विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा भएको रकम अपचलन प्रकरणमा मुख्य जिम्मेवारी अस्पताल निर्देशकको देखिए पनि पूर्व उपकुलपतिदेखि सम्बन्धित शाखाका कर्मचारीसम्मको संलग्नता देखिएको छ ।
प्रतिष्ठानको फार्मेसी छानबिन सम्बन्धी प्रतिवेदनले दुई करोड ५२ लाख ६० हजार ९ सय ६८ रुपैयाँ १४ पैसा अपचलन भएको पुष्टि गरेको छ । उक्त रकम अपचलनमा प्रतिष्ठानका निर्देशकहरू बढी जिम्मेवार देखिएका हुन् । फार्मेसी सञ्चालन निर्देशककै मातहतमा हुने भएकाले उनीहरूको संलग्नता हुने प्रतिष्ठान स्रोतको भनाइ छ ।
अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ जारी भएपछि २०७२ जेठ २९ गतेदेखि फार्मेसी सञ्चालन गर्ने निर्णय गरिएको थियो । २०७३ जेठ २६ गते जनशक्ति व्यवस्थापनका लागि बोलपत्र आह्वान हुँदा प्रतिष्ठानको उपकुलपति प्रा.डा. बलभद्र दास र निर्देशक प्रा.डा. अरबिन्द सिन्हा थिए । सोही समयमा केटीएम सेक्युरिटी सर्भिसेस प्रा.लि.लाई कर्मचारी व्यवस्थापनको जिम्मा दिने निर्णय गरिएको थियो ।
त्यसपछि २०७४ जेठदेखि २०७९ जेठसम्म प्रा.डा. गौरीशङ्कर साह निर्देशक थिए । २०७९ साउन १८ गतेदेखि हालसम्म डा. जगतनारायण प्रसाद अस्पताल निर्देशकका रूपमा कार्यरत छन् । उनी २०७९ जेठ १८ देखि २०७९ साउन १७ सम्म सहायक निर्देशकका रूपमा पनि कार्यरत थिए । प्रतिष्ठान स्रोतका अनुसार करिब अढाई करोडको अपचलन प्रकरणमा यी तीनै जना अस्पताल निर्देशक बढी जिम्मेवार हुन् । फार्मेसीको सम्पूर्ण लागत अनुमान स्वीकृति र भुक्तानी पनि गर्ने भनेर उपकुलपतिले अधिकार प्रत्यायोजन गरेको प्रतिष्ठान स्रोत बताउँछ ।
“अस्पताल फार्मेसी तथा कलेज अफ डेण्टल सर्जरीतर्फको कुनै पनि खरिद जस्तैः मेसिन, औजार, उपकरण, अस्पताल फर्निचर, बिरामी शय्या, ट्रली, ह्वील चियर, आइभी स्टेण्ड आदि खरिद । यस्तै अस्पताल सञ्चालनका लागि खर्च भई जाने र खर्च नहुने रसायनलगायतका अन्य सम्पूर्ण सामग्रीहरू तथा अस्पतालका सरसामानहरू, बिरामीको लागि चाहिने रासन तथा भान्साबाट आपूर्ति हुने तोकिएका सामग्रीहरूका लागि सार्वजनिक खरिदमा लागत अनुमान गर्न लगाई ५० लाख रुपैयाँसम्मको अनुमान स्वीकृत गर्ने र सो भन्दामाथिको लागत अनुमान उपकुलपति समक्ष स्वीकृतिका लागि सिफारिस गर्ने भनेर अधिकार प्रत्यायोजन गरिएको छ” प्रतिष्ठान स्रोत भन्छ, “सबै भुक्तानीको प्रक्रिया पनि निर्देशकले नै गर्ने हो । त्यसैले निर्देशक नै जिम्मेवार हो ।”
