तेह्रथुम/ तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदायबीच विवाद बढ्न थालेको छ ।

यो डाँडा हाल पूर्व-उत्तरमा ताप्लेजुङ्ग जिल्लाको मैयाखोला गाउँपालिका, उत्तर-पश्चिममा संखुवासभा जिल्लाको चैयनपुर नगरपालिका तथा दक्षिण-पश्चिममा तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकामा पर्दछ ।

मेन्छ्यायेमको शिरमा किराँत धर्मावलम्वीले माङहिम (मन्दिर) निर्माण गर्न थालेपछि युमा धर्म मान्ने लिम्बु समुदायले लिम्बु जातिको ऐतिहासिकता र मौलिकता नष्ट भएको भन्दै विरोध गर्न थालेका हुन् ।

मेन्छ्यायाम डाँडाको अस्तित्व संकटमा पर्न थालेको भन्दै विरोधमा उत्रिएका युमा धर्म मान्ने लिम्बू समुदायले मेन्छ्यायाम डाँडा संरक्षण समिति नै गठन गरेका छन् । समितिले मेन्छ्यायाम डाँडामा लिम्बू समुदायको इतिहास र मौलिकतासँग जोडिएको हुनाले पनि भौतिक संरचना निर्माण गर्न नदिने घोषणा गरेका छन् ।

विरोधपछि निर्माणाधीन मन्दिर निर्माणको काम रोकिएको छ। संरक्षण समितिका सचिव भिमसेन लिम्बुले, लिम्बु समुदायको हरेक संस्कारसँग जोडिएको मेन्छ्यायेम डाँडामा सिमेन्ट, रड, इँटालगायतका सामग्री प्रयोग गरेर भौतिक संरचना निर्माण गर्दा लिम्बु समुदायको संस्कार र अस्तित्वमाथि आक्रमण भएको आरोप लगाए।

पाँचखपन नगरपालिका संखुवासभाका सेवालुङ लिवाङले मन्दिर निर्माण हुनु लिम्बु सम्प्रदायमा विचलन आउनु भएको बताए । उनले भने ‘यो क्षेत्रमा मानव निर्मित कुनै संरचना बन्नु हुदैन, जस्तो छ त्यस्तै अवस्थामा छाडिनु पर्छ ।’ लिम्बुहरुको मौलिकता भनेको प्रकृती पुज्नु र येबा, साम्बा तथा फेदाङ्माहरुबाट संस्कार चलाउनु भएको मुन्धुमबिध अर्जुनबाबु मावोहाङले बताए ।

‘मेन्छ्यायेम डाडा सिद्धीप्राप्तीको स्थल हो’ उनले भने ‘यो पबित्र ठाँउको नाम मुन्धुम बाचनमा मात्र आउछ ।’ भौतिक वस्तुहरुले आस्थालाई धरापमा पार्ने उनको भनाई रहेको छ ।

समुन्द्र सहतबाट ३२ सय मिटर उचाईमा रहेको यस डाँडामा लिम्बु मुन्धुम अनुसार प्रारम्भिक कालमा युृवादेवी खेली हिड्ने, पालाम गाई हिड्ने, विहानीको समयमा बालक, मध्यान्हमा मस्त तरुनी र बेलुकीपख बुढी महिलाको रुपमा रुप धारण गरि विलय भएर हराउने खालको अदभुत शक्ति भएकोले यस ठाउँमा भौतिक संरचना बनाउन नहुने मुन्धुमविध माबोहाङको भनाई रहेको छ ।

मेन्छ्यायाम डाँडाको इतिहास केही फरक भएकाले यो डाँडामा बलीभोग, होम होमादी, मूर्ति पूजा, मदिरा जन्य भौतिक पूर्वाधार निर्माण लगायतका केही पनि काम र पूर्वाधार निर्माण गर्न नहुने उनको भनाइ छरु।

‘नयाँ बन्ने संरचनाका कारण मेन्छ्यायाम डाँडाको मौलिकता नै हराउँछ,’ माबोहाङले भने। किराँत धर्मावलम्वीहरूले मेन्छ्यायाम डाँडामा लिम्बू जातिको संस्कार विपरीत कार्य गरेकोले त्यसको विरोध गरिएको उनको भनाइ छरु।

लिम्बू जातिहरू तागेरानिङवाफुमा युमा माङका सन्तान भएको र लिम्बुहरू जन्मिदै युमाधर्मी भएको भन्दै युवा साम्यो महासभा धरानले पनि पनि किराँत धर्म मान्ने लिम्बुहरूले मेन्छ्यायाम डाँडामा निर्माण थालेको भौतिक संरचनाको विरोध गरेको छ ।

केही लिम्बु समुदायले सबै धर्म र संस्कार मान्ने सबै जाति समेतले स्वीकारेको मेन्छ्यायमको ऐतिहासिकतामाथि नै अतिक्रमण गरेको किराँत याक्थुङ चुम्लुङ मैयाखोला गाउँपालिका ताप्लेजुङका सचिव सुजन थोक्लुङले बताएरु। लिम्बु भाषामा मेन्छ्यायामको अर्थ तरुनी हुन्छ ।

