धरान । धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न मास परिचालन अन्तिम विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । धरान उपमहानगरपालिकामा सोमबार बसेको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।

छलफलमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका महानिर्देशक डा गुणराज लोहनी, कार्यवाहक प्रमुख मन्जु भण्डारी, डेंगु नियन्त्रणकालागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ तथा कम्यूनिटि मेडिसिनका चिकित्सक सम्मिलित ¥यापिड रेस्पोन्स टिमका डा विजयकुमार खनाल, डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका सहायक बरिष्ठ अधिकृत महेश्वर राइ, धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवलगायत सहभागी थिए ।

छलफलले धरानमा फैलिएको डेंगु नियन्त्रणकालागि तत्कालै २० वटै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयम्सेविका, घरघरका व्यक्तिहरु मिलेर सर्च एण्ड डेस्ट्रोय अभियानलाई तिव्र बनाउनु पर्ने निष्कर्ष निकालेको छ । घरघरमा फेला परेको डेंगुको अण्डा, लार्भा र प्यूपा न स्ट गर्न हाल प्रयोग गरिएको फगिङ मेसिन कम गर्ने धरानका स्वास्थ्य शाखालाई सुझाव दिइएको थियो । अल्फा साइफर मेथ्रिनले बयस्क मच्छरमात्र मर्ने तर पानीमा रहेका अण्डा, लार्भा र प्यूपामा खासै असर नपर्ने भएकाले मास परिचालन अन्तिम विकल्प रहेको निष्कर्ष निकालिएको थियो ।

मासपरिचालनले प्लाष्टिक र सिसाका बोतल, टायरमा जमेको पानी हटाउने, आकासे पानी थापेर खुला राखिएको भांडा र ठूला ठूला ट्यांकीका पानीमा मट्टीतेल घोलेर नस्ट गर्ने, गमला, जमेको संग्लो पानी सुकाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । छलफल पछि उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले डेंगु सार्ने मच्छर विरुद्ध ‘मास परिचालन’ गर्नुको विकल्प नभएको निस्कर्षसंगै सोमबार नै जनप्रतिनिधिहरुसंग आकस्मिक बैठक बसेर तत्काल मास परिचालन गर्ने निर्णय गरिने बताइन् ।

यसैवीच डेंगुको प्रकोप नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवामहाशाखाले पाचसय किट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सोमबार नै उपलव्ध गराएको महानिर्देशक डा गुणराज लोहनीले बताए । उनले भने, ‘संक्रमितको संख्या बढेपछि रोग पहिचान गर्न चाहिने आवश्यक सामाग्री र किट अभाव भएको जानकारी पाएपछि स्वास्थ्य महाशाखाले ती किट र सामाग्री उपलव्ध गराएको हो ।’

स्वास्थ्य महाशाखाको टोलीले धरानका विभिन्न वडा, वीपी प्रतिष्ठान घुमेर डेंगुको प्रकोप र संक्रमितहरुको अवस्थाबारे बुझेको डा लोहनीले बताए । तीनसातामा ८० बढी संक्रमित भएको थाहा पाएर धरान आएको लोहनीले बताए ।

¥यापिड रेस्पोन्स टिमका संयोजक डा खनालले धरानका प्रत्येकजसो घरमा डेंगुका अण्डा, लार्भा र प्यूपा पाइएकाले चिकित्सक र प्राविधिकको टिमले मात्र नसक्ने बताए । उनले जनचेतनाको व्यापक प्रचार हुनु पर्ने र घरघरका मान्छेहरुले डेंगुका अण्डा, लार्भा र प्यूपा नस्ट गर्न आफै लाग्नु पर्ने बताए ।

¥यापिड रेस्पोन्स टिमका सदस्य तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य प्रसासन महाशाखाका बरिष्ठ सहायक अधिकृत महेश्वर राईले एकसाथ हरेक वार्डका बासिन्दा जागरुक नभए भविष्यमा धरानमा डेंगुको महमारी फैलिन सक्ने बताए ।

बढ्दो प्रकोप नियन्त्रणकालागि धरान उपमहानरपालिका एक्लैले नसक्ने देखिएकाले प्रदेश सरकार र संघीय सरकारसंग पनि सहयोग र समन्य गर्न पत्राचार गरेको कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले बताइन् । उनले भनिन्, ‘तीनसाता भइसक्दा पनि हामीले डेंगु नियन्त्रण गर्न सकिरहेका छैनौ । संक्रमित बढेको बढेकै भए । काबुबाहिर गएकाले सहयोग र समन्वयकालागि प्रदेश सरकार र संघीय सरकारसंग सहयोगका मागेका छौं ।’