धरान । धरानको एक महिनाको अपराधको तथ्याङ्क हेर्दा लागूऔषध कारोबार तथा सेवनसँग सम्बन्धित मुद्दा नै सबैभन्दा बढी पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानले फागुन महिनाको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा एक महिनामा ३८ वटा विभिन्न अपराध भएको प्रस्तुत गरिएको छ । इप्रका धरानका डिएसपी भीषणबाबु राईका अनुसार ३८ मुद्दामध्ये १० वटा मुद्दा लागूऔषध सेवन र कारोबारसँग सम्बन्धित रहेको सोमबारको पत्रकार सम्मेलनमा बताए । “समग्र अपराधको प्रकृति हेर्दा यहाँ लागूऔषधसम्बन्धी मुद्दा नै बढी रहेको पाइयो” उनले भने, “३८ वटा अपराधसँग सम्बन्धित मुद्दा छन् । जसमा १० वटा मुद्दा लागूऔषधसम्बन्धित छ ।”
उक्त मुद्दामा मात्रै १९ जना पक्राउ गरेको छ । लागूऔषधतर्फ विभिन्न नामका ३ हजार दुई सय ४९ ट्याब्लेट बरामद गरेको छ । यस्तै एक हजार ६७ केजी छ सय ग्राम गाँजा बरामद गरिएको जनाइएको छ । जसमा दुई चक्के र चार चक्के गरी चार वटा सवारी साधन पनि नियन्त्रणमा लिइएको जनाइएको छ । यसबीचमा एक जना फरार अपराधीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार फागुन महिनामा सवारी ज्यान मुद्दामा एक, बहुविवाहमा एक, आपराधिक उपद्रवमा ८, कर्तव्य ज्यानमा एक, अभद्र व्यवहारमा दुई, बैङ्किङ कसूरमा चार, ठगीमा चार जनालाई नियन्त्रणमा लिएको छ ।
यसबीचमा प्रहरीले सार्वजनिक सेवा प्रवाहमा पाँच सय १८ जनालाई सेवा प्रदान गरेको पनि जनाएको छ । जसमा महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकले सेवा पाएको डिएसपी राईले जानकारी दिए ।
