किराँत धर्म मान्ने लिम्बू समुदायले आफ्नो जातीय संस्कार छोडेर ब्राहमण क्षेत्रीको जस्तो यज्ञ तथा होमादी गर्न थालेकाले त्यसको विरोध गरेको उनको भनाई छ । किराँत धर्मावलम्वीले प्राकृतिक रूपमै बनेको मेन्छ्यायेम डाँडाको स्वरूप बिगारेर भौतिक संरचना निर्माण गरेकाले रोक्न उनले निर्माण पक्षलाई आग्रह गरेका छन् ।

किराँत धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमले भने मेन्छ्यायेम डाँडा संरक्षण समिति र युमा साम्योवालाको गतिविधिमा आपत्ति जनाएको छ। किराँत धर्मावलम्वीले ०५२ देखि सोही स्थानमा पूजाआजा गर्दै आएको र पूजालाई निरन्तरता दिन मन्दिर निर्माण गर्न थालिएको संघका तेह्रथुम अध्यक्ष राजकुमार तेयुङले बताए।

आफूहरूले धार्मिक रूपमा संरक्षण गर्न थालेको डाँडालाई पुन संरक्षणको नाममा युमाधर्मावलम्वीले हस्तक्षेप गरेको भन्दै किराँत धर्मावलम्वीहरूले आक्रोस पोखेका छन् । संघले प्रेस विज्ञप्ति मार्फत युमा धर्मावलम्बीले  गरेको कार्यको विरोध गर्ने जनाएको छ।

मन्दिर निर्माणका लागि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका र ताप्लेजुङको मैवाखोला गाउँपालिकाकासँग स्वीकृति लिएरै मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समिति अध्यक्ष मणिकुमार चोङबाङले बताए।

 मन्दिर निर्माण र आसपास क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माण गर्न मेन्छ्यायेम गाउँपालिकाले ७ लाख विनियोजन गरेको छ।

सबै लिम्बू जातीहरुको साझा सस्था किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको मेन्छ्यायेम डाँडाको विषयलाई लिएर विवाद गर्न नहुने बताए ।

‘दुबै पक्षका प्रतिनिधि मुलक सहभागी गराई खुल्ला ढंगले बहस र छलफल गर्ने वातावरण मिलाउन लागि परेको छु ।’ अध्यक्ष सेनेले भने ।

मेन्छ्यायेम डाँडा जुनसुकै धर्म र जातिको साझा थलो भएकाले यसको सरक्षणमा सबै लाग्नु पर्ने उनको भनाई रहेको छ । मेन्छ्यायेम गाउँपालिकाका प्रमुख यादव खापुङ्गले आफु दुबै पक्षलाई मिलाउन पहल गरिरहेको बताए ।

लिम्बु समुदायले विश्वास गर्दै आएको तागेरानिङवाभुमाङले मुख्य रुपमा मान्दै आएको हुनाले रुप अनेक हुन्छन्, प्राप्ती एउटै नै हुने भएकाले धार्मिक विषयमा विवाद गरिरहदा वास्तवमा यसले प्रत्यक्ष रुपमा लिम्बू समुदाय लगायत अन्य सम्पूर्णमा यसले नोक्सान पुर्याउने किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका पूर्व अध्यक्ष लिला बहादुर तुम्वाहाम्फेको धारणा रहेको छ ।

जुनसुकै नामले पुकारे पनि ईश्वर एउटै भएकाले समस्या समाधान गरि अगाडी वढ्न दुवै पक्षलाई उनले अनुरोध गरेका छन् ।

यस डाडाँको शिर देखी पुर्वका ९ जिल्ला देख्न सकिने यहाको विषेशता हो । यहाँबाट मकालु, कंचनजंगा, कुम्भकर्ण लगायतका धेरै हिमानल देश्न सकिन्छ । नेपालको पहिलो घाम झुल्किएको देखिने स्थान ईलामको श्रीअन्तु पछिको सुर्योद्धय देखिने स्थानको रुपमा मेन्छ्यायेम डाडाँ परिचित छ ।

यस्तो पर्यटकिय स्थलमा विवाद ल्याउनु तीन जिल्लाकै दुर्घाग्य भएको पर्यटन व्यबसायी छिरिङ्ग लामा बताउछन् ।

मेन्छ्यायेम डाडाँ विवाद समाधानका लागि स्थानीय जनप्रतिनिधि, सरोकारवाला, धर्मालम्बी, समाजसेवी, बुद्धिजीवि सबैले आ-आफ्नो क्षेत्रबाट लागिपर्नु पर्ने धेरै लिम्बू समुदायको भनाई रहेको छ । सरोकार पक्षहरुलाई समेटेर मेन्छ्यायेम डाडाँ विवाद समाधान समिति गठन गर्नका लागि चुम्लुङ्गले पहल गर्नु पर्ने समाजसेवी नरबहादुर लिम्बुको भनाई रहेको छ ।