सामाजिक रोगको रूपमा ठगी धन्दा मुलुकै भरि फस्टाएको छ । ठगीका अनेक रूप छन् । जेमा पनि ठगी मात्र हुन थालेको छ । ठग आखिर ठग नै हो । समाजको धमिरा हो । ठगी गर्नेले अनेक रूप धारण गरेर सर्वसाधारणलाई मात्र नठगेर प्रहरी, सेना, व्यूरोक्राट्स, कलाकार, चिकित्सक, पत्रकार, वकिल, व्यापारी व्यवसायी, उद्योगीदेखि मन्त्री नेतासम्मलाई बाँकी राख्दैन । ठगी धन्दा गर्ने भनेर ट्याग नलागे पनि अप्रत्यक्ष रूपमा तिनै व्यापारीले उपभोक्तालाई मूल्यमा, तौलमा, मिसावट गरेर ठगी गरिरहेका छन् । मजदुरले मालिकलाई, मालिकले मजदुरलाई, निजी विद्यालयले अभिभावकलाई, यातायात व्यवसायीले यात्रुलाई, सरकारी कर्मचारीले सेवाग्राहीलाई,वैदेशिक रोजगारमा जानेलाई म्यानपावर व्यवसायीले ठगिरहेका हुन सक्छन् । अचेल हरेक क्षेत्रमा ठगी धन्दा फस्टाएको बेला आर्थिक ठगीको मारमा सर्वसाधारणहरू बढी परेको चर्चा हुने गरेको छ । ठगी धन्दासँग व्यक्तिको मनोविज्ञान र सामाजिक मनोविज्ञान पनि जोडिएको हुन्छ । नेपाली उखान छ नि ‘लोभले लाभ, लाभले विलाप’ । हो, यही लोभलालच गर्ने व्यक्तिको मनोविज्ञानलाई ठग चरित्र भएको चम्बु–चलाखले आन्तरिक रूपमा पढेर (बुझेर) प्रलोभनको जालमा पार्दै शिकार बनाउने गर्छ । मानिसलाई सामाजिक प्राणी भनिन्छ । सामाजिक प्राणी जबसम्म लोभलालच मुक्त भएर आफ्नै योग्यता, क्षमता, सीप कला प्रयोग गरेर आत्मनिर्भर हुने प्रयास गर्दैन तबसम्म समाजमा ठगहरूले आफ्नो ठगी धन्दा जारी राख्न सक्छन् ।

थोरै रकम लगानी गरेर छोटो समयमा धेरै रकम हात पार्न चाहने लोभले सर्वसाधारण मानिस ठगको जालमा फस्ने गरेका छन् । कहिलेकाहीँ भने लोभलालच नभए पनि परिस्थितिवश परिबन्दमा पर्दा पनि ठगको जालमा सर्वसाधारण पर्छन् । समाजमा ठगहरूलाई ‘नटवरलाल’ पनि भनिन्छ । ठगले जहिले पनि धोका वा चलाखी अपनाएर अर्काको सम्पत्ति, नगदी जिन्सी हडप्छ । ढाँट–छल गरेर सर्वसाधारणको मनमा लोभलालच उत्पन्न गराउँछ । ठगहरूको सामान्य विषेशताको पहिचान गर्न सके ठगीबाट बच्न सकिन्छ । ठगहरू प्रायः गोजीमा एक कप चिया खाने पैसा नभए पनि तारे होटलमा ब्ल्याक लेबल पिएको गफ दिन भुल्दैनन् । आफूसँग ठूलै योजनाविद्, नेता मन्त्री, सचिवहरू आफ्नै पकेटमा भएजतिकै ठूलो–ठूलो आवाजमा बोल्छन् ताकि अरूले पनि ‘यो मान्छे निकै पहुँचदार रहेछ भन्ने ठानून् ।’ आफ्नो लगानी चर्चित कम्पनीमा पनि रहेको, त्यसको शेयर होल्डर रहेको, कसैलाई सरुवा गरिदिएको, कसैलाई बढुवा गरिदिएको, कसैलाई लाखौँ ऋण दिएर उद्धार गरेको, समाजमा धेरै सामाजिक सेवा गरेको, राम्रो क्याम्पसबाट डिग्री लिएको, देश विदेश घुमेको, अर्बपतिहरूसँग एउटै टेबलमा आमनेसामने भएर दारु पिएको, मन्त्रालयका सचिवहरू कर्मचारीहरू प्रायः चिनेको, सेना प्रहरीका अधिकृतहरूसँग राम्रो सम्बन्ध सम्पर्क भएको जस्ता फुइयाँ गफ दिन भ्याउँछन् । त्यतिमात्र गफ नदिएर धेरैलाई वैदेशिक रोजगारीमा पठाएकाले अहिले धमाधम पैसा कमाएर घरमा पठाइरहेको भन्न पनि भ्याउँछन् ।

यस्तै फुइयाँ गफ सुन्ने मध्ये अधिकांशले पत्याइदिँदा ठग मानसिकता बोकेका चतुर व्यक्तिको आत्मबल बढ्छ । हरेक मान्छे पैसाको पछि दौडन्छ । पैसा भएपछि सवथोक पाइन्छ भन्ने मानसिकताले ग्रस्त सर्वसाधारणलाई चाँडै धनी हुने सपना बाँडेर ठगले रातारात करोडौं रुपैयाँ झ्वाम्म पार्न सफल हुन्छ । ठग्नु अपराध हो । यो सामजिक रूपमा फैलिएको विकृत व्यक्तित्व हो । ठगको दिमाग यति धारिलो गरी चल्छ कि जसलाई पनि च्वाट्ट बनाउन सक्छ । सर्वसाधारणले अनुमान नै गर्न सक्दैनन् । ठगले आखिर मान्छेकै लोभलालचलाई केन्द्रमा राखेर धुलाई गर्छ । सीमित र स्वाभाविक स्तरसम्मको मात्र सपना, लोभलालच, आकाङ्क्षा राख्नेहरू जतिसुकै तेज दिमाग चलाउने ठगको पञ्जामा परे पनि ठगिनबाट बच्न सक्छन् । ठग चिन्न नसके धरानका शिखर सगरमाथा सुन–चाँदी पसल र सल्लेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण विक दर्नाल जस्ताको जालमा सजिलै पर्नबाट कसैले रोक्न सक्दैन । ठगको प्रभावबाट मुक्त हुनका लागि पहिलो कुरा अस्वाभाविक लोभ र लाभको अपेक्षा नगरौँ। समाजमा बढ्दो ठगी अपराध नियन्त्रण गर्न प्रहरी प्रशासन र नियम कानूनलाई सक्रिय बनाऔँ।