इटहरी/ महिना दिनसम्म चट्पटे र पानीपुरी बेचेर कति कमाइएला ? दश हजार, बीस हजार वा त्योभन्दा बढी ? चट्पटे र पानीपुरी बेचेर महिनाको लाखभन्दा बढी कमाइ हुन्छ भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर इटहरीका ३६ वर्षीय पवन महतो चट्पटे बेचेरै महिनाको एक लाख रुपैयाँभन्दा बढी कमाउँछन् । इटहरीको सङ्गीतचौकमा सेण्ट्रल प्लाजाअगाडि चट्पटे बनाउँदै भेटिएका उनी भन्छन्, ‘चट्पटे र पानीपुरी बेचेर राम्रो आम्दानी गरिहरेको छु ।’
१५ वर्षअघि गाउँका साथीभाइको लह–लहैमा लागेर विराटनगरमा हिँड्दाका दुःख र शहरमा ठेला कुदाउँदादेखि खाना नपाउँदासम्मकोे पीडा सम्झँदै उनले भने, ‘मैले निरन्तर गरेको मेहनत नै आज मेरो आम्दानीको राम्रो स्रोत बनेको छ ।’ न हातमा काम गर्ने कुनै सीप, न त जागिर खान पढाइको कुनै मार्कसिट ।
विराटनगरबाट इटहरी आउँदा केही थिएन उनीसँग, थियो त केवल बीस वर्षे युवाको जोश र घरबाट ल्याएको दुईसय चार सय रुपैयाँ । इटहरीमा २५ सय रुपैयाँमा दिनभरि पुस्तक पसलमा मजदुरी गरेको सम्झँदै भन्छन्, ‘चट्पटे पसलमा मैले ६ जना कर्मचारीलाई राम्रो तलब दिएर पालेकोमा गौरव गर्छु ।’
इटहरीमा बाँच्नको लागि भए पनि केही काम गर्नुपर्ने बाध्यता पर्न थाल्यो महतोलाई । ‘काम गर्न भनसुन गरुँ भन्दा कसैलाई चिनेको छैन । पढेलेखेको छु भनेर जागिर खोजुँ भन्दा सर्टिफिकेट छैन’ उनी अतीत केलाउँदै भन्छन्, ‘काम गर्न केही जानेको छैन ।’ ‘अहिले मेरो परिचय फेरियो, बैङ्कले ऋण दिन थाल्यो, समाजले चिन्यो’ गौरव गर्दै उनले भने, ‘मलाई अहिले समाजले पत्याएकोमा म सन्तुष्ट मात्र हैन, मेरो जीवन परिवर्तन भएको छ ।’
ठेला र तीन पाङ्ग्रे रिक्सा कुदाएको सम्झँदै उनले भने, ‘दिनभरि दुई सय कमाउन नसक्दा मेरो बेहाल हुन्थ्यो ।’ पाँच रुपैयाँमा चट्पटे बेच्न थालेको उनको शुरुवातीदेखि नै जिब्रो पड्काउनेहरूको भीडभाड हुन थालेको उनी बताउँछन् । खल्तीमा बचेको पैसाले एउटा नाङ्लो, एउटा मुढा र चट्पटेका लागि चाहिने केही सामग्री किनेर चट्पटे बेच्न शुरु गरे ।
सङ्गीत चौक जाने बाटोमा चट्पटे बेच्ने ठाउँ रोजे । चट्पटे बेचेको पहिलो दिन उनी सम्झन्छन्, ‘भर्खरै बीस वर्षको थिएँ । चट्पटे बेच्न लाज पनि लाग्यो । डर पनि लागेको थियो । शुरु–शुरुमा कतिले उनलाई मीठो छ भनेर स्यावासी दिए त कतिले नमीठो भनेर पैसा नतिरी हिँडे । उनी भन्छन्, ‘कतिले गाली गर्थे, सित्तैं खान्थे र जान्थे । तर मैले कहिल्यै केही भनिनँ ।’ शुरुमा उनले पसल गर्दा जे खाद्यान्न किन्यो, त्यही सस्तो । त्यसैले उनले बेच्ने चट्पटे पनि सस्तो थियो । उनले शुरुमा पाँच रुपैयाँ प्लेट चट्पटे बेचेका थिए । अहिले बीस रुपैयाँभन्दा कमको चट्पटे बेच्दैनन् उनी ।
