धनकुटा । धनकुटास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत एक इन्जिनियरसहित तीन कर्मचारी घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इनद्रबहादुर कार्की र सव–इन्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले विद्यालय भवन निर्माणसम्बन्धी अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन सेवाग्राहीसँग घूस मागेको उजुरीका आधरमा पक्राउ गरिएको अन्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । 

सेवाग्राहीबाट ८५ हजार रुपैयाँसहित इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । त्यस्तै, लेखा अधिकृत कार्कीलाई धनकुटाबाट र इन्जिनियर श्रेष्ठलाई भोजपुरबाट नियन्त्रणमा लिइएको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं.५ स्थित एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रियाका क्रममा उनीहरूले सेवाग्राहीसँग विभिन्न बहानामा दुःख दिँदै घूस मागेको आरोप छ ।

उक्त विषयमा उजुरी परेपछि खटिएको अख्तियारको टोलीले घूस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूबाट तीन थान मोबाइल र विभिन्न कागजातसमेत बरामद गरिएको जनाइएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूलाई पक्राउ गरी इटहरीस्थित आयोगको कार्यालयमा जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।