भण्टाबारी/ घटना १ :  २०७५ साल कार्तिक २३ गते नेपाल–भारत सीमास्थित सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलमा नेपाल प्रहरीको गोली लागि एकजना डाका मारिए । हतियारसहित चौपाया चोरी गर्न सीमावर्ती क्षेत्र छिरेको डाका समूहले गस्तीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रहरीको जवाफी कारबाहीमा सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिकाका नसरुल मियाँको मृत्यु भयो । मियाँसँगै आएका अरु डाकाहरू भाग्न सफल भए भने प्रहरीले घटनास्थलबाट २ थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने गोली बरामद गर्यो । 
 
घटना २ः  २०७५ साल कार्तिक १ गते दिउँसो केही समयको अन्तरालमा भण्टाबारी र श्रीपुरबाट तीनजना भारतीय हतियारसहित पक्राउ परे । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा बिओपी श्रीपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतीय अनटेष्ट मोटरसाइकल चेकजाँच गर्दा विहार राज्यको सुपौल जिल्ला बस्ने १८ वर्षीय विवेक यादव र १७ वर्षीय सुमित गोइतलाई १ थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लियो । यसैगरी सोही दिन चाइनिज अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक रञ्जितकुमार मुखिया पक्राउ परे । उनलाई बिओपी सशस्त्र प्रहरी भण्टाबारीले पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगायो । सुनसरी प्रहरीको तथ्याङ्कअनुसार माथि उल्लेखित घटना केही उदाहरण मात्र हुन् । जिल्ला प्रहरी कार्यालयको ०७२-७३ सालयताको तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्षमा सुनसरीमा हातहतियारको कारोबार बढेको छ । ०७५-७६ सालको चालू आर्थिक वर्षको हालसम्म जिल्लामा हतियारसहित १७ जना पक्राउ परेका छन् भने ९ जना फरार छन् । विभिन्न स्थानबाट ७ थान कटुवा पेस्तोल, २ थान म्यागजिन, १ एलएमजी राइफल, स्टेण्ड १ थान र ४ राउण्ड गोली बरामद गरिएको छ । जबकि आर्थिक वर्ष ०७४-७५ मा ११ जना हतियारसहित पक्राउ परेका थिए भने एकजना विदेशी महिला अझै फरार छिन् । पक्राउ परेकाहरूबाट २ थान सिक्सर पेस्तोल, त्यसमा लाग्ने ३ राउण्ड गोली, अमेरिकामा बनेको १ थान पेस्तोल, ५ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरिएको थियो । 
 
यसैगरी आर्थिक वर्ष ०७३-७४ मा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट एक महिलासहित १६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट १ थान अटोमेटिक पेस्तोल, मेड इन युएसए लेखिएको सेमीअटोमेटिक पेस्तोल ३ थान, १ थान कटुवा पेस्तोल, २ थान नेपाली भरुवा नाल, थ्री नट थ्री राइफलको १ राउण्ड गोली, ठूलो चाइनिज राइफलको गोली १ राउण्ड र एसएलआरको २ राउण्ड गोली बरामद भएको तथ्याङ्क रहेको छ । त्यस्तै आर्थिक वर्ष ०७२-७३ सालमा ११ जना हतियारसहित पक्राउ परेका थिए भने उनीहरूको साथबाट ५ थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ६ राउण्ड गोली, २ थान खोका र थ्री नट थ्री राइफलमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरिएको थियो । 
 
जिल्ला प्रशासन कार्यालयबाट इजाजतपत्र नलिई हातहतियारको कारोबार गर्नु गैरकानूनी भएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । नेपाल–भारत खुला सीमा नाकाका कारण हातहतियार ओसार–पसार हुने गरेको बताउँदै एसपी अधिकारीले सुरक्षा दृष्टिकोणले हातहतियार चुनौतीको रूपमा रहेको बताए । ‘पछिल्लो समयमा खासगरी चोरी डकैती, लुटपाट, अपहरणजस्ता गैरकानूनी क्रियाकलाप गर्ने उद्देश्यले हातहतियार प्रयोग गर्ने क्रम बढेको छ’ उनले भने, ‘नेपाल प्रहरीको अनुसन्धानले समेत त्यही देखाएको छ ।’
 
सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाएकोले भारतबाट हातहतियारको तस्करी गर्ने समूह धमाधम पक्राउ पर्न थालेको एसपी अधिकारीले बताए । हातहतियारसहित पक्राउ परेकालाई अनुसन्धान गरी मुलुकी अपराध संहियता २०७४ को परिच्छेद ६ मा उल्लेख गरिएको हातहतियार तथा खरखजानाअनुसार कारबाही गर्ने गरिएको एसपी अधिकारीले बताए । इजाजतपत्र नलिई हातहतियारसहित गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्तिको कसूर अनुसार ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।