विजयपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपद्का घटनामा ४ सय ९० जनाले ज्यान गुमाएका छन्।
विपद्का कारण १३ हजार पाँच सय चार परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद् र विपद्जन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन्। आगलागीमा परेर मात्रै एक सय चार जनाको अकालमा ज्यान गएको छ। पाँच सय ६३ जना घाइते हुँदा चार हजार एक सय ८२ परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन्।
बाढीका कारण मात्रै तीन सय २८ घटनामा ३९ जनाको निधन भएको छ। बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार, ६ सय २१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ। यस्तै, भारी वर्षाका चार सय ४६ घटनामा परेर सात जनाको ज्यान गयो भने २० जना घाइते भए।
त्यस्तै, चार सय १९ चट्याङका कारण ४८ जनाको ज्यान गयो। कूल तीन सय १२ जना घाइते हुँदा पाँच सय २२ परिवार प्रत्यक्ष रुपमा प्रभावित भए। हावाहुरीका चार सय ७७, वन डढेलाका तीन सय २४, जनावर आक्रमणका पाँच सय नौ तथा लेक लाग्नुका एक सय ३१ घटना भएका छन्। प्राधिकरणका अनुसार तथ्यांक गत वैशाख १ गतेदेखि यही चैत २४ गते सम्मको हो। एक वर्षको अवधिमा विपद्मा मात्रै चार सय ९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन्। विपद्का कारण एक हजार नौ सय ६५ जना घाइते भएका छन्। रासस
































