धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना १८ जनवरी १९९३ मा भएको र २८ अक्टुवर १९९८ मा विश्वविद्यालयको मान्यता पाएको हो । त्यसपछि प्रतिष्ठानअन्तर्गत रहेको नर्सिङ सेवालाई ८ अगस्त २००२ मा कलेज अफ नर्सिङमा परिणत गरिएको थियो ।
नेपालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक सन् १९९६ देखि ४ वर्षे बीएस्सी नर्सिङको पढाइ सुरु भयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् १९९९ देखि प्रमाणपत्र तह, सन् २००८ देखि एमएस्सी नर्सिङ तथा सन् २०१२ देखि बीएन पढाइ सुरु भएको हो तर सन् २०१५ देखि प्रमाणपत्र तह नर्सिङ र व्याचलर इन नर्सिङमा भर्ना प्रकृया बन्द गरेको छ । हाल विभिन्न विषयहरु जस्तै कम्युनिटी हेल्थ नर्सिङ, साइकियाट्री नर्सिङ, म्याटर्नल हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र मेडिकल सर्जिकल नर्सिङ मा एमएस्सी नर्सिङका कक्षाहरु संचालन भईरहेको छ ।
विभिन्न विश्वविद्यालय तथा संस्थाहरूले नेपालमा नर्सिङ शिक्षा प्रदान गर्दै आएका तथा भारतलगायत अन्य मुलुकहरूबाट नर्सिङ शिक्षा प्राप्त गरी नेपालीहरू नेपालमा काम गर्न आउने भएकाले हाल शिक्षाको गुणस्तर मापन गर्न नेपाल नर्सिङ परिषद्ले लाइसेन्स परीक्षाको सुरुवात गरेको हो ।

गुणस्तरीय स्वास्थ्य सेवा
विश्व समुदायको स्वास्थ्यस्तर सुधार गर्न पर्याप्त तालिम प्राप्त तथा सेवाप्रति समर्पित स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । प्रत्येक क्षेत्रमा दक्ष स्वास्थ्यकर्मीका साथै गुणस्तरीय स्वास्थ्य सेवा अपरिहार्य हुन्छ । यो लक्ष्य पूरा गर्न स्वस्थ जनशक्तिका साथै नर्सहरूको ठूलो भूमिका हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त दक्ष नर्स तथा स्वास्थ्यकर्मीका साथै राम्रो काम गर्ने वातावरणको पनि त्यत्तिकै महत्व हुन्छ । स्वास्थ्य जनशक्ति तयार पार्न विश्वमा करिब वार्षिक अमेरिकी डलर १ सय विलियन खर्च हुन्छ । जुन स्वास्थ्य क्षेत्रको जम्मा खर्चको २ प्रतिशत मात्र हो ।

स्वास्थ्य संस्थामा नर्सिङ सेवा एउटा बृहत् र महत्वपूर्ण सेवा
कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ सेवा एउटा बृहत् र महत्वपूर्ण सेवाका रूपमा रहेको हुन्छ ।
नर्सिङ सेवामा बौद्धिक क्षमता, दक्षता, ज्ञान तथा सीपको प्रयोग गरेर मानवीय पीडा कम गर्न सहयोग गर्छन् र उक्त पीडाबाट बचाउन मद्दत गर्छन् । नर्सहरूले सर्वप्रथम सेवाग्राहीको समस्या पहिचान गर्छन् । उक्त समस्याको लेखाजोखा गर्छन् । आवश्यक रननीति तयार पारी कार्यान्वयन गर्छन् र गरेको कामको परिणामको मूल्यांकन गर्छन् । नर्स भन्नाले सामान्यतया डाक्टरले अह्राएको काम गर्ने महिला स्वास्थ्यकर्मी भन्ने बुझिन्छ । तर परिवर्तित समाजमा नर्सिङले अलग्गै पहिचान बनाइसकेको छ र ठूलो फड्को मारी विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ ।

