धरान/ कृषिजन्य उत्पादनको मुल्य निर्धारण र नियमन नहुदा कृषक र उपभोक्ताहरु ठगिने गरेका छन् । नियामक निकायको ध्यान नपुग्दा कृषक र उपभोक्ता ठगिमा पर्ने गरेका हुन् ।
कृषकले उत्पादन गरेको कृषि जन्य उत्पादनको मुल्यमा बिचौलियाहरुले आफुखुसी मुल्य तोक्ने गरेका छन् । धरान, इटहरी, बिराटनगर, बिर्तामोड लगायत शहरहरुमा कृषिजन्य उत्पादनको मुल्यमा एकरुपता हुन सकेकाे छैन । जसका कारण कृषक र उपभोक्तानै बिचौलियाको मारमा पर्ने गरेका छन् । 'कृषकले २० रुपैया किलोमा बिक्रि गरेको कुनै बस्तु हामीले ६० रुपैयादेखि एक सय रुपैयाँसम्म हालेर किन्नु पर्छ' धरान-९ पुतली लाइनकी गृहणी रञ्जना थापामगरले भनिन्‘ 'यहाँ बर्ष दिन दुख गर्ने कृषकले नभएर बिचमा काम गर्ने ले अत्यधिक नाफा खाएर मुल्य निर्धारण गरेको देखिन्छ यसको असर हामीलाई पनि छ ।'
उनले यो अबस्थाको अन्त्य गर्ने सरकार आफैले मुल्य निर्धारण गर्ने ब्यबस्था मिलाउनु पर्ने र नियमित बजार अनुगमन र नियमन गर्ने बताउँछिन् । 'अहिलेको कृषि मुल्य नीतिले कृषक र उपभोक्ता दुवैको हित गर्नु पर्ने हो तर यहाँ उत्पादक र खरिदकर्ता चै ठगिएको अबस्था छ, अर्गानिक अभियन्ता कृष्णकुमार राईले भने ‘यो अबस्था कृषक र उपभोक्ताकालागि निकै ठुलो ज्याजती पनि हो, यसको मुल जड नै बिचौलियाहरु हुन् । भ्यालु चेन्ज सिस्टम अनुसार मुल्य तोकिने हो भने कृषक र उपभोत्ताहरु ठगीबाट बच्ने थिएँ । यहा त मोनोपोली सिस्टमले काम गरिरहेको छ ।’
कुनै पनि वस्तुको माग र पुर्तिलाई हेरेर वस्तुको मुल्य तोकिने गरेको कृषि बजार स्थल धरानका ब्यवस्थापक लक्षमण भट्टराईले बताए । कानुनतः थोक रकमको २० प्रतिशत भन्दा बढी रकम लिएर वस्तु विक्री वितरण गरेमा कालो बजारी ऐन अाकर्षित हुन्छ । तर बजारमा मुल्यको अनुगमन नहुने कारण उपभेत्ता ठगीमा परिरहेका छन् ।
'सबै उपभोक्ताको खर्चगर्ने सक्ने अबस्था एउटै हुदैन' ब्यबस्थापक भट्टराईले भने, 'तर यहाँ सम्पन्नहरुले सहजै उपभोग गर्न पाउने तर निम्न आय भएकाहरूले प्रयोग गर्न नपाउने अबस्था छ ।' जति मुल्यमा सजिलै क्रेताले वस्तु खरिद गर्ने भएर पनि मध्यम वर्गका उपभोत्ता अझ बढी मारमा परेको गृहणी रञ्जना थापामगरको भनाइ छ । शुद्धता, बजार भाउ, कृतिम अभाव चाडवाडको समयमा अनुगमन गर्ने गरेको भए पनि स्थानिय सरकार मार्फत कृषि उत्पादन वस्तु तरकारी,फलफुलको मुल्यको विषयमा स्थानिय सरकार मार्फत खबरदारी गर्न सकिने उपभोत्ता मञ्चका अध्यक्ष कृष्ण ताम्राकारको जिकिर छ ।
कृषि उपज बजारमा कृषिजन्य उत्पादित वस्तुको दैनिक मुल्य डिस्प्ले गर्ने गरेको भए पनि डिस्प्लेमा मुल्य हेरेर वस्तु खरिद गर्ने बानी नभएको व्यापारी गोविन्द कार्की बताउछन् । धरान ८ स्थित पुष्पलाल मार्गमा तरकारी व्यापार गरेर जिविकोर्पाजन गरेका कार्कीले पहाडबाट तरकारीहरु ल्याउने मनासय राखे पनि उपभोत्तामा उपभोगबारे ज्ञान नहुदा सस्तो मुल्यको मात्र तरकारी खोज्ने त्यसको गुणस्तरमा ख्याल नगर्नाले पहाडको अर्गानिक तरकारी विक्रि वितरण नहुने गरेको उनको अनुभब छ । ‘भारतीय बजारबाट आएका तरकारीहरु स्थानीय उत्पादन भन्दा सस्तो हुन्छन् र उपभोक्ताले त्यही खरिद गर्छन्' ब्यापारी गोविन्द कार्किले भने ‘तर भारतबाट आउने तरकारी भन्दा स्थानीय तरकारीहरु स्वस्थकर हुन्छन् ।'
स्थानीय सरकारले वस्तुको गुणस्तर,बजार भाउ, शुद्धता, कृतिम अभाव आदि नियन्त्रण गर्ने स्थानीय कानुन निर्माण प्रकृयामा रहेको धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले बताइन् ।
‘मुल्यका कारण उपभोत्ताहरु ठगिएको छ, चाडै नै कानुन मार्फत नियमन र नियत्रण गर्ने योजनामा छौ, उनले भनिन् । धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले महिना दिन अगाडि धरान स्थित कृषि उपज बजार स्थलमा भएको एक कार्यक्रममा बजारमा कृषिजन्य उत्पादनको मुल्यमा एकरुपता कायम गर्न निर्देशन पनि दिएका थिए । तर धरान स्थित कृषि उपज बजार स्थलले यसमा खासै चासो देखाएको छैन ।