विजयपुर/धरानका बाँदर व्यवस्थापनका लागि धरान उपमहानगरले छुट्याएको बजेट ‘बालुवामा पानी’ खन्याए झैं भएको छ । बाँदर व्यवस्थापन गर्नका लागि २०७२ सालमा साढे ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसबेला बाँदर नियन्त्रणको प्रयास पनि गरिएको थियो ।

तर, अहिले समस्या ज्यूँका त्यूँ छ । २०७० मा धरान–३ निवासी सकुल श्रेष्ठको संयोजकत्वमा बाँदर पीडित सङ्घर्ष समिति बनाउँदै धरान उमपहानगरलाई बारम्बार ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षपछि उपमहानगरले २०७२ सालमा बजेट विनियोजन गरेको हो । तात्कालीन समयमा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट तालिम प्राप्त कर्मचारीले बाँदर पक्राउ गरी कोशीटप्पू लिएर गएका थिए ।

तर, अहिले फेरि समस्या उस्तै छ । बाँदर व्यवस्थापनका लागि छुट्टयाएको बजेटअनुरुप काम नभएको नाम नछाप्ने शर्तमा धरान उमपहानगरका एक कर्मचारी बताउँछन् ।

बाँदर व्यवस्थापन भन्दै केही काम गरेजस्तो गरेर रकम झ्वाम पारेको ती कर्मचारीको दाबी छ । तर, धरान उममहानगरका आर्थिक प्रशासन शाखाका अधिकृत भेषराज अधिकारीले भने बाँदर व्यवस्थापका लागि ९ लाख ५० हजार विनियोजन गरेको बताए ।

बाँदर व्यवस्थापन गर्ने भनिए पनि धरान उपमहानगरपालिकाले कहाँ व्यवस्थापन गर्ने भन्ने टुङ्गो गरेको थिएन ।

यस विषयमा सामाजिक विकास शाखाका अधिकृत गणेशप्रसाद खतिवडाले बाँदर व्यवस्थापनका नाममा बजेट छुट्याइएको सत्य भएको बताउँदै कहाँ व्यवस्थापन गरियो त्यो विषयमा तात्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालालाई नै जानकारी हुने भन्दै पन्छिए ।

उनले भने, ‘बाँदर व्यवस्थापनमा रकम पनि छुट्याइएको हो, के भयो त्यो विष्णु सरलाई नै थाहा होला, एक पटक विष्णृु सरलाई सम्पर्क गर्नु, थाहा हुन्छ ।’

बाँदर व्यवस्थापनमा उपमहानगरले हचुवाको भरमा बजेट विनियोजन गरेको बाँदर पीडित धरानबासी बताउँछन् ।

तात्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाले बजेट छुट्याइएका हो, व्यवस्थापन पनि गरेकै हो तर दीर्घकालीन व्यवस्थापन गर्न सकिएन’ भन्दै पन्छिएका छन् ।

यता संघर्ष समितिका अध्यक्ष सकुल श्रेष्ठले भने तात्कालीन कार्यकारी अधिकृत कोइरालाले बादर व्यवस्थापनका लागि कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएका प्राविधिक कर्मचारीले पक्रिने काम गरे पनि उपमहानगरले बजेट अभाव देखाएपछि समातिएको बाँदरसमेत छाडिएको बताए ।

उनले भने, ‘पाँच वर्षदेखि लगातार व्यवस्थापन गर्न विभिन्न निकायमा अनुरोध गर्दा समेत सुनुवाई भएको छैन ।’ उनले एक पटक अधिकृत कोइरालाले बजेट अभावकै कारण धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसकिएको बताएपछि आफूहरु निराश भएर बसेको बताए ।

अहिले धरानमा ४ सयदेखि ५ सय बाँदर रहेको अनुमान गरिन्छ । बादरका कारण आफूहरुले धेरै हैरानी खेप्नु परेको स्थानीयहरू बताउँछन् । बाँदर आतङ्ककै कारण सर्वसाधारण ढुक्कसँग बस्न सकेका छ्रैनन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।