धनकुटा । शैक्षिक भ्रमणबाट फर्कंदै गरेको सुनसरीको रामधुनी नगरपालिका–५ को पिङ्गक लोटस इङ्लिस स्कुलको बस दुर्घटनामा चालकको बुधबार निधन भएको छ ।
उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सुनसरीको रामधुनी नगरपालिका–१ घर भएका वर्ष ६० का चालक भुवन चौधरीको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा बुधबार बिहान ११ बजे निधन भएको प्रहरीले जनाएको छ । शुक्रबार झुम्काबाट शुक्रबार तेह्रथुमको तीनजुरे शैक्षिक भ्रमणमा गएको को.१ ख ५३१३ नम्बरको बसका चालक चौधरी फर्कने क्रममा धनकुटा नगरपालिका–७ जिरोपोइन्टनजिक रमाइलो घुम्तीमा दुर्घटनामा परेका थिए ।
२२ जना छात्रा, १४ जना छात्र, तीनजना शिक्षक, चालकसहित दुईजना बसका स्टाफ गरी जम्मा ४१ जना यात्रु बसमा सवार थिए । बसमा सवारमध्ये २९ जना घाइते भएका थिए । घाइतेमध्ये २५ जना डिस्चार्ज भइसकेको र अन्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले बताए ।
त्यसैगरी स्कुल बसका सह–चालक राधेलाल कर्ण पनि दुर्घटनामा घाइते भएका थिए । उनका अनुसार रमाइलो घुम्तीमा आइपुगेपछि बसका चालक चौधरीले गियर चेन्ज गर्दा ब्रेक नलागेपछि अनियन्त्रित भई सडकनजिकै गोलाइमा ठोक्किएर बस पल्टिएको बताएका थिए । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































