चतरा/ आदर्श उच्च माविका पूर्वप्राचार्य तथा वराहक्षेत्र रेडक्रस सोसाइटीका अध्ययक्ष ओमकुमार शर्माले समग्र वराहक्षेत्र चतराको आर्थिक विकासका लागि पाँच ‘म’ को उचित व्यवस्थापन र संरक्षण गर्न अत्ययन्त जरुरी रहेको बताउने गरेका छन् ।

शर्मा भन्छन्, ‘यहाँका पहिचानहरू मठमन्दिर, माछा, मह, मलामी र मरमसला– यी पाँच म लाई व्यवस्थापन गरी संरक्षण गर्न सके स्वतः चतरा वराहक्षेत्रको आर्थिक उन्नति हुने छ । यहाँको पहिचान नै पाँच म हो ।’ सुनसरीको वराहक्षेत्र चतरा बजार व्यापारिक केन्द्रको रूपमा स्थापित क्षेत्र हो । पाँच ‘म’ मध्ये एक मरमसलाका लागि वराह नगरपालिका–१ (साबिक वराहक्षेत्र–७, ८ र ९) उपयुक्त मानिन्छ । मरमसलाहरूमा बेसार भने मुख्य व्यवसाय हो । यति बेला उत्पादनअनुसार मूल्य नपाएपछि यहाँका कृषकहरू चिन्तित छन् ।

अहिले यति बेला प्रत्येक घरमा स्थानीय बेसार तयार पारिरहेको देख्न सकिन्छ । युवादेखि वृद्धसम्म सबै गाउँले बेसारको पाना बनाउन व्यस्त छन् । सूर्यकुण्ड आधारभूत विद्यालयका प्रधानाध्यापक हेम राई भन्छन्, ‘यहाँको मुख्य व्यवसाय बेसार नै हो, आयस्रोत पनि यही हो ।’ यस वर्ष विगतका वर्षहरूमा भन्दा अझ बढी मात्रामा उत्पादन भएको छ । ‘तर उत्पादनअनुसार मूल्य नपाउँदा यहाँका कृषक अहिले दुःखी छन् ।’ प्रधानाध्यापक राईले भने ।

स्थानीयले चतराको साचामा लाग्ने हाटखोला हटियामा बेसार बेच्ने गर्दछन् । विगतको तुलनामा बेसारको उत्पादन दोब्बर भएको स्थानीय युवा अजय राईले जानकारी दिए ।

यस वर्ष भने मूल्य नपाएपछि उत्पादन बढी भए पनि कृषकहरू कमै मात्रामा हाटखोला बजारमा देखिन्छन् । ‘मेहनतअनुसार फल नपाएपछि के बिक्री गर्नु ? अहिले भाउ नपाएपछि सबै गाउँलेको बेसार घर–घरमै भण्डारणमा छ ।’ अजयले भने । बेसार चैत–वैशाखमा मकैसँगै रोप्ने गरिन्छ र मकै काटिसकेपछि कात्तिकदेखि माघसम्म खन्ने गरिन्छ । ‘माउ बेसारलाई बीउका लागि राखेर बच्चाको चैँ पाना बनाइन्छ अनि बेसार तयार हुन्छ ।’ स्थानीय युवा समाजसेवी निमेष किरातीले जनाए ।

किरातीले भने, ‘यो क्षेत्र अग्लो स्थानमा भएकाले पानीको अत्यन्तै अभाव रहेको छ र उत्पादनपछि बिक्री गर्नलाई सडकको समस्या छ ।’ यी दुई समस्याको समाधान भइदिए यहाँका कृषक धन्य हुने उनको भनाइ छ । सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्नै किराती बताउँछन् । बेसार तरकारी र अचारमा रङ ल्याउनमा मात्रै प्रयोग गरिँदैन । हातखुट्टा सुन्निँदा, धारिलो वस्तुले काटेमा, सुङ्गुरको पाठालाई खसी पार्दा पनि बेसार र तेलको लेप लगाउने गरिन्छ । यसले गर्दा काटिएको भाग चाँडै जोडिन्छ ।

बेसारको आफ्नै विशेषता र महत्व छ । आयुर्वेद चिकित्साशास्त्रमा यसलाई एउटा राम्रो एन्टिसेप्टिक (रोगका किटाणुविरुद्ध लड्ने) का रूपमा समेत लिइएको छ ।

हरेक भोजनमा हामीले प्राचीन कालदेखि जानी नजानी बेसार प्रयोग गर्ने गरेका छौँ । फलस्वरूप हाम्रो शरीर स्वस्थ रहने गरेको छ । बेसारको यही गुणले नै गर्दा यो लोकप्रिय भएको जानकारहरू बताउँछन् । सम्बन्धित निकायले ध्यान नदिँदा कृषकहरू अहिले अघिल्लो वर्षभन्दा कम मूल्यमा बेसार बेच्न बाध्य छन् । गत वर्ष प्रतिकेजी २ सय रुपैयाँभन्दा बढी मूल्यमा बेचिएको बेसार अहिले प्रतिकेजी १ सय ६० रुपैयाँमा बेचिरहेको स्थानीय कृषक नमिता राईले सुनाइन् ।