प्रतिष्ठानका निर्देशकसहित फार्मेसी सञ्चालनका समयमा भएकाले उपकुलपति पनि जिम्मेवार देखिएका छन् । स्रोतले भन्यो, “निर्देशक डा. प्रसादले उपकुलपति, रजिष्ट्रार तथा कर्मचारीसम्मको संलग्नता रहेको राय दिएका छन् ।” निर्देशक डा. प्रसादले उपकुलपति, रजिष्ट्रार तथा अन्य कर्मचारीको समेत संलग्नता रहेको राय दिएका छन् । यद्यपि उनले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको स्रोतको दाबी छ । प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. दासपछि २०७३ चैतदेखि २०७५ फागुनसम्म प्रा.डा. राजकुमार रौनियार थिए । त्यपश्चात् केही समय कायममुकायम उपकुलपतिमा प्रा.डा. गुरु खनाल थिए । २०७५ फागुनदेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरी थिए । उनी २०७६ चैतदेखि २०७८ भदौसम्म निलम्बनमा परे ।
२०७९ माघदेखि २०८० असारसम्म कायममुकायम उपकुलपतिमा प्रा.डा. सञ्जिव शर्मा थिए । पुनः डा. गिरी उपकुलपतिमा आए । त्यसपश्चात् २०८० असारदेखि २०८० फागुनसम्म प्रा.डा. प्रह्लाद कार्की कायममुकायम उपकुलपति बनेका थिए । पुनः डा. गिरी २०८० फागुनदेखि २०८१ चैैत २६ गतेसम्म उपकुलपत बनेका थिए । कार्यकाल सकिएपश्चात् पुनः निमित्त उपकुलपतिमा प्रा.डा. सञ्जिव शर्मा आएका थिए । उनी २०८२ बैशाख ५ देखि २०८२ साउन २९ सम्म रहे । २०८२ साउन ३० गतेदेखि हालसम्म प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ उपकुलपति छन् ।
यस्तै, रजिष्ट्रारमा २०७१ देखि तुलबहादुर श्रेष्ठ कार्यरत थिए । उनकै कार्यकालमा केटीएम सेक्युरिटी सर्भिससँग सम्झौता भएको थियो । त्यसपश्पचात् २०७८ भदौदेखि करिब ३ महिना मोहनचन्द्र रेग्मी रजिष्ट्रारको जिम्मेवारीमा थिए । त्यसयता प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला रजिष्ट्रारको जिम्मेवारीमा छन् । प्रतिष्ठान स्रोतका अनुसार सङ्ग्रौलाले फार्मेसीमा संलग्नता नभएको दाबी गर्दै आएका छन् ।
प्रतिष्ठान स्रोतका अनुसार निर्देशक डा. प्रसादले दिएको रायमा आर्थिक प्रमुख रूपा सिघाञ्ची अग्रवाल, दिनेशराज दाहाल, कमलकुमार राय, प्रकाश श्रेष्ठ, मोहनकुमार राई, अमितकुमार कौडगिया पनि फार्मेसी अपचलनमा संलग्न रहेको राय दिएका छन् । यस्तै, कर्मचारीहरू सुनम दाहाल, छत्तर दास, नन्दकिशोर मण्डल, काबिर आलमको पनि संलग्न रहेको राय दिएका छन् । उनीहरू शाखा, महाशाखाको प्रमुख भने होइनन् । आलम अहिले फ्याकल्टीमा कार्यरत रहेको प्रतिष्ठान स्रोत बताउँछ ।
फार्मेसीको प्रमुखमा २०७७ असार ८ गतेदेखि हालसम्म लक्ष्मण महर्जन रहेका छन् । उनलाई फार्मेसीमा अपचलन भई छानबिन सुरु भएपश्चात् जिम्मेवारदेखि हटाएको छ । छानबिनका क्रममा निर्देशक डा. प्रसादले तल्लो तहका कर्मचारीसँग समेत राय माग गरी प्रक्रिया प्रभावित पार्न खोजेको र त्यसलाई प्रशासनले रोकेको स्रोतको भनाइ छ । साथै, केटीएम सेक्युरिटीका फार्मासिष्टलाई पुनः नियुक्त गर्न पनि लागिपरेको स्रोतको दाबी छ । स्रोतका अनुसार फार्मेसी अपचलन संस्थागत मिलेमतोमा भएको बताएको र प्रतिवेदनले पनि उक्त कुुरा उल्लेख गरेको छ । निर्देशक डा. प्रसादसहितका केहीले आफ्नो संलग्नता स्वीकारे पनि अन्य पनि संलग्न रहेको दाबी गरिरहेका छन् ।
































