धरान । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् हर्क साम्पाङ राईले ‘एमसीसी’ खारेज गर्न माग गरेका छन् । 

उनले पहिलो प्रतिनिधि सभाको बैठकमा ७ वटा माग राख्ने क्रममा एमसीसीलाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले अमेरिकाको परियोजनाको रूपमा रहेको एमसीसीलाई खारेज गर्नुपर्ने माग यसअघि नै उठाउँदै आएका थिए । उनले बैठक ढिला भएकोमा पनि गम्भीर आपत्ति प्रकट गरे । प्रतिनिधि सभाको बैठक १६ मिनेट ५५ सेकेन्ड ढिलो सुरु भएको थियो । यसअघि निर्वाचित सांसद्को सपथ ग्रहण पनि १२ मिनेट ४६ सेकेन्ड ढिला भएको थियो । 

उनले जनताले ढिला गर भनेर नपठाएको भन्दै प्रत्येक मिनेटको महŒव बुझ्न आग्रह गरे । उनले अबका दिनमा ढिला नगर्नका लागि अनुरोध गरेका छन् । उनले सीमा क्षेत्रमा छिमेकी देशको गतिविधिको निगरानी राख्न पनि माग गरेका छन् । यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ल्याउनका लागि छलफल अगाडि बढाउनुपर्ने माग छ । जेन जी आन्दोलनको घटनालाई छानबिन गर्न उच्चस्तरीय आयोगसमेत गठन गर्नुपर्ने उनको अडान छ । 

यसअघि नै गौरीबहादुर कार्कीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । सोही आयोगले दिएको प्रतिवेदनको कार्यान्वयनको क्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।

यस विषयलाई प्रभावित बनाउने गरी साम्पाङले अर्को समिति गठन गर्न माग गरे । उनले डोजर चलाएर सुकुम्बासी उठाउने काम अबका दिनमा बन्द गर्नुपर्ने सुझावसमेत दिए । यस्तै शिक्षा क्षेत्रमा पनि सुधार गर्न आवश्यक रहेको बताए । उनले पढाउने शैलीमा परिवर्तन गर्न माग गरे । उनले एक घण्टा समय दिइनुपर्नेमा सात मिनेट समय दिएर विभेद गरेको पनि आरोप लगाएका थिए ।