विजयपुर । सुनसरीको धरान उपमहानगरपालिकामा दुई दिने ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ ।

भारतको बिहार प्रदेशका पर्यटक भित्र्याउने उद्देश्यले ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर चैत २६ र २७ गते धरानको भानुचोकमा उत्सव हुनेछ । कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको छ । उत्सव पर्यटन कार्यालय धरानको प्रवद्र्धन, सुनसरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा सञ्चालन हुनेछ ।

बिहारबाट आउने पर्यटकले धरानमा आफ्नोपन महसुस गर्न सकून्, यहाँको संस्कृति, खानपान तथा स्थानीय नागरिकसँग आत्मीय सम्बन्ध विकास होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उत्सवको अवसरमा सीमापारका उद्योगी–व्यवसायीबीच व्यापार, उद्योग तथा लगानीका सम्भावनाबारे अन्तरक्रिया कार्यक्रमसमेत गरिने जनाइएको छ ।

उत्सवमा भारतको बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार तथा विद्यालय सञ्चालकहरूको सहभागिता रहनेछ । कार्यक्रममा नेपाल र भारतका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवद्र्धन गतिविधि तथा विभिन्न खाद्य स्टलहरू रहनेछन् । उत्सवले कोशी करिडोर क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन् ।