भोजपुर/ जिल्लाको उत्तरी र पूर्वी क्षेत्रका वासिन्दाले सञ्चालन गर्दै आएको राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

कच्चा पदार्थ प्रसस्त भए पनि बजार अभाव भएकाले ती उद्योगहरू सञ्चालनमा कठिनाइ भई बन्द हुने अवस्थामा पुगेका हुन् । भेडाको ऊनबाट तयार पारिने राडी, लुकुनी, घुमराडीलगायतका सामग्रीले उचित बजार नपाएपछि पछिल्लो समय उत्पादन हुन छाडिसकेका छन् ।

उत्तरी कुलुङ, खार्ताम्छा, दोभाने र पूर्व क्षेत्रको जरायोटारमा उत्पादन गरिँदै आएको अल्लोका सामग्रीले समेत उचित बजार नपाएको स्थानीयको गुनासो छ ।

अल्लो बनाउन रेशा निकालेर सुकाउने, पकाउने, कुट्ने, धुनेलगायत लामो प्रक्रियाबाट तयारी गर्नु पर्ने भएकाले श्रम धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी रजनी राईले बताइन् ।

उनले भनिन्– ‘धेरै श्रम गरेर सामग्री उत्पादन गरे पनि गाउँमा बिक्री हुँदैन भोजपुर र सङ्खुवासभा सदरमुकाम खाँदबारी, धनकुटा, सुनसरीको धरान उदयपुरको बेल्टारसम्म पुर्याउँदा समेत उचित मुल्य पाइँदैन । व्यापारमा घाटा छ ।’

पछिल्लो समय गाउँघरमा सञ्चालित घरेलु उद्योगबाट उत्पादन गरिएका राडीपाखी र अल्लोका कपडा बनाउन लाग्ने लागत, श्रमको मूल्य हिसाब गर्दा नाफा नै नहुने भएपछि उत्पादन गर्न नसकिने अवस्था आएको उद्योग सञ्चालकहरूले बताए ।

गाउँघरमै अल्लोबाट उत्पादित झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरू उत्पादन गरे पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नु पर्ने बाध्यता रहेको स्थानीय व्यापारीले बताए ।

बन्द हूदै उद्योग
जिल्लाको ट्याम्के मैयुङ, साल्पासिलिचो, आम्चोकलगायत गाउँपालिकामा सञ्चालित घरेलु उद्योगहरू बन्द हुँदै गएपछि भेडा पालक कृषक तथा अल्लो काडेर जीविकोपार्जन गर्ने कृषक तथा परम्परागत घरेलु उद्योग सञ्चालकहरूको समेत पेशा धरापमा पर्दै गएको छ ।

राडीपाखी उत्पादनमा कमी आउन थालेसँगै ऊनको मूल्यसमेत घट्न थालेकाले कृषक तथा व्यवसायीको व्यवसाय सङ्कटमा पर्न थालेको हो ।

पहिले प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुने गरेको भेडाको ऊन पछिल्लो समय ऊन खरिद गर्न व्यापारी आउन छाडेको ट्याम्के मैयुङ गाउँपालिकामा भेडा पाल्दै आएका रामकुमार राईले बताए । टेम्के मैयुङ गाउँपालिकाको वडा नं. ९ लेखर्क, वडा नं. ४ नागी, वडा नं. २ छिनामखु र वडा नं. १ तिम्मा आम्चोक गाउँपालिकाको वडा नम्बर २ यूँ , वडा नम्बर २ वासिङथपुर्मा भेडा पाल्ने गरिएको छ ।

त्यस्तै जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको वडा नं. १३ र १४ बोया, वडा नं. १० साम्पाङ, साल्पाशिलिचो गाउँपालिकाको वडा नं. ५ र ६ दोभानेमा समेत परम्परागत रूपमा नै व्यवसायिक रूपमा भेडापालन गरिँदै आएको छ ।

तर यी क्षेत्रमा पछिल्लो समय भेडा पालक कृषकको सङ्ख्या घट्दै गएको छ ।

आधुनिक समाजको विकाससँगै उपभोक्ताहरूको मागमा परिवर्तन आउनाले पनि परम्परागत राडीपाखी, अल्लोका कपडालगायत सामग्रीको बजार घट्दै गएको पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरका पूर्व सह–सचिव आरके बान्तवाले बताए ।

मधेसी मूलका व्यापारी गाउँगाउँमा सिरक डसना बनाउन आउने क्रम बढेकाले पनि परम्परागत राडीपाखी र अल्लोबाट उत्पादित सामग्रीले बजार नपाएको राईको विश्लेषण छ ।

संरक्षणको आवश्यकता
संरक्षणको प्रयास नहुँदा स्थानीय उद्योग बन्द हुँदै गएपछि घरेलु तथा नगर उद्योग विकास समिति भोजपुरले अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रूपमा विकास गर्ने योजना अघि सारेको छ ।

समितिका प्रमुख चेतनाथ गौतमले राडी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्नुका साथै तालिम सञ्चालन गर्ने बताए ।

स्थानीय तहसँग साझेदारी गरेर परम्परागत राडीपाखीको बजार प्रवर्धनमा समेत लाग्नु पर्ने आवश्यकता रहेकोमा उनको जोड छ । स्थानीय सरकारसँग सहकार्य गरेर भेडा पालक कृषकलाई अनुदान दिन सके परम्परागत पेशा संरक्षण भई स्थानीयले गाउँमै राडीपाखी तथा अल्लो उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्न सक्ने गौतमले बताए ।