्षण प्रयोगशालाकै कार्यालयमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला पनि सञ्चालनमा रहेको छ । बालीसंरक्षण प्रयोगशालाका प्राविधिक कर्मचारीले नै त्यस्तो परीक्षण गर्नुपर्ने अवस्था रहेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा आएका नमूनाहरूको परीक्षण बिहान–बेलुकाको समय पारेर गर्ने गरेको सहायक प्राविधिक सीता बरालले बताइन् ।

उक्त प्रयोगशालामा नमूना परीक्षणको लागि सुनसरीको भण्टाबारी नाकाबाट मात्र आलु र प्याजको नमूना आउने गरेको छ । विराटनगर भन्सार कार्यालयबाट भने परीक्षणको लागि तरकारी आउने गरेको छैन । अन्य तरकारी भने नगण्य मात्रामा आउने गरेको छ । स्थानीय उत्पादनको प्रयोगशालाले आफै सङ्कलन गरेर परीक्षण गर्ने गरेको छ । यसरी स्थानीय स्तरमा भएको परीक्षण जानकारीमा मात्र सीमित भएको बरालले बताइन् । परीक्षणपछि आएको परिणामको आधारमा कार्यान्वयन गर्ने अधिकार प्रयोगशालालाई छैन । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका लागि नमूना सङ्कलन, परीक्षण र कार्यान्वयन गर्न समितिको आवश्यकता पर्छ । त्यो समिति पनि अहिलेसम्म बनेको छैन ।

परीक्षणको लागि प्रयोग हुने केमिकल अधिक महँगो पर्ने सहायक प्राविधिक बरालले बताइन् । त्यसैले परीक्षण गर्दा पनि जति धेरै स्याम्पल भयो त्यति नै राम्रो हुने उनले बताइन् । उनले भनिन्, ‘एउटा स्याम्पल परीक्षण गर्नु र १० वटा गर्नु उस्तै–उस्तै पर्छ ।’ विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा दुई समूहका विषादीको मात्र परीक्षण हुँदै आएको छ । अहिले बढी मात्रामा प्रयोग हुने गरेको कार्वोमेट र अग्र्यानो फस्फेट समूहका विषादीको परीक्षण हुने गरेको बरालले बताइन् ।

दुई समूहमध्ये अग्र्यानो फस्फेट समूहको विषादीको परीक्षणमा प्रयोग गरिने विषादी बढी घातक हुने गरेको उनले बताइन् । यो केमिकल प्रयोग गरेर परीक्षण गर्दा प्राविधिकले धेरै सजगता अपनाउनु पर्ने उनको भनाइ छ । उक्त केमिकलले सिधै असर गर्ने भएकोले चश्मा, एप्रोन, मास्क, ग्लोब्सको राम्रोसँग प्रयोग गर्नुपर्ने उनले बताइन् । उक्त केमिकल शरीरका छिद्रबाट सिधै शरीरमा पस्ने र क्यान्सरजस्तो घातक रोग लाग्न सक्ने उनले बताइन् । सुरक्षाको लागि प्रयोग गरिने सामानको अभाव रहेको पनि उनले बताइन् । यता कार्वोमेट समूहको विषादीको परीक्षणमा भने सामान्य सुरक्षा अपनाउँदा पनि हुने उनले बताइन् ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षणको लागि जनशक्ति पनि बढी लाग्ने उनले बताइन् । जम्मा भएका स्याम्पल परीक्षणको लागि तयारी गर्न दुईदेखि तीनजनासम्म प्राविधिक जनशक्ति आवश्यक पर्ने उनले बताइन् । परीक्षणमा विषादीको अवशेष ३५ प्रतिशतसम्म भए उपभोग गर्न सकिने हुन्छ । ३५ भन्दामाथि ४५ प्रतिशतसम्म भए केही समय राखेर उपभोग गर्नुपर्ने उनले बताइन् । ४५ प्रतिशतभन्दा माथि भए नष्ट गर्नुपर्ने हुन्छ । प्रयोगशालामा आलु र प्याज परीक्षणको लागि बढी आउने गरेको उनले बताइन् । त्यसमध्ये बढी विषादी आलुमा पाइने गरेको उनको भनाइ छ ।