लहान । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा यतिबेला जिल्लाको सदरमुकामदेखि गाउँगाउँसम्मका चोक र चिया पसलहरूमा बढेको छ । बिहानै चियाको तातोपनसँगै केन्द्रमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) को महाधिवेशन तयारीका साथै सरकारले घोषणा गरेको निर्वाचनको विषयमा गहन छलफल सुरु हुन थालिसकेको छ । 

युवाहरूमा पनि चुनावी सरगर्र्मी उत्तिकै बढेको छ । विशेषगरी निर्वाचनको माहोल बनाउन यहाँका जेन जी युवाहरू सक्रियतापूर्वक लागिपरेका छन् । लहानमा नगरस्तरीय जेन जी समूह गठन गरी युवा परिचालनमा जुटेका उमेश यादवले निर्वाचनको अपरिहार्यतामा जोड दिए । तर दलका नेता तथा कार्यकर्ताहरू भने निर्वाचन हुनेमा शङ्का गर्दै आएका छन् । दलहरूमाथि प्रतिशोधको भावना साध्दै आएको अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने टिकाटिप्पणी गर्दै आएका छन् ।  

“घोषित मितिमा चुनाव हुनुको विकल्पै छैन । चुनावले मात्रै युवाहरूको मागलाई सम्बोधन गर्न सक्छ । पुरानो नेतृत्वलाई विस्थापित गरी नयाँलाई स्थापित गर्न सक्छ” –जेन जी युवा यादवले भने । “यही हिसाबले हामीले युवालाई सङ्गठित गर्दै वडा, नगर हुँदै क्षेत्रीय समितिहरू गठन र विस्तार अभियानलाई तीव्रता दिएका छौँ ।” उनले जेन जी मधेस प्रदेशका संयोजक शिव यादव र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग समन्वय गरेर चुनावी योजनाहरू अगाडि बढाइरहेको जानकारी दिए । 

युवा नेताहरूले लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेन जी आन्दोलनमा उठेका मागको सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नभएको स्पष्ट धारणा सार्वजनिक गरिरहेका छन् । यद्यपि, सबै पक्ष चुनाव हुनेमा ढुक्क भने छैनन् । 

स्वतन्त्र युवा भोगेन्द्रकुमार यादवले भने केही दलहरूको तयारी र आन्तरिक विवादका कारण चुनाव हुने र नहुनेमा प्रश्न उठेको बताए । “सुदन गुरुङलगायत जेन जीका अगुवा नेताहरूले यथास्थितिमा चुनाव हुन नदिने धारणा राखेका छन् । अर्काेतिर, नेकपा (एमाले) सहितका दलहरूले चुनावमा जान आनाकानी गरिरहेको अवस्थामा कसरी चुनाव होला ? यथास्थितिमा चुनाव रोक्न चाहने र चुनावमा जान हिच्किचाउने धारणा दुवैतिर देखिन्छ”–भोगेन्द्रको टिप्पणी छ । उनले राष्ट्रलाई सङ्कटबाट निकाल्न सबै पक्ष मिलेर चुनावमा जानुपर्नेमा जोड दिए । 

निर्वाचनको घोषणासँगै जिल्लाका प्रमुख राजनीतिक दलहरू आ–आफ्नो तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले भने, “चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लाग्नु अहिलेको आवश्यकता हो ।” जनमत पार्टीले चुनावको विकल्प नदेखेको र मधेस प्रदेशमा सकारात्मक माहोल बनाउन युवाहरूलाई परिचालन गरिसकेको बताइएको छ ।

नेकपा (एमाले) का मधेस प्रदेश समितिका सदस्य सुमेश यादवले पार्टीको महाधिवेशन नजिक रहेकाले त्यसको तयारीमा जुटेको बताए । उनले संसद् पुनस्र्थापनाको माग रहे पनि एमाले निर्वाचनबाट नभाग्ने र महाधिवेशनले सबै विषयको छिनोफानो गर्ने प्रष्ट पारे । तर अहिलेको सरकारले निर्वाचन गर्नेमा भने शङ्का रहेको उनको भनाइ थियो । 

नेपाली काङ्ग्रेसका सिरहा–१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने कल्पना पनि गर्न नसक्ने धारणा राखे ।

यता नवगठित नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेताहरू चुनावी वातावरण बनाउन देशभरि अभियान चलाइरहेको बताउँछन् । यसैबीच जेन जी समूहका युवाहरू निर्वाचनको माहोल सिर्जना गर्न र जेन जी आन्दोलनको उपलब्धि सुनिश्चित गर्न सिरहाका १७ वटै पालिकामा सक्रियता बढाइरहेका छन् । जेन जी समूह सिरहाका सल्लाहकार सुदीप कुशवाहले यस अभियानले युवालाई मतदान प्रक्रियामा जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । सबै मिलेर निर्वाचनको माहोल बनाउनु पर्ने उनको भनाइ छ ।