विराटनगर/ लागूऔषध प्रयोगकर्ताहरूले ‘औषधिजन्य’ लागूऔषध सेवन गर्ने गरेको प्रहरीले तीन महिना लगाएर गरेको अध्ययनबाट खुलेको छ । 
 
मोरङ प्रहरीले तीन महिना लगाएर गरेको अध्ययनका क्रममा पूर्वक्षेत्रमा औषधिजन्य लागूऔषध सेवन गर्नेको सङ्ख्या बढी पाइएको हो । १ हजार ६ सय ५५ जना पुरुष र २३ जना महिला गरी १ हजार ६ सय ७८ लागूऔषध प्रयोगकर्तासँग सोधपुछ गर्दा औषधिजन्य ड्रग्स कोरेक्स, फेन्सिडल नाइट्रोजनलगायत सेवन गर्ने गरेको भेटिएको हो । ८७ प्रतिशतले औषधिजन्य पदार्थ सेवन गर्ने गरेको भेटिएका थिए भने ४ प्रतिशत गाँजा, चरेस प्रयोग गर्ने भेटिएका थिए । ६ प्रतिशतले अन्य औषधि प्रयोग गर्ने बताएका थिए । औषधिजन्य लागूऔषध सेवन गर्नेहरूमध्ये थोरै मात्र इन्जेक्सनको प्रयोग गर्ने भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । 
 
लागूऔषध ओसार–पसार हुने मुख्यनाका रानीमा तीन महिना गरिएको अध्ययनमा प्रहरीले चिकित्सकीय परामर्श पनि दिएको थियो । अध्ययन अभियानका क्रममा जोगवनीमा ओभर डोज भएका पाँचजनालाई उद्धार गरी उपचार गरिएको थियो भने ४५ जना क्रोनिक प्रयोगकर्तालाई सुधारगृह पठाइएको डिएसपी श्रेष्ठले बताए । अन्यलाई भने परामर्शपछि अभिभावकको जिम्मा लगाइएको थियो । 
 
मोरङ प्रहरीले शुरु गरेको अभियानभरि जिल्लामा लागूऔषध ओसार–पसारको घटनामा पनि कमी आएको छ । मोरङ जिल्लामा लागूऔषध ओसार–पसारको मुख्य नाका रानी हो । रानीमै अभियान सञ्चालन भएपछि ओसार–पसार पनि घटेको श्रेष्ठको भनाइ छ । 
 
जिल्ला प्रहरी कार्यालय मोरङमा आर्थिक वर्ष २०७४-०७५ मा ९३ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । चालू आर्थिक वर्षको मङ्सिरसम्म ७८ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले तीन महिना लागूऔषधसम्बन्धी अभियान सञ्चालन गरेपछि कमी आएको बताएको छ ।
 
नेपालमा लागूऔषध कारोबार र प्रयोग गर्ने वातावरण नभएपछि दुव्र्यसनमा फसेका युवाहरू दैनिक सीमावर्ती बजार जोगवनी पुग्ने गरेका छन् । भारतीय बजार जोगवनीमा लागूऔषध प्रयोग गर्न सुनसरीको धरानदेखिका युवा दैनिकरूपमा पुग्ने गरेका छन् । अध्ययनका क्रममा ३० प्रतिशतभन्दा बढी शिक्षित युवाहरू लागूऔषध दुव्र्यसन लागेको पाइएको थियो । अनुसन्धान गरिएकामध्ये ८ प्रतिशत विद्यार्थी छन् । उमेरगत रूपमा हेर्दा १९ देखि २५ वर्ष समूहका ५१ प्रतिशतभन्दा बढी पाइएको थियो । करिब १० प्रतिशत १८ वर्षमुनिका लागूऔषध प्रयोगकर्ता भेटिएका थिए । 
 
पुनः स्थापना गर्न अभियान शुरु
मोरङ प्रहरीले विराटनगर–१६ स्थित क्यान सेण्टर स्थापना गरेर दोस्रो चरणको ‘लागूऔषध अपराध विरुद्धको अभियान’ सञ्चालनमा ल्याएको छ । 
 
लागूऔषध दुव्र्यसनीलाई समाजमा पुनः स्थापना गर्ने र ओसार–पसार, खरिद बिक्रीजस्ता अपराधबाट युवा जमातलाई जोगाउने उद्देश्यले मोरङ प्रहरीले दोस्रो चरणको यो अभियान शुरु गरेको हो ।  नवनिर्मित क्यान सेण्टरको भवनमा बिहीबार एक कार्यक्रम गरी दोस्रो चरणको लागूऔषध अपराध विरुद्धको अभियान शुरु गरेको छ । प्रहरीले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखा, पुनस्र्थापना केन्द्र तथा उपचार केन्द्रसँगको सहकार्यमा यो अभियान शुरु गरेको मोरङ एसपी मनोजकुमार केसीले जानकारी दिए । ंलागूऔषध दुव्र्यसनीलाई पक्राउ गरेर मात्र उनीहरूमा सुधार नआएकोले काउन्सिलिङ गरेर समाजमा पुनःस्थापन गर्ने यस्तो अभियानको थालनी गरेको उनले बताए ।
 
‘पहिलो चरणमा गरेको लागूऔषध अपराधविरुद्धको अभियान प्रभावकारी भएपछि अहिले त्यसलाई निरन्तरता दिइएको हो’ एसपी केसीले भने, ‘अभियानलाई हामीले तीन चरणमा विभाजन गरेका छौं ।’ पहिलो तहका दुव्र्यसनीलाई काउन्सिलिङ गर्ने, दोस्रो तहकालाई पुनःस्थापना केन्द्रमा राखिने र तेस्रो अर्थात् गम्भीर तहका दुव्र्यसनीलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गरिनेछ । अभियानको क्रममा लागूऔषध प्रयोगकर्ताहरूको उद्धार गरेर उनीहरूलाई काउन्सिलिङपछि अभिभावकहरूलाई बुझाउने एसपी केसीले बताए । प्रहरीले गत भदौ २५ देखि पुस २ गतेसम्म ९० दिन चलाएको अभियानमा १ हजार ६ सय ७८ जना लागूऔषध प्रयोगकर्ताहरूलाई काउन्सिलिङ गरेको थियो । 
 
कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी केदार रिजालले अहिले अपराधको जड भनेको लागूऔषध र मदिरा भएकाले प्रभावकारी रूपमा यस्तो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रहरी एक्लैले मात्र समाजमा हुने विकृति, विसङ्गति यिन्त्रण गर्न सम्भव नहुने भएकोले सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए । यस्तो अभियानमा सबैको साथ र सहकार्य हुन जरुरी रहेको उनले औंल्याए । प्रहरीले सञ्चालनमा ल्याएको क्यान सेण्टर ८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको हो । सभाहलसहित शौचालय र काउन्सिलिङ कोठा क्यान सेण्टरमा रहेको छ ।