नर्सिङ क्षेत्रसँग सम्बन्धि स्पष्ट नीति बनाई आवश्यक
नेपालमा कति नर्सको दरबन्दी चाहिन्छ, कुन–कुन तहको दरबन्दी सिर्जना गर्नुपर्छ तथा कुन–कुन क्षेत्रमा विशेष तालिमको व्यवस्था गर्नुपर्छ सबै कुरा स्पष्ट हुनुपर्छ । मेडिकल कलेजहरू, विशेष सेवा दिने अस्पतालहरू तथा सुपर स्पेस्यालिटी सेवा प्रदान गर्ने संस्थाहरूको कुन–कुन स्तरको, कति अनुपातमा नर्स चाहिने हो सोको प्रष्ट नीति बनाई स्वास्थ्य मन्त्रालयले लागू गर्नुपर्ने देखिन्छ । नेपाल नर्सिङ परिषद्ले पनि नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको क्षेत्रमा स्पष्ट नीति बनाई सर्वसाधारण तथा आधिकारिक व्यक्तिहरूलाई जानकारी गराई कडाइका साथ निगरानी गर्नुपर्ने देखिन्छ । नर्सिङ्ग क्षेत्र संग सम्बन्धित स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ परिषद्लगायतका संस्थाहरूले ठोस नीति बनाई कडाइका साथ व्यवहारमा लागू गर्नुपर्ने नितान्त आवश्यक भैसकेको छ । ठोस स्वास्थ्य नीति तर्जुमा गर्न नेपाल नर्सिङ संघको भूमिका पनि अहम् हुन्छ।
१९९औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपाल नर्सिङ संघ प्रठिष्ठान
हामी हाम्रो परम्परा अनुसार यस वर्ष पनि आजको दिन अर्थात मे १२ का दिनलाई अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिएको छ । आज १२ मे लेडी विथ द ल्याम्पको उपनामले परिचित विश्व परिचारिका फ्लोरेन्स नाइङगेलको जन्म दिवस पनि हो । याे बर्षकाे नारा “NURSES: A VOICE TO LEAD, HEALTH FOR ALL” रहेकाे छ ।  सन १८२० मा जन्मिएकी नाइङगेलकै स्मृति एवं सम्मानमा आज हामी विश्व परिचारिका दिवस मनाउन लागिरहेका छौ । यस वर्ष वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भव्यताका साथ यो दिवस मनाउन तयारी गरेको छ । 

सन् १९७८ को Alma Ata Conference को निष्कर्षको आधारमा विश्व स्वास्थ्य संगठनले तय गरेको Health For All नाराको जगमा संयुक्त राष्ट्र संघले निर्धारण गरेका Sustainable Development Goal लाई नेपाल लगायतका सम्पुर्ण राष्ट्रहरुले आत्मसाथ गर्दै परिपूर्ती गर्ने सन्दर्भमा International Council of Nursesले यो वर्ष तय गरेको नारा अत्यन्तै सान्धर्भिक छ । संसार भर विकाशको गति अगाडी बढेको भनिए पनि धनी र गरिवको बिचमा खाडल बढ्दै जानुका साथै नयाँ नयाँ स्वास्थ्य समस्याहरु थपिने क्रम जारी छ १ बिगतमा सरुवा रोगको बढी प्रकोप देखिन्थ्यो भने आजका दिनमा नसर्ने रोगहरुको तिब्र रुपमा प्रकोप बढेको देखिन्छ । जस्तो सुकै समस्या बढे पनि सबै भन्दा बढी आक्रान्त हुने भनेको दुर्गम भेगमा बस्ने तथा सुगम भूगोलमा बसे पनि गरिवीको सिकार भएकाहरु हुने हुन् । यस कारण पनि सर्वसुलभ र समान वितरण मुखी र सामावेशी स्वास्थ्य सेवा दिन को निमित्त यो नारा अत्यन्तै सान्धर्भिक छ । (यादव नेपाल नर्सिङ्ग संघ, वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, इकाई धरानका अध्यक्ष हुन ।)