धरान /  एकसय ९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर नेपाल नर्सिङ सङ्घ बीपीकेआइएचएस इकाइ धरानले निःशुल्क स्वास्थ्य शिविर र मधुमेह जाँच गरेको छ । 
धरान–३ तुर्केस्थित सरस्वती बालआश्रमका बालबालिका तथा पदाधिकारीहरूको शुक्रबार स्वास्थ्य चाँज गरेको हो । यसक्रममा रजस्वलाको विषयमा आश्रमका बालबालिकालाई सचेतना शिक्षा पनि प्रदान गरिएको थियो । 
आश्रमका १५ जना आश्रित बालबालिका तथा महिला कर्मचारीलाई सेनेटरी प्याड प्रदान गरिएको इकाई अध्यक्ष डा. उपेन्द्र यादवले जानकारी दिए । बालबालिकाको स्वास्थ्य जाँच बालविशेषज्ञ डा. अरुणकुमार सिंहले गरेका थिए । त्यसक्रममा निःशुल्क औषधि वितरण गरिएको थियो । भिटामिनका क्याप्सुल, पारासिटामोल ट्याबलेटलगायतका औषधि प्रदान गरिएको हो । 
आश्रमलाई एक छाक खाना बराबरको रकम पनि प्रदान गरिएको अध्यक्ष यादवले बताए । करिब १० हजार रुपैयाँ बराबरको औषधि, खानेकुरा वितरण गरिएको थियो । नर्सिङ दिवस वैशाख २९ गते पर्छ । फ्लोरेन्स नाइटिङ्गेल्सको जन्मजयन्तीको अवसरमा नर्सिङ दिवस मनाउने गरिन्छ ।