पथरीशनिश्चरे/ भारतसँगको व्यापारिक नाका तथा उत्तरपूर्वी मोरङको पहाडी क्षेत्रसहितका अन्य पहाडी जिल्लाबासीको व्यवसाय सहितको जीवन प्रवद्र्धनमा यसको निकै महत्वपूर्ण भूमिका रहन्छ ।

अर्थात भारतको दक्षिणी सिमानाको सिक्टीबाट पथरी, जाँते हुँदै पूर्वको प्रचुर पर्यटकीय सम्भावनाको ऐतिहासिक महत्वको मिक्लाजुङ्बाट पाँचथर, ताप्लेजुङ उक्लिएर चिन जोड्ने सडकको प्रसँग हो यो ।

पथरीशनिश्चरे नगरपालिकामा सोमबार पथरीशनिश्चरे, लेटाङ र सुनवर्षी नगरपालिका प्रमुखबीच यही सडकलाई व्यवस्थित गर्ने विषयमा छलफल भयो । छलफलमा सिक्टी –पथरी –जाँते–ज्यामिरे–मिक्लाजुङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयमा माग गर्ने निर्णय भएको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले बताए ।

मोरङ निर्वाचन क्षेत्र नम्बर २ को भारतसँगको सिमाना जोडिएको छोटी भन्सार समेत रहेको सुनवर्षीको सिक्टी नाकाहुँदै ३ नम्बरकाे पथरीशनिश्चरे, १ नम्बरको लेटाङको जाँते, मिक्लाजुङ्बाट मोरङ, धनकुटा, इलाम र पाँचथरको सिमामा पर्ने पूर्वको पर्यटकियस्थल मिक्लाजुङ्सम्म सो सडकले जोड्दछ ।

बैठकमा पथरीशनिश्चरे प्रमुख राईका साथै उपप्रमुख यमुना विष्ट वास्तोला, लेटाङ नगर प्रमुख शंकर राई र सुनवर्षी प्रमुख कालिप्रसाद दासको उपस्थिती रहेको थियो ।

उपस्थित हुन नभ्याएका मिक्लाजुङ् गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले पनि मागप्रति ऐक्यवद्धता जनाउँदै भने ‘सो सडक निर्माणले ज्यादै ठूलो महत्व राख्छ । स्थानीय पालिकाहरुले मात्र निर्माण गर्न सम्भव नभएकाले त्यसमा संघले ध्यान दिनैपर्छ ।’

भारतको सिमानादेखि आयात निर्यातको व्यवस्थापनमा सो सडक निर्माणको आवश्यकता खड्किएको छ ।

यसबेला सामान्य सडक भएपनि ७० फिट चौडाईको कालोपत्रे सडक निर्माण गरी पहाडी जिल्ला हुँदै चिनसम्मको र यता भारतसम्मको व्यापार प्रवद्र्धन गर्न सिक्टी नाका महत्वपूर्ण हुने सुनवर्षी नगर प्रमुख दासको भनाई छ । सुनवर्षी ८ सिक्टीस्थित हचन्द्रगढी भन्सार जीर्ण र सुस्त अवस्थामा सामान्य काम कारवाहीमा छ ।

‘यहाँ रहेको छोटी भन्सारलाई व्यवस्थित गरी व्यापारिक नाकाका रुपमा यसलाई प्रवद्र्धन गर्न संघीय सरकारले हामीलाई सघाउनु पर्छ ।’– उनको जोडदार माग व्यक्त गरे ।

मिक्लाजुङको तेर्साे बाटोबाट रवि, राँके हुँदै ताप्लेजुङबाट चिनसम्म जोड्न सहज पहुँच पुग्ने छोटो दुरीको दर्विलो बाटोका रुपमा सो सडक निर्माण गर्नु अति आवश्यक रहेको ठहर गर्दै स्थानीयवासीको मागका रुपमा मन्त्रालयमा डेलिगेशन जाने समेत निर्णय भएको छ ।

सिक्टीबाट १६ किलोमिटर उत्तर पथरीशनिश्चरे, त्यहाँबाट १२ किलोमिटर उत्तरमा पूर्वपश्चिम लोकमार्गमा पर्ने पथरीको जाँतेमोड आउँछ । त्यसबाट साढे ११ किलोमिटरमा जाँते पुगिन्छ ।

सिक्टीदेखि जाँतेसम्म ४१ र त्यसमाथि ज्यामिरेसम्म साढे ६ तथा धनकुटाको चौविसे गाउँपालिको ६ नम्वर बुधबारेसम्म साढे १८ किलोमिटर गरी कुल साढे ६६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि प्रधानमन्त्री कार्यालय, भौतिक मन्त्रालय, राष्ट्रिय योजना आयोग र १ नम्वर प्रदेशको मुख्यमन्त्री कार्यालयमा वोधार्थ पठाइने लेटाङ नगर प्रमुख शंकर राईले जनाए ।

‘पथरीबाट जाँते हुँदै अनि लेटाङ बजारबाट समेत ज्यामिरे जोडेर लाने हाम्रो योजना छ ।’– उनले लेटाङतर्फको अभियानको कुरा समेत जोड्ने क्रममा भने । ‘कालेबुदुली’ नामबाट २ दशक अघिदेखि लेटाङबाट ज्यामिरे सडक कच्ची रुपमा निर्माण गरी यातायात समेत सञ्चालन हुँदै आयो ।

यता पथरीबाट जाँते हुँदै ज्यामिरेसम्म उसैगरी बाटो जोडियो र यातायात समेत सञ्चालन भयो । सो खण्डमा पथरीशनिश्चरे र लेटाङ नगरपालिकाले वर्षामा मर्मत सम्हार गर्दै आएको छ ।

तर व्यवस्थित सडक निर्माणमा भनें स्थानीय पालिकाको ल्याकतले नभ्याउने १ नम्बर क्षेत्रका प्रदेश सांसद उपेन्द्रप्रसाद घिमिरेले प्रष्ट्याउँदै यो वर्ष प्रदेश सरकारले केही रकम विनियोजन गरेको र बाँकी रकम संघले विनियोजन गर्न आवश्यक परेको उल्लेख गरे ।

पहाही क्षेत्रबाट तराई जोड्ने छोटो र पुल हाल्नु नपर्ने अवस्थाको सो सडक निर्माणले आफ्नो क्षेत्रको भविष्य नै निर्माण हुने ताए । उत्तरदक्षिणका अन्य क्षेत्रको सडकहरु भन्दा यहाँको माटो कम पहिरो जानेखालको दर्विलो रहेको घिमिरेले जनाए ।

उनले थपे ‘यो बाटोको उत्तरी क्षेत्रलाई थप व्यवस्थित बनाउँदै कालोपत्रे गर्न सके उत्तरी भेगको यातायातको समस्या टर्ने, कृषिजन्य वस्तु वजार झार्न सहज भई भविष्य निर्माण हुने र तल्लो भेगको व्यापार प्रवद्र्धनमा ठूलो टेवा पुग्ने छ ।’

सोही खण्डमा पर्ने पथरी –जाँते–ज्यामिरे सडकका लागि यो वर्ष प्रदेश सरकारले ३ करोड रुपैयाँ विनियोजन समेत गरेको छ । जसका लागि कार्यविधि बनेको र ठेक्का प्रक्रियामा जान बाँकी रहेको छ ।