धरान/ राजधानी दाबी गरिरहेको इटहरीमा बर्सेनी एक हजारभन्दा बढी नयाँ घर थपिन्छन् । इटहरी उपमहानगरको घरनक्सा शाखामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ४ वटा नयाँ घरका लागि स्वीकृति लिएका छन् । आर्थिक वर्ष ०७४-७५ मा यो सङ्ख्या १ हजार १ सय ७८ थियो ।
प्रजातन्त्रको पुनर्बहालीपछि इटहरीले शहरको रूप धारण गर्न थाले पनि माओवादी सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा इटहरीमा तीव्र शहरीकरण बढेको जानकारहरू बताउँछन् । शिक्षासेवी बोधराज नेपाल भन्छन्, ‘०४९–५० सालमा धेरै जमिनमा खेती नै हुन्थ्यो । यतिका घरहरू नै थिएनन् ।’ दशवर्षे सशस्त्र द्वन्द्व र मधेश आन्दोलनले ह्वात्तै बढेको इटहरीको शहरीकरण थेग्न नसक्ने गरी वृद्धि भएको छ । जसले गर्दा कालान्तरमा कङ्क्रिटको नमूना शहर बन्नेमा इटहरीका अग्रजहरू चिन्तित छन् । कहाँ कस्तो शहर बसाउने भन्ने दीर्घकालीन सोच नहुँदा शहर अव्यवस्थित बनेको नेपालको अनुभव छ । ‘कहा“, कस्ता शहर बसाउने भन्ने योजना नहु“दा शहर अस्त–व्यस्त बनेको छ’–उनी भन्छन् ।
आजभन्दा तीन सयवर्षअघि जन्मिएका राजा पृथ्वीनारायण शाहको दूरदर्शिता अहिलेका जनप्रतिनिधिभन्दा बिछट्टै छ । शाहको दूरदर्शिता यस्तो छ, ‘खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि खानी चलाउनू, गह्रो (खेत) बनेको जग्गामा घर भया पनि घर अरु जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू’ यो दिव्योपदेशलाई अहिलेका जनप्रतिनिधिहरूले मनन् गर्ने हो भने भावी दिनमा इटहरीको रेखा कोर्न सकिने अग्रज रमेश विष्टको तर्क छ । २०२१ सालदेखि इटहरीमा बसोबास गर्दै आएका विष्टका अनुसार पञ्चायतकालमा पनि शहरलाई व्यवस्थित गर्ने कुनै योजना थिएन, न अहिलेका जनप्रतिनिधिहरूमा नै छ । उनी भन्छन्, ‘पहिलेका पञ्चायत शासकले गरेनन्, अहिलेका जनप्रतिनिधिले पनि गर्न सकेका छैनन् ।’
नगरको मोडल अहिलेबाट कोर्न नसके भविष्यमा पश्चताप गर्नुको विकल्प नभएको विष्टको अनुभव छ । उनी भन्छन्, ‘४०–५० वर्षमै यो हालत छ । भोलि के हुन्छ ? सरकारले संरक्षण गर्नुपर्छ । कालान्तरमा खेतीयोग्य जमिन बाटोमा परिणत हुन्छ ।’ शहरी योजनाकार ईश्वर जोशी अहिलेका जनप्रतिनिधिमा राजा पृथ्वीनारायण जति मात्रै सोच आउने हो भने पनि अव्यवस्थित शहरीकरणलाई अबका दिनमा रोक्न सकिने बताउँछन् । ‘जसलाई जहाँ, जे बनाउन पाउने सुविधा प्रदान गरिएको छ । निजी सम्पत्तिका नाममा घर पनि बनाउनु पर्यो, उद्योग पनि खोल्नुपर्यो, बजार पनि खोल्नुपर्यो’ उनी फोनमा भन्छन्, ‘यो अन्त्य गर्न भिजिनरी प्लान बनाउनुपर्यो ।’
बर्सेनी इटहरीमा नयाँ घर निर्माण गर्ने दर बढिरहेको छ । जमिन खण्डीकरण रोकिएको छैन । स्थानीय सरकारले छुट्टै भू–उपयोग नीति बनाउन सकेको छैन । सङ्घीय सरकारले बनाएको भू–उपयोग नीति पनि प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७६÷७७ का लागि पेश गरेको सरकारको नीति तथा कार्यक्रमहरूमा पनि भू–उपयोग नीतिलाई समावेश गरिएको छ । त्यहाँ भनिएको छ, ‘भूमिको उपयोग भू–उपयोग योजनाको आधारमा मात्र गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरी करार खेती, सहकारी खेती र सामूहिक खेती गर्न उत्प्रेरित गरिनेछ ।’ योजनाकार जोशी थप्छन्, ‘यस्ता कार्यक्रम ल्याएर मात्रै हुँदैन, प्लानलाई इम्प्लिमेन्टेसन गर्ने सोच नै छैन ।’
अहिले पनि इटहरी उपमहानगरले एकीकृत शहरी विकास आयोजनाका लागि गतिलो कदम चाल्न नसकेकोप्रति इटहरीका अग्रज विष्ट चिन्तित छन् । इटहरी योजना शाखाका इञ्जिनियर जीवन घिमिरे भन्छन्, ‘एकीकृत गर्ने काम सजिलो होइन । ल्याण्डपुलिङमार्फत् गर्न सकिन्छ । यो ऐन बनाउने क्रममा नगरपालिका छ ।’ व्यवस्थित इटहरी बनाउन नसके अस्त–व्यस्त बन्ने कुरामा उनी पनि सचेत छन् । उनी भन्छन्, ‘व्यवस्थित इटहरी बनाउने चरणमा छौं । तर जुन स्पिरिटमा हुनुपर्ने हो, त्यो गर्न नसकिएको पक्कै हो ।’ उनका अनुसार हाल बाटोको मापदण्ड, नक्सा पासको मापदण्ड पास गर्ने प्रक्रियामा छौं ।
यसो गर्न सकिन्छ : ईश्वर जोशी
एकीकृत शहरी विकास योजना बनाउनुपर्ने बताउँछन् । नगरपालिकाले आगामी २५ वर्षभित्रमा कति जनसङ्ख्यालाई अटाउने भन्ने योजना अहिले नै स्पष्ट तय गर्नुपर्छ । त्यहीअनुसारको बस्ती विकासका लागि क्षेत्र छुट्याउनु पर्यो । त्यो चारकिल्लाभित्र शहर बसाउने योजना बनाउनुपर्यो । शहरी विकास रणनीतिमा शहर विकास कहा“ गर्ने त ? भन्ने सोच हुनुपर्यो । आफ्नो क्षेत्रभित्र भू–उपयोग नीति बनाउनुपर्छ । व्यापारिक क्षेत्र कहाँ हो ? औद्योगिक क्षेत्र कहाँ हो ? दीर्घकालीन सोचअनुसार ल्याण्डयुज प्लान बनाउनुपर्छ । आवासीय क्षेत्रमा सिनेमा घर बनाउन दि“दैनौं, उद्योग खोल्न दि“दैनौं । स्कुल, कलेज, स्वास्थ्यसंस्था आदि खोल्न दिँदैनौं भन्ने स्पष्ट हुनुपर्छ । भद्रगोल किसिमको प्लटिङ पनि गर्न दिनु हुूदैन । निजी स्वामित्वको जमिन छ । त्यो स्वामित्वको अधिकार व्यक्तिविशेषको भए पनि राज्यले त्यसलाई उपयोग गर्ने योजना र दूरगामी सोच ल्याउनुपर्छ ।
