‘शुरु–शुरुमा बाटो हिँड्नेले खासै चट्पटे खाँदैनथे’ उनी भन्छन्, ‘पहिला–पहिलाका मान्छे खानै आउँदैनथे । फाट्टफुट्ट आउँथे ।’ व्यापार नभएपछि उनलाई अत्यास लागेको थियो । व्यापार छाडेर फेरि घर नै जाउँ जस्तो पनि लागेको थियो उनी भन्छन् ।तर उनी व्यापार भएको दिन धेरै खुशी र नभएको दिन निराश कहिल्यै भएनन् । उनी कुनै दिन राम्रै व्यापार हुन्छ भनेर आशा गरेरै बसिरहे । ‘कुनै न कुनै समयमा मेरो पालो आउँछ भन्ने लाग्थ्यो, म कहिले पनि आत्तिइनँ, आज मलाई गौरभ लागेको छ’ –महतो भन्छन् ।
चट्पटेबाट व्यापार शुरु गरेका साहले अहिले आफ्नो मेनुमा पानीपुरी, समोसाचाट, टिकियाचाट, भेलपुरी, आलुचाटलगायत दर्जनभन्दा बढी खानेकुरा थपिसकेका छन् । पहिलेका ग्राहकहरूभन्दा अहिलेका ग्राहकले भेराइटी खोज्न थालेका उनको अनुभव छ । पहिला चट्पटे मात्रै भन्थे । अहिले चनाचट्पट भन्न थालेका छन् । अमिलो, पिरो, मूला, चना र केराउ मात्रै हालेर दिने चलन थियो । अहिलेजस्तो धेरै सामान हाल्ने चलन नै थिएन । उनले घडेरी जोडे, बैङ्कमा ब्यालेन्स छ ।
बिहान ४ बजे उठेर दिनभरिका लागि चाहिने सबै सामग्री तयार गर्छन् उनी । पानीपुरी, झालमुरी, आलु, प्याज, खुर्सानीलगायत सामान बनाउन श्रीमती सहयोगमा जुट्छिन् । कामलाई यो ठूलो र यो सानो भन्ने भन्दा पनि काम गर्नेले नै सफलता पाउँछन् भन्ने मान्यता राख्छन् उनी । श्रीमतीको पनि अर्को ठेला छ, त्यहाँ पनि राम्रो व्यापार हुने उनी बताउँछन् । दुईजनाले महिनामा खर्च कटाएर ८० हजार हुने भन्दै कुनै महिना १ लाखभन्दा बढी कमाइ हुने उनी बताउँछन् ।
उनी भन्छन्, ‘व्यापारमा धैर्यता चाहिन्छ । अहिलेका मान्छेहरूसँग धैर्यता नै छैन । त्यसैले जोसुकैले व्यापार गरेर खान सक्दैनन् ।’ नेपालमा बसेर केही काम गर्न सकिँदैन भन्नेहरूका लागि महतो एउटा उदाहरणीय पात्र हुन् । मासिक २० हजारका लागि विदेशिनेले देशभित्रै मेहनत गरे धेर थोर कमाउन सक्छन् । सयबाट व्यापार शुरु गरेका उनी हजार हुँदै लखपति र करोडपति बनेका छन् । उनी भन्छन्, ‘छोराछोरीलाई राम्रै स्कुलमा पढाएको छु ।
छोरालाई यो पेशामा ल्याउँदिन डाक्टर, इञ्जिनियर पढाउँछु ।’ सरसफाइलाई ध्यान दिने उनी प्लाष्टिकको पञ्जा लगाएर मात्र खानेकुरा बनाउँछन् । त्यसैले उनका नियमित ग्राहक धेरै छन् । यहाँ आएर खानेले फेरि पनि आएर खान्छन् । कार चढ्नेदेखि पैदलयात्रीसम्म उनका ग्राहक छन् । उनी भन्छन्, ‘सफा र स्वादिलो भएर नै लाखौँ पर्ने कार चढ्नेदेखि बाटोमा हिँड्नेहरू चट्पटे, पानीपुरी खाएर जान्छन् । दैनिक ५ सय ग्राहक मेरोमा कहिले टुट्दैनन् ।’
हेर्दा सानो देखिने काम गरेर करोडपति बनेका छन् महतो । हामी कामलाई सानो र ठूलो भनेर छुट्याउँछौं । त्यसैले प्रगति गर्न सक्दैनौं । महिनामा १५–२० हजार रुपैयाँ कमाउन एक दिनमा १५ सयभन्दा धेरै युवा विदेश गइरहेका छन् । तर अवसर खोज्ने र कामलाई सम्मानको आँखाले हेर्ने हो भने पैसा कमाउन विदेश धाइरहनु पर्दैैन भन्ने यथार्थ महतोको सफलताबाट छर्लङ्ग हुन्छ ।
































