नेपालमा प्राकृतिक विपद् भन्नासाथ बाढी र पहिरोको चित्र मानसपटलमा तुरून्तै आउँछ । तर गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो १२ वर्षको तथ्याङ्कले ‘चट्याङ’ नेपालका लागि अर्को एक भयानक र अदृश्य शत्रु बनिरहेको देखाएको छ । वि.सं. २०७० देखि २०८२ सम्मको अवधिमा चट्याङका कारण १ हजार ७३ जनाले ज्यान गुमाउनु र ३ हजार ४ सयभन्दा बढी घाइते हुनुले यसको भयावह अवस्थालाई पुष्टि गर्दछ । यो तथ्याङ्क केवल अङ्क मात्र होइन, यसले सयौँ परिवारको उजाडिएको काख र अर्बौंको आर्थिक क्षतिको पीडा पनि हो । 

तथ्याङ्क अनुसार मकवानपुर, मोरङ, उदयपुर, झापा र पहाडी जिल्लाहरु खोटाङ, सङ्खुवासभालगायतका क्षेत्रहरु चट्याङको उच्च जोखिममा छन् । वार्षिक औसत ६७ जनाको मृत्यु हुनुले हामी कति असुरक्षित छौँ भन्ने स्पष्ट पार्छ । विशेषगरी प्रि–मनसुन र मनसुनको समयमा हुने यस्ता घटनाहरुले ग्रामीण भेगका बासिन्दा र खुला आकाशमुनि काम गर्ने किसानहरुलाई बढी प्रहार गरेको देखिन्छ । झण्डै १२ करोड बराबरको आर्थिक क्षति र हजारौँ पशुचौपायाको मृत्युले ग्रामीण अर्थतन्त्रमा समेत यसले गम्भीर धक्का पु¥याएको छ ।

चट्याङ एक प्राकृतिक प्रक्रिया हो, जसलाई पूर्णरुपमा रोक्न त सकिँदैन तर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अवश्य सकिन्छ । विडम्बना के छ भने विज्ञान र प्रविधिको विकास भइसक्दा पनि अझै धेरै मानिसहरुमा चट्याङसम्बन्धी चेतनाको अभाव छ । मौसमविद्हरुका अनुसार दिउँसो गर्मी बढ्नु, एक्कासि कालो बादल मडारिनु, तीव्र वेगमा चिसो हावा चल्नु र टाढाबाट गड्याङगुडुङको आवाज आउनु चट्याङका पूर्व सङ्केतहरु हुन् । यी सङ्केतहरु पाउनासाथ सुरक्षित स्थानमा ओत लाग्ने सामान्य सतर्कताले मात्रै पनि धेरैको ज्यान जोगाउन सकिन्छ ।

यद्यपि व्यक्तिगत सचेतना मात्र पर्याप्त छैन । राज्यका निकायहरुले पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ । सरकारले विशेषगरी उच्च जोखिममा रहेका जिल्लाहरुमा ‘लाइटनिङ एरेस्टर’ (चट्याङ प्रतिरोधी यन्त्र) जडान गर्ने कार्यलाई तीव्रता दिनुपर्छ । सार्वजनिक भवन, विद्यालय र अस्पतालहरुलाई चट्याङ सुरक्षित बनाउनु अनिवार्य छ । साथै चट्याङ पर्दा टेलिफोन, विद्युतीय उपकरण र खुला ठाउँबाट टाढै रहनुपर्छ भन्ने सन्देश गाउँ–गाउँसम्म पु¥याउन ढिला भइसकेको छ ।

प्राकृतिक विपद्लाई नियन्त्रण गर्न नसकिए पनि सही सूचना र पूर्वतयारीले क्षति घटाउन सकिन्छ । गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको यो तथ्याङ्कले हामीलाई सचेत मात्र गराएको छैन, सुरक्षित पूर्वाधार निर्माण र जनचेतना फैलाउन दबाव पनि दिएको छ । आकाश गर्जनु र बिजुली चम्किनुलाई सामान्य प्राकृतिक घटनाका रुपमा मात्र नहेरी यसलाई ज्यान लिने खतराको रुपमा बुझ्नु र बुझाउनु आजको आवश्यकता हो ।