धनकुटा । धनकुटाको उत्तरपानी धर्मशाला सामुदायिक होम–स्टेमा मौलिक संस्कृतिमार्फत् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ७ दिने डम्फु बजाउने तालिम बुधबारदेखि सुरु भएको छ ।

उत्तरपानी धर्मशाला सामुदायिक होम–स्टे सञ्चालन समितिको आयोजनामा सुरु भएको तालिमममा होम–स्टेमा आबद्ध ५ जना पुरुषसहित १७ जना सहभागी छन् । तालिमको उद्घाटन पाख्रीबास नगरपालिका–९ का वडाध्यक्ष सम्झना आले मगरले गरेकी थिइन् । तालिमको उद्घाटन गर्दै अध्यक्ष आलेले भनिन्, “तामाङ संस्कृतिलाई होम–स्टेमार्फत् प्रचारप्रसार गरेर होम–स्टेमा पर्यटन भिœयाउने पर्दछ ।” उनले तामाङको डम्फु सेलो र मगरको हुर्रा नाचलाई होम–स्टेमा वडाको तर्फबाट प्रवद्र्धनका कार्यक्रम निरन्तर रूपमा अघि बढाउँदै आएको बताइन् । 

त्यसैगरी युवा समाजसेवी एवम् नेपाल तामाङ घेदुङका पूर्व जिल्ला सह–सचिव धनबहादुर मोक्तानले होम–स्टेलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन डम्फु सेलो कोसेढुङ्गा साबित हुने बताए ।

 उनले होम–स्टेमा आउने पर्यटकहरूलाई डम्फु सेलोमार्फत् मनोरञ्जन दिलाएर अघि बढ्नसके तामाङ संस्कृतिले पनि आर्थिक उपार्जन गर्नसक्ने बताए । तालिमको सहजीकरण नेपाल तामाङ घेदुङका पूर्व जिल्ला सचिव एवम् तामाङ पत्रकार सङ्घ १ नम्बर प्रदेशका संस्थापक अध्यक्ष सन्तवीर लामाले गरिरहेका छन् । उत्तरपानी धर्मशाला सामुदायिक होम–स्टे सञ्चालक समितिका अध्यक्ष दिलु तामाङको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।