विराटनगर/ सङ्कटापन्न एवम् लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने ओसार–पसार र व्यापारलाई नियमन गर्न बनेको संस्था साइटिसको पहिलो नम्बरमा रहेको संरक्षित घस्रने वन्यजन्तु ‘सुन गोहोरो’ भारततिर तस्करी हुने गरेको पाइएको छ ।

तराई क्षेत्रको खेतबारी र कुलोमा बस्ने सुन गोहोरो मोरङको दक्षिणीभेगबाट भारततिर तस्करी हुने गरेको हो । इलाका प्रहरी कार्यालय रङ्गेलीले करिब १ केजी तौल भएका १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेपछि यस्तो खुलेको छ ।

मोरङ सुनवर्षी नगरपालिका–८ स्थित डायनिया–सिकटी सडक–खण्ड अन्तर्गत डायनिया छोटी भन्सार कार्यालयअगाडिबाट प्रहरीले पथरीशनिश्चरे नपा–६ का ५९ वर्षीय जसबहादुर धिमाललाई पक्राउ गरेको हो । प्रहरीले उनलाई साइकलमा लोड गरेको अवस्थामा १२ थान सुन गोहोरोसहित शनिबार पक्राउ गरेको थियो ।

सङ्कटापन्न वन्यजन्तुको सूचीमा पर्ने सुन गोहोरो तस्करले भारत पुर्याउँदा महँगो मूल्यमा बिक्री हुने गरेको छ । पहेँलो र छिरबिरे रङ हुने भएकोले सुन गोहोरोको छाला डमरूमा प्रयोग हुने गरेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार भारत पुर्याउँदा ५ हजारदेखि १० हजार रुपैयाँसम्म प्रतिगोटा बिक्री हुने गरेको छ ।

धिमालले नियन्त्रणमा लिएको सुन गोहोरोलाई लक लगाएर २ वटा बोरामा बाँधेर साइकलमा राखेको अवस्थामा पक्राउ गरेको इप्रका रङ्गेलीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए । प्रहरीले १२ वटा सुन गोहोरो जिउँदै नियन्त्रणमा लिएको हो । ‘लक लगाएर राखेको अवस्थामा एउटा बोरामा ७ थान र अर्कामा पाँच थान सुन गोहोरो थियो’ उनले भने, ‘आवश्यक थप कारबाहीको लागि डिभिजन वन कार्यालय विराटनगरमा सुन गोहारोसहित पक्राउ परेका धिमाललाई बुझाएका छौं ।’

डिभिजन वन कार्यालयले विराटनगरले आइतबार सुन गोहोरोसहित पक्राउ परेका धिमाललाई जिल्ला अदालत मोरङमा ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । डिभिजन वनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको सहायक वन अधिकृत दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएको सुन गोहोरोलाई संरक्षण गरी प्राकृतिक बासस्थानमा छोडिने बताए । डिभिजन वनले मोरङको बेतना सिमसारमा छोड्ने तयारी गरेको बुझिएको छ ।

यस्तो छ कानूनी व्यवस्था
‘सुन गोहोरो’ संरक्षित घस्रिने वन्यजन्तु हो । यो दुई प्रकारको हुन्छ । अर्काे भैंसी गोहोरो हो । यो पहाडी भेगमा हुन्छ । सुन गोहोरो मांसाहारी वन्यजन्तुमा पर्दछन् । यसको निकासीमा सरकारले पूर्णरूपमा बन्देज लगाएको छ । कसैले यसको चोरी तस्करी गरेको खण्डमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चल्ने गरेको छ । अदालतले यस मुद्दामा दोषी ठहर गरे २ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।