धरान खानेपानी व्यवस्थापन बोर्डमा दुई जना नयाँ सदस्य नियुक्त भएका छन् । बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाको अध्यक्षतामा बसेको बैठकले दुई सदस्य मनोनयन गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार चैत २३ गते बसेको बैठकले दुई सदस्य नियुक्त गरेसँगै बोर्डले पूर्णता पाएको छ । तर, कानूनी प्रावधानअनुसार विज्ञ, उपभोक्ता समिति तथा खानेपानी क्षेत्रमा काम गरेका व्यक्तिलाई सदस्य बनाउनुपर्ने व्यवस्था भए पनि राजनीतिक दलका नेता तथा कार्यकर्तालाई मनोनयन गरिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ (क) का सभापति अनिल श्रेष्ठ र नेकपाका धरान अध्यक्ष उद्धव लिम्बूलाई सदस्य नियुक्त गरिएको छ । यसअघि तत्कालीन बोर्डका अध्यक्ष हर्कराज राईले पनि आफ्नै दलका दत्त लिम्बूलाई बोर्ड सदस्यमा मनोनयन गरेका थिए । खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०६३ को दफा १० अनुसार सात सदस्यीय समितिमा खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत संस्था र विज्ञहरूमध्येबाट सदस्य मनोनयन गर्नुपर्ने प्रावधान छ । तर, उक्त प्रावधानविपरीत राजनीतिक नियुक्ति गरिएको छ । ऐनअनुसार बोर्डको कार्यक्षेत्र एउटै पालिका (धरान) भित्र सीमित भएकाले ऐनअनुसार एक सदस्य घटाइएको छ । बोर्डमा नगर प्रमुख, खानेपानी मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, उपभोक्ता संघका अध्यक्ष लगायत पदेन सदस्य रहने व्यवस्था छ । २०७९ सालदेखि धरान उपमहानगरपालिकाका प्रमुख बोर्डको अध्यक्ष हुँदै आएका छन् । ऐनअनुसार सदस्यहरूबाटै अध्यक्ष चयन हुन सक्ने व्यवस्था छ ।
यता, बोर्ड सदस्य नियुक्तिपछि यसअघि बोर्ड सदस्य नियुक्तिका कारण ४ चैतमा स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । उपमहानगरका प्रवक्ता तथा वडा नं. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार बिहीबार दिउँसो २ बजे कार्यपालिका बैठक बस्ने भएको छ । उपमहानगरका प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका अनुसार बैठकका लागि सूचना पठाइसकिएको छ । ४ चैतमा बोलाइएको बैठकको कार्यसूचीमा बसपार्क सञ्चालन कार्यविधि, नगर सभा, ट्रायल सेन्टर, जेसी अडिट प्रतिवेदन, अपाङ्गता भएका व्यक्तिहरूको बिउपुँजी सञ्चालन कार्यविधि, सडक मानव व्यवस्थापन लगायत १४ वटा कार्यसूचीमा छलफल हुने जनाइएको छ ।
































