धरान । धरान–५ मा लुटपाटको घटना भएको २० दिन बित्दा पनि धरान प्रहरीले आरोपित पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धानमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
धरान प्रहरीले लुटपाटका आरोपीलाई पक्राउ गर्न नसक्नु यो नै पहिलो र अन्तिम घटना भने होइन् । धरानको इलाका प्रहरी कार्यालयमा सरुवा भएर आएका पछिल्लो तीन–चारजना डिएसपीको पालामा भएको लुटपाट तथा गम्भीर प्रकृतिको चोरीमा प्रहरी असफल सिद्ध भएको उदाहरण छ । स–सना घटना त नगन्य छन् ।
२०७२ यताका यस्ता गम्भीर प्रकृतिको चोरी तथा लुटपाटमा प्रहरी चुकेको चुकैकै छ । तर, अन्य अपराधमा भने धरान प्रहरीले सोचेभन्दा लक्ष्य हासिल गरेको ठान्छन् उद्योगी व्यवसायी । चोरी र लुटपाटमा भने प्रहरी हरेक पटक चुकेको छ । प्रहरी असफल भएका प्रतिनिधि घटनाबाहेक पनि थुप्रै ठूला चोरीको घटनामा प्रहरी असफल भएका छन् । आखिर किन चुक्छन् त धरानमै प्रहरी ? प्रहरी सेवामा लामो समय बिताएका अवकासप्राप्त पूर्व डिएसपी रूपम लामा भन्छन्, ‘चोरीका घटनामा प्रहरी सक्रिय हुनुपर्यो । चोरीको निगरानी राख्नुप¥यो । चोरीको घटनाको प्रकृतिअनुसार वर्गीकरण गरेर सुक्ष्म अनुसन्धान गर्ने हो भने अहिले पनि पक्राउ गर्ने अवस्था छ ।’
यस्ता घटनामा प्रहरीले अनुसन्धानमा गम्भीर चासो देखाउने हो भने अपराधी भाग्ने ठाउँ नहुने उनको दाबी छ । धरानमा सरुवा भएर आउने हरेक नयाँ डिएसपीले अपराध र गुण्डागर्दी अन्त्य गर्छु भन्ने दाबी गर्दै आएका छन् । तर, २०७६ जेठ १२ गते जीवन विकास नामक वित्तीय संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि दुई गोली प्रहार गरी करिब ४ लाख १० हजार रुपैयाँ लुटपाट गरी अपराधी फरार छन् । यो घटना हुनुभन्दा ठीक २५ दिनअघि सरुवा भएर डिएसपी ढुण्डीराज न्यौपाने धरान आइपुगेका थिए । उनले पत्रकार सम्मेलनमा अपराध निमिट्यान्न पार्ने आश्वासन दिएका थिए । तर, त्योअनुरूप काम भने हुन नसकेको उनी आएपछिको विभिन्न आपराधिक गतिविधिले देखाउँछ ।
लुटपाटको घटनामा ब्लाष्टकर्मीको जिज्ञासापछि डिएसपी न्यौपानेले भने, ‘खोजी गरिरहेका छौं । म आफै पनि लागिरहेको छु । प्रदेशको टोली लागिरहेको छ । प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेका छौं ।’ उनले अझै केही समय लाग्नेसक्ने ब्लाष्टकर्मीलाई बताए । चोरी तथा लुटपाटका घटनामा आरोपित पक्राउ गर्न नसक्नुमा प्रहरीले घटनालाई चासो नदिएको हुनसक्ने पीडितहरूको बुझाइ छ ।
घटना नम्बर १ः डिएसपी सुदम सिजापतीको पालामा २०७२ साउन ११ गते केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापक पशुपति मिश्रको ८ तोला सुन तथा चाँदी, २ वटा ट्याबलेट, ज्याकेटलगायतका सामग्री चोरी भए । अपरान्ह १२ बजेदेखि २ बजेको समयमा भएको उक्त घटनामा तात्कालीन डिएसपी सिजापतीले अनुसन्धान गरे पनि चोर पत्ता लगाउन सकेनन् । त्यो हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।
