दमक/सात वर्ष भयो, तिहारमा भाइटिका नलगाएको ।

मेरा लागि न त दशैं नै आउछ न त तिहार नै । यस्ता चाँडवाडले मलाई त खुशी हैन पीडामात्र बल्झाउछ । यस वर्ष पनि तिहारमा दाजुभाई होइन उनीहरुको याद मात्र आयो । चाडवाडभरी घरबाट बाहिर निश्कन पनि मन लागेन ।

सबैले भाईटिकासँगै सयपत्री फूलको माला लगाएको देखेपछि झन् दाजुभाईको याद आउछ । तेसैले गर्दा पनि बाहिर निश्कन मन लाग्दैन । दाजुभाईको यादले तिहारभरी रोएर नै बिताए ।

झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी तीनको सेक्टर डी दुईको छाप्रा नम्बर ९९ की ५८ बर्षिय कान्छिमाया लिम्बुको यस वर्षको तिहार यसरी नै बित्यो । छाप्रामा एक्लै रहनु भएकी लिम्बुले भुटानमा पाँच जनादाजुभाई एकै पटक भाईटीका लगाएको यादलाई स्मरण गर्दै भन्छिन् ‘अहिले दाजुभाई होइन म एक्लै शिविरमा बस्नु परेको छ । ’

भुटानको सर्भाङ जिल्ला कालिखोला ब्लक लम्चेमा घर भई हाल भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बु शरणार्थी तेस्रो मुलुक पुर्नवासमा सबैले छोडेर गएपछि एक्लै भएकी हुन ।

उनले जस्तै बेलडागी भुटानी शरणार्थी शिविरमा दाजुभाईले छोडेर गएका दिदी बहिनी तथा दाजुभाई खाली हात र निधार बस्नु परेको छ । तेसो त लिम्बुका दाजुभाई भने नभएका होइनन् ।

पाँच भाई दाजुभाई भुटानमा नै छन् । आफुसगैं आएका छोरी तेस्रो मु्लुक पुर्नवासमा अमेरिका गए । श्रीमानले दोश्रो विवाह गरेर गएपछि उनी आफन्त नभएको एक्लो शरणार्थी बन्न पर्यो ।

शिविरमा रहदा काका वढीबुवाको छोराहरुलाई भाइटीका लगाउथिन। तर सबै आफन्त नभएपछि दशैं तिहार खाली निधार र खाली हात बस्नु पर्ने बाध्यता भएको बताईन् ।

लिम्बु जस्तै सोही शिविरको छाप्रा नम्बर १०६ की ६४ वर्षिया मधुमाया मगर पनि यो बर्षको तिहारमा खाली हात नै बस्नु पर्यो । उनका एक जना भाई भुटानमा नै छन् भने एक जना शिविरबाट नै तेस्रो मुलुक पुर्नबासमा गएपछि खाली हात बस्नु परेको हो ।

भुटान शिविरमा छाप्रामा दाताले दिएको नश्चित रकमले बस्नु परेको छ ।

तेही माथि आफन्त र परिवारको बिच्छेदको पीडाले अधिकांश भु्टानी शरणार्थीहरुलाई तिहार खल्लो हुने गरेको छ । शरणार्थी केही परिवार भुटानमा नै छुटेका छन् । केही तेस्रो मुलुक पुनर्वासमा अमेरिका अष्टूेलिया, क्यानडा, नर्वे, स्वीजल्याण्ड लगायतका आठ वटा मुलुकमा पुर्नवासमा गएका छन् ।

भने भुटान नै फिर्ने सोच भएका तथा बिभिन्न कारणले कागजपत्र नमिलेका शरणार्थीमात्र अहिले शिविरमा बस्दै आएका छन् । शिविरमा बस्दै आएका धेरै जसो शरणार्थी स्वेदश फिर्तीको पक्षमा रहेका छन् ।

उनीहरुलाई भुटान सरकारले फर्काउने आशा नदेखेपछि भुटान फिर्न पाउने आशामा दिन बिताइरहका छन् ।

भुटान भित्र भाषिक तथा मानव अधिकारको आवाज उठाउन थालेपछि सन् १९९० देखि भुटान सरकारले नेपाली भुटानी शरणार्थीलाई देश निकाला गरेको थियो । यस क्रममा भुटान छोडेर नेपाल छिरेका १ लाख १९ हजार भुटानी शरणार्थीहरु झापा र मोरङका बिभिन्न शिविरमा बस्दै आएका थिए ।

त्यस मध्ये सन् २००७ देखि तेस्रो मुलुक पुर्नवास सुरु भएपछि एक लाख भन्दाबढी भुटानी शरणार्थी पुर्नवासमा गएका छन् ।