धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफ्टवेयर अपग्रेड (अद्यावधिक) गर्ने नाममा बिरामीले जुन सास्ती पाएका छन्, त्यो अत्यन्तै दुःखद् र चिन्ताजनक छ । सफ्टवेयर अद्यावधिकका कारण तीन दिन जति जुन समस्या आयो । यसले हजारौं बिरामी तथा उनका आफन्तहरुलाई सास्ती दिएको छ । शुक्रबार दिउँसोबाट अद्यावधिक गर्न थालिएको काम शुक्रबार राति पनि निदान भएन । यसले गर्दा आकस्मिक कक्षमा आएका बिरामीहरु र वार्डमा रहेका बिरामीहरुले नचाहिँदो सास्ती खेपे । प्रतिष्ठानजस्तो हजारौँ बिरामी आउने संस्थानमा अपग्रेड गर्ने काम समयलाई ध्यान दिएर गर्नुपथ्र्यो । प्रणालीलाई अद्यावधिक गर्नु सकारात्मक पक्ष हो । यो अहिलेको अवस्थामा चाहिन्छ । तर यति दिनसम्म समस्या आउनु भनेको चाहिँ बिरामीको स्वास्थ्यलाई जोखिममा पार्नु मात्रै नभई दिएका नमुनाहरु पुनः जाँच गर्ने अवस्था आउनु पनि हो । यस्तो हुनु अस्पतालजस्तो संवेदनशील स्थानमा ठीक हुँदैन । 

प्रतिष्ठानले कुनै पनि काम गर्नुअगाडि पर्याप्त तयारी किन गरेन ? यसका लागि निश्चित समय तोकेर किन काम गरेन ? भन्ने प्रश्नहरु गम्भीर छन् । कम्प्युटर प्रणालीजस्तो कुरालाई सामान्य आँक्नु हुँदैनथ्यो । कुनै वैकल्पिक विधि तथा शारीरिक प्रणाली तयार गरेर मात्रै यो कामलाई अगाडि बढाउनुपथ्र्यो तर त्यसो गर्न सकेको देखिँदैन । प्रतिष्ठानले पर्याप्त मात्रामा सूचना प्रवाह गरेको देखिँदैन । प्रतिष्ठानले आइतबार मात्रै आधिकारिक विज्ञप्ति जारी गरी माफी मागेको अवस्था छ । यो एउटा सुन्दर पक्ष चाहिँ हो । विगतमा यस्ता गल्तीहरु हुँदा पनि कुनै ध्यान दिइँदैनथ्यो । तर, यस पटक यस्ता गल्तीहरुमा क्षमा माग्नुले प्रतिष्ठानमा केही सुधारहरु हुँदैछन् भन्ने तथ्यलाई पुष्टि त गरेको छ । यसका बावजुद पनि कम्प्युटर प्रणालीमै सुधारात्मक कार्य गर्दा भोलि हुन सक्ने खतरालाई पनि पहिल्यै आँकलन गर्नुपथ्र्यो, त्यसो चाहिँ हुन सकेको देखिँदैन । यसले पनि बिरामीहरुमा अन्यौलता सिर्जना गरेको छ । एक दिनसम्म दर्ता प्रक्रियादेखि ल्याव, बिलिङसम्ममा समस्या आयो । प्रतिष्ठानमा एक दिनमा झण्डै ३ हजारभन्दा बढी बिरामीहरु सेवा लिने गरेका छन् । यसले गर्दा ती बिरामीहरु समस्यामा परे । यस्तै ल्यावमा मात्रै दैनिक १ हजारसम्म बिरामीहरुले सेवा लिँदै आएका थिए । उनीहरु लगभग ठप्प भए । दिउँसोको ४ बजेबाट मात्रै काम सुरू भयो । जुन प्रतिष्ठानमा सेवा दिने अवधि पूरा भइसकेपछिको समय हो । 

बीपी प्रतिष्ठान नेपालकै प्रतिष्ठितमध्येको एक शिक्षण असपतालमा हो । यहाँ सामान्य गडबडी भएमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था हुन्छ । बिरामीहरुले जुन खालको समस्या भोगेका छन् । सास्ती खेपेका छन् । त्यो सास्ती एकदमै सर्मनाक छ । प्रतिष्ठानले क्षमा याचनालाई व्यवहारमा बदल्नु आवश्यक छ । हरेक सिस्टमलाई पूर्णरुपमा दुरूस्त बनाउनु चाहिँ श्रेयष्कर हुन्छ । प्राविधिक तथा प्रशासनिक त्रुटिहरु दोहोरिन नदिनका लागि एक बालियो र विश्वसनीय ब्याकअप प्लान बनाउन आवश्यक छ । स्वास्थ्यलाई हितमा राखेर काम गर्न सकेमा प्रतिष्ठानको गरिमा थप बलियो भएर जानेछ । प्रतिष्ठानमा आउने सेवाग्राहीहरुले जुन धैर्यता देखाएका छन्, त्यो धैर्यतालाई सलाम गर्नैपर्छ । उनीहरुको धैर्यतालाई प्रतिष्ठानले सामान्यरुपमा नलियोस् । यस्ता कुरालाई गम्भीर रुपमा लिई समस्या समाधान गर्नेतर्फ ध्यान देओस् ।