धरान/ पटक–पटक फिल्मका कथा, पटकथा चोरीको आरोप खेप्दै आएका निर्देशक उज्वल घिमिरेको नयाँ फिल्म ‘लभ स्टेसन’ लाई पनि त्यही आरोप लागेको छ ।
गत शुक्रबार रिलिज भएको ‘लभ स्टेसन’ टर्किस फिल्म ‘सेम्बिम्ली टेम्केली’ र ‘हे से असक्तन’ का प्लट हु–बहु कपी गरिएको आरोप लागेको छ ।
हुन त ‘लभ स्टेशन’ को ट्रेलर रिलिजकै बेला पत्रकारहरूले टर्किस फिल्मको हु–बहु कपी गरिएको आरोप लगाएका थिए । त्यसबेला निर्देशक घिमिरे र अभिनेता प्रदीप खड्काले ‘चोरेको नभई प्रभावित मात्र भएको’ जवाफ दिएका थिए ।
फिल्म रिलिज भएपछि दुई फिल्मबाट हु–बहु उतारिएको पत्ता लाग्यो । निर्देशक घिमिरे नै लेखकसमेत रहेको फिल्मको अधिकांश कथा र प्रस्तुति ‘सेम्बिम्ली टेम्केली’ र थोरै भाग ‘हे से असक्तन’ सँग हु–बहु मिल्छ । घिमिरेले यसअघि निर्देशन गरेका फिल्ममा पनि यस्तै आरोप लाग्दै आएका थिए ।
उनले हिन्दी फिल्म ‘प्रेम प्रतीज्ञा’ बाट ‘किस्मत’, ‘होगी प्यारकी जित’ बाट ‘जिन्दगानी’ र ‘जब वि मेट’ बाट ‘छोडी गए पाप लाग्ला’ उतारेका थिए । तर अझै पनि उनी आफू प्रभावित मात्र भएको तर्क गर्दै आएका छन् ।