दमक/ कमल गाउँपालिका–२ निवासी सुमादेवी कट्टेलको घरमा तीन वटा गाई छन् ।

पहिला यी गाईलाई सामान्य गोठमा राखिएको थियो । तर, अहिले यी गाई बस्ने गोठको स्तर सुधारिएको छ । गाईको गोठ सफा छ । इटा र सिमेन्ट लगाएर गोठको स्तरलाई बढाइएको छ । यतिमात्र होइन गौमूत्र र गोबर जम्मा गर्ने फरक– फरक खाडल पनि बनाइएको छ । सुमादेवीले यसरी तीन वटा गाईबाट मासिक एक सय किलोभन्दा बढि गोबर सङ्कलन गर्छिन् । ५० लिटरभन्दा बढि गौमूत्र सङ्कलन हुन्छ ।

‘पहिला त गौमूत्र त्यत्तिकै खेर जान्थ्यो, गोबर पनि माटोमो बिलाएर जान्थ्यो,’ सुमावेदीले भनिन्– ‘अहिले सुधारिएको भकारी निर्माण गरिएको छ र गौमूत्र र गोबरलाई व्यवस्थित तरिकाले सङ्कलन गर्न थालिएको छ ।’ गाउँमा उनको घरमा मात्र होइन यहाँका १ सय ५० घरमा सुधारिएको भकारी निर्माण भएको छ । यही गाउँका खगेन्द्रराज फुयाँलले पनि सुधारिएको भकारी निर्माण गरेका छन् ।

यसरी सुधारिएको भकारी निर्माण गरेर सङ्कलन हुने गौमूत्र र गोबरबाट प्राङ्गारिक मल उत्पादन गर्ने किसानहरू बताउँछन् । प्राङ्गारिक मल उत्पादनका लागि गौमूत्र र गोबरसँग अन्य विभिन्न प्रकारका पदार्थहरू मिसावट गरिने खगेन्द्रराजले बताए ।

‘गोबर मल, कुहिने घाँस, हड्डीको धुलो, वनको माटो, प्याज र लसुनको रसलगायत करिब ६० भन्दा बढी पदार्थको सम्मिश्रणबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ ।’ खगेन्द्रराजले ब्लाष्टसँगको कुराकानीमा भने ।

आम्दानीमा बृद्धि सुधारिएको भकारी हरेक घरमा छ । तर हरेक घरले आफै प्राङ्गारिक मल उत्पादन गर्न सहज छैन । त्यसैले गाउँमा सुधारिएको भकारी निर्माण गरेकाहरूले समूह निर्माण गरी प्राङ्गारिक मल उत्पादन गर्ने गरेका छन् ।

यसरी हरेक घरबाट सङ्कलन हुने गोबर र गौमूत्रबाट हरेक महिना कम्तिमा ३ सय बोरा प्राङ्गारिक मल उत्पादन हुने गर्छ । प्रतिबोरा २५ केजी हुन्छ । र, यो मल कृषि पकेटक्षेत्र लागू भएका झापाका विभिन्न ठाउँबाट माग हुन्छ । मासिक ३ सय बोरा प्राङ्गारिक मल उत्पादन गरिए पनि माग भने मासिक १ हजार बोरासम्मको आउने यहाँका किसानहरू बताउँछन् ।

प्राङ्गारिक मल प्रतिकेजी १६ रुपैँयामा बिक्री हुन्छ । यसरी सुधारिएको भकारी निर्माणसँगै उनीहरूको मासिक आम्दानीमा समेत बृद्धि गराएको छ । सुधारिएको भकारीले गोठ सफा सुग्धर त देखियो नै मासिक १२ हजार रुपैैयाँसम्मको आम्दानी पनि दिएको छ ।

प्राङ्गाारिक मलको मागलाई पूर्ति गर्नका लागि अब यहाँका किसानले मल उत्पादनको मात्रालाई बढाउने लक्ष्य लिएका छन् । जसका लागि उनीहरूले सुधारिएको भकारी निर्माण गर्नका लागि हरेक किसालाई उत्प्रेरणा जगाइरहेका छन् ।

यो वर्ष १ सय ५० घरमा सुधारिएको भकारी निर्माण गरिएको छ ।

गाउँपालिकाको अनुदान साविक तोपगाछी र लखनपुर गाविस मिलेर बनेको गाउँपालिका हो कमल गाउँपालिका । ७ वटा वडा रहेको यस गाउँपालिकामा अहिले वडा नं २ का किसानहरूले मात्र सुधारिएको भकारी निर्माण गरिरहेका छन् ।

गाउँपालिकाले सबै वडाका किसानलाई सुधारिएको भकारी निर्माण गर्न प्रोत्साहन अनुदान समेत दिने गरेको छ ।

घरमा पालिएका चौपायाका आधारमा सुधारिएको भकारी निर्माण गर्न १० हजारदेखि ३० हजार रुपैयाँ खर्च हुन्छ । यसमा गाउँपालिकाले चौपायाको सङ्ख्या र त्यसले उत्पादन गर्ने गोबर र गौमूत्रको आधारमा अनुदान दिने गरेको छ ।

अधिकतम ९ हजार रुपैँयासम्म गाउँपालिकाले सुधारिएको भकारी निर्माण गर्नका लागि किसानलाई अनुदान दिने गरेको जनाएको छ ।

गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकालाई अर्गानिक गाउँपालिका निर्माण गर्नका लागि किसानलाई नै उत्प्रेरणा गराइएको बताइन् । ‘किसान आफैं जागरुक नभएसम्म हामीले सोचेको अर्गानिक गाउँ बन्नै सक्दैन, त्यसैले किसानमैत्री विभिन्न कार्यक्रमहरू ल्याइएको हो ।’ अध्यक्ष काफ्ले भनिन् ।

उत्पादनमा परिवर्तन सुधारिएको भकारी निर्माण भएपछि गाउँमै प्राङ्गारिक मल उत्पादन हुन थालेको छ ।

यो मलको सबैभन्दा पहिला गाउँमै प्रयोग गरिन्छ । गाउँमा प्रयोग गरेर बाँकी रहेको मलमात्र बिक्रिवितरणका लागि अन्यत्र पठाइन्छ । गाउँका खेतबारीमा अहिले बजारमा पाइने रासायनिक मलको प्रयोगमा कमी आएको छ । रासायनिक मलले लादेको किसानको बारी एकै पटक प्राङ्गारिक मल प्रयोग गर्दा उत्पादन नबढाए पनि स्वच्छ उत्पादन दिने गरेको किसाहरू बताउँछन् ।

स्थानीय आइपीएम कृषि सहकारीका अध्यक्ष यामबहादुर राईले गाउँमा रासायनिक मलको प्रयोग बढी गरिएको पाइएपछि त्यसलाई निरुत्साहित गर्नका लागि सुधारिएको भकारी निर्माण अभियान थालिएको बताए ।

 सुधारिएको भकारीबाट उत्पादन हुने मलको प्रयोगले अहिले गाउँमा उत्पादन हुने गोलभेडा, बन्दाकोपी, आलुलगायतको उत्पादनमा परिवर्तन आएको किसान बताउँछन् ।

‘उत्पादनको मात्रा उस्तै भए पनि बजारमा लगेर बेच्दा पहिलाको भन्दा राम्रै मूल्य आएको छ,’ स्थानीय किसान दुर्गा राई भन्छिन्,– ‘प्राङ्गारिक मल प्रयोग गरेर अर्गानिक सब्जी बेचेका हाैँ भन्दा ग्राहकहरूले पनि सहजै किनेर लैजानुहुन्छ ।’