वराहक्षेत्र/ वराहक्षेत्रलाई अध्यात्मिक ज्ञानको केन्द्र र धार्मिक पर्यटकीय हब बनाउने चतराधामस्थित जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको ग’रुयोजना अगाडि बढाइने भएको छ । आइतबार चतरा आएको चिनियाँ योग गुरुयु पण्डिता आनन्दको नेतृत्वमा ५० जना प्रतिनिधि मण्डलसँगको छलफलमा चतराधामको मास्टरप्लानको काम अगाडि बढ्ने बताइएको हो ।

महायोगी सिद्धबाबा कृष्णदास जी महाराजलाई आउँदो अङ्ग्रेजी महिनाको अप्रिलमा चीनको राजधानी बेइजिङमा हुने योग सेमिनारको मुख्य अतिथिको निमन्त्रणा गर्न चतरा आइपुगेका योग गुरु युले बताए ।

प्रदेश १ को चतराधाममा योग र आयुर्वेदिक विश्वविद्यालय निर्माण गर्न इच्छुक रहेको कार्यक्रममा गुरु युले बताएका थिए । यहाँको धार्मिक, पर्यटन बढाउन केबलकारमा लगानी गर्न चिनियाँ टोली इच्छुक रहेको सिद्धबाबा कृष्णदासले बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, वराहक्षेत्रका नगरप्रमुख निलम खनाल, सेवापीठका अध्यक्ष गणेश सुब्बा विरही सहभागी छलफलमा गुरु युले नेपालको अन्य स्थानमा लगानी गरिएको भन्दै वराहक्षेत्र चतराधाममा समेत लगानी गर्न चाहेकाले यसका लागि वातावरण मिलाइदिन आग्रह गरे ।

उनले चतराधाम र चिनियाँ शहरसँगको भगिनी सम्बन्धका लागि समेत प्रयास गरिने बताए ।

सिद्धबाबा कृष्णदासको गुरुयोजना, चतराको मात्र नभएर सिङ्गो वराहक्षेत्रको भएकाले यस क्षेत्रको धार्मिक पर्यटकीय विकासमा नगरको रचनात्मक सहयोग रहने बताए । उनले वराहक्षेत्र–भेडेटार केबलकार प्रारिम्भक अध्ययन गरिएको र नगरको वडा–१ सूर्यकुण्डमा योग विश्व विद्यालय निर्माण गर्नु उपयुक्त हुन सक्ने बताए ।

यसका लागि रामानन्दाचार्य सेवापीठसँग मिलेर योग र आयुर्वेदिक विश्व विद्यालयको काम अगाडि बढाइएको बताए । उनले वराहक्षेत्र–चतरा राजावास सर्किटको लागि समेत छलफल भइरहेको जानकारी दिए ।

वराहक्षेत्रलाई धार्मिक केन्द्र बनाउने गुरुयोजनाको काम प्रदेश सरकारबिना सम्भव नभएकाले प्रदेशलाई सहयोग गर्नका लागि, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग आग्रह गरे । चतराधामको विकासमा प्रदेश सरकार सकारात्मक रहेको भन्दै चाहिएको आवश्यक सहयोग गरिने मन्त्री घिमिरेले बताए ।

यस अघि अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रामानन्दाचार्य सेवापीठले चतरामा आयोजना गरेको योग शिविरमा बोल्दै प्रदेश १ का पर्यटनमन्त्री जगदिश कुसियतले चतराधाममा पानी बोट, कुम्भ र योगमा लगानी गरिने बताएका थिए ।

ब्लाष्ट टाइम्ससँग कुराकानीमा चिनियाँ योग गुरु युले चतरा अत्यन्त सुन्दर धार्मिक पर्यटकीय क्षेत्र भएको तर पक्की सडक, सुविधा सम्पन्न होटललगायतको भौतिक विकासमा जोड दिइनुपर्ने बताए । चतरासँग धेरै छ तर यसलाई कसरी विकासमा लगाउने हो यो स्थानीयसँगै प्रदेशमा भर पर्ने कुरा भएको बताए ।

मानिसको शारीरिक, मानसिक स्वास्थ्यलाई निरोगी राख्न योगको महत्व र आवश्यकतालाई विश्व जनमानसमा पुर्याउन चीनलाई कर्मभूमि बनाएका र नेपाली नाम गुरु यु पण्डिता आनन्द नाम समेत राखेका गुरु यु मलेसियाली नागरिक ह’न् ।