धरानको खानेपानी समस्या नयाँ विषय होइन । वर्षौंंदेखि धरानबासीले सुख्खायाममा पानीका लागि छिमेकीसँग झगडा गर्नुपर्छ । खानेपानी संस्थानको कार्यालयमा नारा जुलुस लिएर जानुपर्ने बाध्यता छ । पानीकै अभावमा धरानमा होटलदेखि अन्य उद्योग धन्दा फस्टाउन सकेका छैनन् । लामो समयदेखि पानी अभाव झेल्दै आएको धरानमा एशियाली विकास बैङ्क (एडिबी) को ऋण तथा अनुदान सहयोगमा धरान खानेपानी आयोजना शुरु भएपछि धरानबासीले पानीको समस्या समाधान हुने आशा गरेका थिए । तर, अहिले आयोजनाले पानी वितरण गरेका क्षेत्रमा वर्षायाममै उपभोक्ताले पानी नपाएपछि धरानबासीको हैरानी बढेको छ । खानेपानी संस्थानले सुख्खा याममा आवश्यकता अनुसार पानी पु¥याउन नसकेपछि विकल्पको खोजीमा चतरास्थित सप्तकोशीबाट पानी ल्याउने चर्चा पनि चल्यो । एक अध्ययनबाट सर्दु खर्दु जलाधार क्षेत्रकै संरक्षण गरेमा अझै ३० वर्षका लागि पानी पुग्ने रिपोर्ट पनि सार्वजनिक भयो । तर, ती विकल्पहरुलाई पन्छाउँदै धरानकै जमिनबाट पानी निकाल्ने गरी आयोजना शुरु भयो । यहीँको जमिनबाट पानी पनि निस्कियो तर आयोजनाको समयावधि सकिँदा पनि अहिलेसम्म धरानवबासीले पर्याप्त पानी पाउन सकेनन् ।

आयोजनाले धरानबासीलाई दैनिक ११देखि २४ घण्टासम्म घरघरमा पानी पुर्याउने वाचा गरेको थियो । त्यसबेला खानेपानीका लागि सङ्घर्षरत समितिसँग आयोजनाले १ करोड ५२ लाख २० हजार लिटर पानी दैनिक उत्पादन गर्ने सम्झौता नै गरेको थियो । तर हाल दैनिक ८० लाख लिटर मात्र आयोजनाले उत्पादन गर्ने र बाँकी संस्थानकै पानी वितरण गर्ने बताउँदै आएको छ । शुरुमा संस्थानलाई आयोजनामै गाभ्ने बताइएको थियो तर हालसम्म संस्थान र आयोजनाले आ–आफ्नो तरिकाले काम गरिरहेका छन् । संस्थान र आयोजना आपसी विवादमा अल्झिएका कारण पनि धरानबासीले समस्या भोगिरहनु परेको छ । संस्थान र आयोजना दुवै गैरजिम्मेवार भएको परिणाम हो यो ।

धरानबासीलाई ऋण बोकाएर शुरु भएको यो आयोजनाले वाचा अनुसार पानी खुवाउनु पर्ने बाध्यता छ तर सन् २०१७मै सम्पन्न गरेर समस्या समाधान गर्ने सम्झौता गरेको आयोजनाले म्याद थप गरेर सन् २०१९ सम्म पु¥याउँदा पनि अहिलेसम्म पानीको अभाव कायमै छ । आयोजनाको काम पनि सकिएको छैन । आयोजनालाई गति दिन नसक्नु त्यसका नेतृत्वकर्ताहरुको पनि अक्षमता हो । समयमा तोकिएको काम गर्न नसक्नेहरुलाई कारबाही हुनु आवश्यक छ । पछिल्लो समय यो लापरबाहीले आयोजना नै असफल भएको चर्चा हुन थालेको छ । लामो समयदेखि पानीको समस्या भोगिरहेका धरानबासीलाई अझै कहिलेसम्म यसरी नै दुःख दिइरहने ? ढिला सुस्ती र लापरबाही गर्नेहरुलाई किन कारबाही हुँदैन ? प्रश्न उठ्न थालेको छ । अब संस्थान र आयोजनाको आपसी द्वन्द्वको मारमा धरानबासी पर्नु हुँदैन । धरानको पानी समस्या सबै पक्ष मिलेर चाँडो समाधान गर्नु आवश्यक छ । धरान खानेपानी आयोजना अर्को मेलम्ची नबनोस् ।