घटना नम्बर २ः डिएसपी ढेकन्द्र खतिवडा रहेको समयमा २०७४ चैत्र ४ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताको सनराइज बैङ्कको काउण्टरमा सटर फोडेर चोरी भयो । तात्कालीन समयमा बैङ्कले दिएको जानकारी अनुसार ४ लाख ४७ हजार २ सय ६६ रुपैयाँ चोरी भएको थियो । २४ सै घण्टा सुरक्षागार्ड र प्रहरीको निगरानी हुने बैङ्कको काउन्टर चोरीको घटनाका आरोपित हालसम्म नियन्त्रणमा आउन सकेका छैनन् । सुक्ष्म अनुसन्धान भइरहेको सञ्चारकर्मीलाई जानकारी गराए पनि आरोपितहरू पक्राउ गर्न नसकेको यो दोस्रो ठूलो घटना हो ।
घटना नम्बर ३ः डिएसपी ढकेन्द्र खतिवडा नै रहेका बेला २०७४ चैत्र १५ गते कलेज रोडस्थित विपेन्द्र भट्टराईद्वारा सञ्चालित मोबाइल पसल सटर फोडेर चोरी गरे । चोरीमा दुई जना संलग्न भएकोसम्म बजारमा राखिएको सिसी क्यामेरामा देखिएको थियो । जहाँ भट्टराईको करिब १३ लाख रुपैयाँ बराबरको विभिन्न कम्पनीमा मोबाइला चोरी भए । त्यो घटनाका आरोपित अहिले पनि नियन्त्रणमा आउन नसकेको तेस्रो ठूलो घटना हो । यही बीचमा पत्रकार सन्तोष काफ्लेको ल्यापटप र डिएसएलआर क्यामेरा चोरी भयो । डिएसपी खतिवडा सरुवा भएर जाने समयमा भएको त्यो घटनाको आरोपित पनि हालसम्म प्रहरी नियन्त्रणमा आउन सकेको छैन ।
सनराइज बैङ्कका धरान शाखा प्रमुख बारबरिक पोखरेल भन्छन्, ‘हामी आफैले पनि फलोअप गर्न नसकेको हो कि, प्रहरीले चासो नदिएको हो बुझ्नै कठिन छ । उनले जुनरूपमा बैङ्कले प्रहरीप्रति विश्वास गरेको थियो त्योअनुसार ‘आउटपुट’ नआएको बताए । अर्का पीडित पत्रकार सन्तोष काफ्लेले पनि प्रहरीले जुन मात्रामा अनुसन्धान गर्नुपर्ने हो त्योअनुसार गर्न नचाहेको हो कि भन्ने देखिएको बताए । ‘चोरहरू पक्राउ पर्छन् । तर, कुनै घटनासँग सम्बन्धित भएर गहिरो रूपमा अनुसन्धान गरेको देखिएन । मेरै हकमा पनि त्यो देखियो । अनुसन्धान नै फितलो छ’(उनी भन्छन् ।
चोरीका घटना पत्ता लाग्न नसक्नुमा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक पशुपति मिश्रको प्रहरीप्रति गम्भीर आरोप छ । भन्छन्, ‘यस्ता घटनामा प्रहरीको तल्लो दर्जाका प्रहरीको कही न कही संलग्नता भएकाले पनि सुक्ष्म अनुसन्धान नहुँदो रहेछ ।’ उनले आफूले पनि ‘माइन्यूटल्ली’ अनुसन्धान गर्दा प्रहरीले नै लाभ लिइरहेका कारणले यस्ता घटनाका आरोपित पक्राउ गर्न नसकेको बताए । चोरीको घटनापछि क्याम्पसको तर्फबाट, बुद्धिजीवीको तर्फबाट र पार्टीको तर्फबाट पनि इप्रका धरानलाई दबाव दिएका थिए । तर, प्रहरीले न त आरोपित पक्राउ ग¥यो न त सामग्री बरामद गर्न सकेको छ ।