भद्रपुर । झापाको काँकडभिट्टामा यात्रुलाई हैरानी दिने २४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सोमबार बिहान खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
करिब साढे ८ बजेको समयमा छिमेकी राष्ट्र भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई काँकडभिट्टा बजार क्षेत्र लगायत अन्य स्थानमा रहेका होटल, अस्पताल तथा धार्मिक स्थलसम्म पु¥याइदिने भन्दै तानातान गर्ने तथा दुःख दिने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिएका उनीहरूलाई आइन्दा यस्तो गल्ती नदोहो¥याउने शर्तमा तारिखमा छाडिने उनले बताए । प्रहरीले भारतबाट आउने यात्रुहरूलाई अनावश्यक हैरानी दिने यस्ता गतिविधि नियन्त्रणका लागि सीमा नाकामा निगरानी बढाएको छ ।
































