उदयपुर/ पानीका मुहान सुख्न थालेपछि उदयपुरका स्थानीय बासिन्दाले तीव्र रूपमा गाउँ छाड्न थालेका छन् । 
 
अन्नबाली फलाउन र दैनिक उपभोगका लागि पानी अभाव हुन थालेपछि वर्षेनी गाउँ छाडेर पानीको स्रोत भएका ठाउँतिर बसाइ सर्ने क्रम तीव्र छ । उदयपुरको रौतामाई गाउँपालिका–३ का सोरखु, आदामारा, बेलबोटे, चन्ढौटे, बिमिरे, सालघारीलगायतका बस्तीबाट हरेक वर्ष बसाइ सरेर जानेको संख्या बढ्दो छ । पानीको मुहान सुकेर धारामा पानी आउन छाडेपछि रौतामाई–२ का भुटिया, कमेरे, रामे डाँडा र कटारी नगरपालिका–१४ का रमाइलो डाँडा, भदौरे, रामा गाउँ र चौदण्डीगढी आसपासका क्षेत्रमा समेत उस्तै समस्या छ । 
 
गाउँमा दुईवटा खानेपानी योजनाका धाराहरू छन् । २०५३ सालमा सिप्लिङ खानेपानी योजना र २०५६ सालमा सिमले खानेपानी योजनाबाट गाउँले लाभान्वित भएका थिए । तर भूकम्प र विकासको कामले पानीको मुहान सुक्न थालेपछि अहिले योजनाका ट्याङ्कीमा कमिला खेलिरहेका छन् भने धारामा माकुराले जाल हान्दै छ । खानेपानीको समस्या र अन्नबाली उब्जाउ हुन छाडेपछि यही वर्ष १० घरपरिवार बसाइ सरेर गएको स्थानीयले बताए । स्थानीय दलबहादुर भुजेल भन्छन्, ‘अन्नबाली उब्जाउमा कमी आए पनि पसलको चामल (बेसाहा) बोकेर घरपरिवार चलाउँदै आएका थियौँ । तर २०७२ सालको भूकम्पपछि खानेपानीको मुहान सुक्न थालेपछि बाध्य भएर बसाइ सर्नु परेको हो ।’
 
सरकार र विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा निर्माण भएका खानेपानी योजनाका धारामा पानी आउँदैन । तिर्खा लाग्दा कुवा, खोला नभए कोशी नै पुग्नुपर्ने बाध्यता रहेको भुजेलले बताए । एक दशकदेखि बर्सेनी पानीको समस्या बढ्दै गएर गत सालबाट हाहाकारकै रूपमा खानेपानीको समस्या भएको छ । स्थानीय सरकारले आश्वासन मात्रै दिएको स्थानीयबासी बताउँछन् ।
 
सिप्लिङ र सिमले खानेपानी योजनाले केही समय गाउँमा पानीको छेलोखेलो भयो तर बर्सेनी कम हुँदै गत वर्षदेखि ट्याङ्कीमा कमिलाले गुँड र धारामा माकुराले जालो लगाएको स्थानीय कुमार कार्कीले बताए । उनले भने, ‘धारामा पानी आउन छाडेपछि पहिला बाजे बाबुले प्रयोग गरेको कुवा धायौँ । कुवा सुकेपछि खोला धायौं । त्यहाँ पनि पर्याप्त पानी नभएपछि कोशी धाउन बाध्य छौं ।’
 
दुई अढाई घण्टाको बाटो सुनकोशीको पानी बोक्न गाउँले बाध्य छन् । गाई भैँसीलाई पानी खुवाउन कोशी नै पुर्याउन पर्ने बाध्यता छ । पानी पर्न छाडेपछि बारीमा अन्नबाली हुँदैन । कोशी किनारतिर खेतबारी हुने जति मङ्सिर लागेपछि उतै अस्थायी रूपमा बसोबास गर्ने गरेको स्थानीय कार्कीले बताए । रसुवा खोलादेखि माथि सुनकोशीको किनार आसपास उदयपुर र खोटाङको केही भू–भागमा कम वर्षा हुने गरेको स्थानीय कार्कीले बताए । खडेरीले गर्दा वन–जङ्गलसमेत सुक्न थालेको छ ।
 
बाह्रैमास बग्ने खोला आसपासका खेतहरूमा चैते धान रोपिन्थ्यो । तर खडेरीले खोलाको पानी सुकेपछि खेतमा मकैसम्म छर्न नपाएको स्थानीय कार्कीले बताए । ‘अन्न बाली उब्जाउ कम हँुदा कुल्ली काम गरेर खान सकिन्छ । खानेपानीकै अभाव भएपछि कुवा, खोला र कोशी धाउनु प¥यो कि त मर्नु प¥यो’ –स्थानीय नारद राईले भने । पानी कम परेपछि गतसाल बारीमा लगाएका अन्नबालीबाट बीउसमेत नफर्केको स्थानीयले बताए । स्थानीय सरकारले तत्काल केही विकल्प नखोज्ने हो भने अबका केही वर्षमा गाउँमा एक घर पनि बाँकी नरहने अवस्था छ ।
 
पानीको समस्या भएका गाउँका घरहरूमा ताला झुण्डिएको छ ।  स्थानीयहरू त्रियुगा नदी किनार र आसपासका क्षेत्र, छिमेकी जिल्ला मोरङ, झापासम्म बनिबुतो गरेर जीवन धान्न बसाइ सरेर जाने गरेका छन् । पानीको हाहाकार भएपछि घरजग्गा त्यतिकै छाडेर बसाइ जाने क्रम बर्सेनी बढ्दै गएको स्थानीय चन्द्रबहादुर भुजेलले बताए । ‘यतिबेला मकैको दुई–तीन पात पलाइसक्नु पर्ने । तर अहिलेसम्म मकै छर्ने सुरसार नै छैन । बारी जोत्दा धुलो उड्छ’ –स्थानीय भुजेलले भने ।  
 
उक्त बस्तीहरूका बालबालिका अध्ययन गर्ने सहकारी आधारभूत विद्यालय र अन्नपूर्ण आधारभूत विद्यालयमा विद्यार्थीहरूले घरबाटै बोतलमा पानी ल्याउने गरेका छन् । धारासमेत नभएका आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई अरुकै घरमा पानी मागेर खुवाउनु पर्ने बाध्यता रहेको शिक्षिका कविता भट्टराईले बताइन् । विद्यालयमा पठन–पाठन गर्न आउने विद्यार्थीहरूले घरबाट पानी ल्याउने गरेको शिक्षिका भट्टराईले बताइन् । तीनवटा योजनाका धारा ल्याएको विद्यालय अन्नपूर्णमा सबै खानेपानीको मुहान सुकेपछि खानेपानी छैन । केही विद्यार्थीहरूले आफैले बोतलमा पानी ल्याउने गरेका छन् भने केही विद्यार्थीहरू तिर्खा लाग्दा सुनकोशी गएर पानी खाने गरेको विद्यालयका प्रधानाध्यापक प्रेम कार्कीले बताए । 
 
पहिला नै खुल्ला दिसामुक्त घोषणा क्षेत्र घोषणा गरिएको यो गाउँमा पानीको समस्याले अहिले शौचालय प्रयोगमा छैन । खडेरीले बारीमा लगाएको अन्नबालीको बीउसमेत नफर्केपछि २ सय ५२ घरले गाउँपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिए पनि क्षतिपूर्ति नपाएको पीडितहरूले बताए ।