लहान/सिरहाको दक्षिणी भेगमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिकाको १ नं. वडाको सीमामा पर्ने कटनिया खोलामा पुल नहुँदा स्थानीय मर्कामा थिए । वर्षात्सँगै हिउँदमा पनि ओहोरदोहोर गर्न जोखिम भएपछि गाउँपालिकाको बजेटमा पुल निर्माण हुन थालेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष ०७४/७५ को विकास बजेट मध्ये चार करोड ९२ लाख रुपैयाँको लागतमा पुल बन्ने निश्चित भएपछि स्थानीय हर्षित भएका छन् ।

‘वर्षौंदेखिको पुलमा हिँड्ने सपना बल्ल बूढ्यौली उमेरमा पूरा हुने भएपछि खुशी छौं ।’ स्थानीय ७० वर्षीय उत्तिमलाल मण्डलले सुनाए ।

गाउँपालिकाबाट पुल निर्माणको ठेक्का पाएको अजय वामती जेभिद्वारा बुधबार कटनिया खोला किनारमा आयोजित पुल निर्माणको शिलान्याश कार्यक्रममा आएका मण्डलले भने ‘दैनिक किनमेलसँगै आपत्विपत् पर्दा २० मिनेटको दूरीमा रहेको लहान बजार पुग्न कटनिया खोलाको कारणले डेढ घण्टा खर्चिएर घुमेर जानु पर्ने बाध्यता थियो ।’

सखुवानन्कारकट्टी १ का वडाध्यक्ष शुभनारायण यादवका अनुसार पुल निर्माणपछि वडा नं. ५ मा रहेको गाउँपालिकाको केन्द्र पुग्न १० मिनेट भन्दा बढी लाग्दैन । ‘पुल नहुँदा गाउँपालिका केन्द्र रहेको खयरबोना पुग्न दुई घण्टा बढी लगाएर मौवाही, सीतापुर, लहान हुँदै घुमेर जानु पर्ने बाध्यता थियो,’ वडाध्यक्ष यादवले भने– ‘पुल निर्माणले गाउँपालिका केन्द्र पुग्न सजिलो हुुनुका साथै स्थानीय करिब एक दर्जन गाउँलाई समेत जोड्दैछ ।’

निर्माण कम्पनीका कमलप्रसाद यादवका अनुसार २० मिटर लम्बाई र सात दशमलव दुई मिटर चौडाई रहेको पुल निर्माणका लागि गाउँपालिकासँग २५ साउन २०७५ मा भएको सम्झौता अनुसार अठार महिनाभित्र पुल निर्माण सम्पन्न गरिने छ ।

मौवाही घर भएका वडा सदस्य कृष्णदेव सिंहले भने– ‘कटनियाको पुलले सखुवानन्कारकट्टी, लक्षीपुर पतारी र बरियारपट्टि गाउँपालिकाका गरी करिब एक दर्जन गाउँलाई जोड्दैछ ।’

पुल निर्माणपछि सखुवानन्कारकट्टी गाउँपालिकाको लतियाही, मधुवनी, मौवाही, भौर, कटैया, लक्ष्मीपुर पतारीको पत्थरगाढा, खरुकियाही तथा बरियारपट्टिको नरगी, गोविन्दपुर गाउँका बासिन्दालाई ओहोरदोहोर गर्न सजिलो हुने वडा सदस्य सिंहले बताए ।

गाउँपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार गाउँपालिकाको थोरै विकास बजेट भए पनि गाउँपालिका पुग्न समस्याको रूपमा रहेको कटनियामा पुल निर्माणलाई प्राथमिकता दिइएको हो ।

‘जनताको दैनिकीसँग जोडिएको कटनियाको पुल निर्माण गुणस्तरीय हुनुपर्छ,’ अध्यक्ष यादवले भने– ‘त्यसका लागि स्थानीय बासिन्दाले निरन्तर निगरानी गर्न जरुरी छ ।’
पछिल्लो आवकै बजेट भए पनि डीपीआर, पुलको नक्सासहित प्रक्रिया पूरा गर्न एक वर्ष लागेकाले केही ढिलो भएको अध्यक्ष यादवले बताए ।