
क्याप्सनः बोट सुक्ने समस्याबाट चिन्तित बनेका कृषक बोहोरा । तस्बिरः भोजराज[/caption]
ठिंगाबारीमा टमाटर खेती भित्रयाउने अग्रज कृषक सोमबहादुर बोहोरा हरेक वर्ष २ लाख माथिको टमाटर बेच्थे । तर, यो वर्ष टमाटरको बोट सुक्ने रोगको प्रकोप बढेपछि उत्पादनसँगै कारोबारसमेत घटेकाले उनी चिन्तित छन् । उनले यसपटक ५ कठ्ठामा टमाटर खेती गरेका छन् । २ लाख माथिको कारोबार गर्ने लक्ष्य राखेका बोहोराले टमाटरमा किराको प्रकोपले बोट सुकेपछि उनमा निराशा छाएको हो । ‘सदा टमाटर एकदम राम्रो थियो । कात्तिकमा फलेको टमाटर असारसम्म बेच्थ्यौं ।’ बोहोराले भने, ‘यो साल हाफ पनि भएन् ।’ उनले प्रतिकठ्ठा ६० हजार रुपैयाको टमाटर उत्पादन गर्थे । तर, यो सिजनमा प्रतिकठ्ठा ३५ हजार रुपैया पुग्न मुस्किल परेको उनी बताउँछन् । बोहोरा मात्रै हैन, अर्का कृषक राजन राईमा पनि उस्तै चिन्ताले सताएको छ । सधै २ कठ्ठामा टमाटर खेती गर्ने राईले यो पटक किराको प्रकोप देखिन थालेपछि आधा कठ्ठामा मात्रै टमाटर लगाएका छन् । ‘लेख्ने किराले सताएको छ । जेटिएलाई पनि देखायौं ।’ उनी भन्छन, ‘एन्टिबायोटिकजस्तो उपचार गर्नुपर्छ भन्छन् । एकताली फलेपछि अर्को पटक फल लाग्दैन ।’ पात सुक्ने रोग पछिल्लो ५ वर्ष यतादेखि देखिन थालेको हो । तर, यसरी बोट नै सुक्ने समस्या देखिएको यो नै पहिलो हो । ‘पहिला पनि अलिअली यो समस्या थियो ।’ उनी भन्छन्, ‘यो चोटी जस्तो बोट नै सुक्ने गरी थिएन् ।’ अग्रज कृषकहरुमा पर्ने बोहोरा र राईको मात्रै हैन, ठिंगाबारीका करिव १५० घरधुरीले लगाएको टमाटरमा नै यस्तो समस्या देखिएको छ । यो समस्याबाट आजित बनेका कृषकहरुले जेटिएदेखि विभिन्न औषधिहरु गरिसके । तर, समस्याको समाधान हुनुको सट्टा उल्टो बोट नै सुक्न थालेपछि कृषकहरुमा निराशा छाएको हो । ‘घरखर्च चल्छ कि भनेर लगाइयो । तर, बोट सुकेर हैरान छ ।’ स्थानीय कृषक मिरा दाहाल सुनाउँछिन् । दाहालले एक सिजनमा ५० देखि ६० हजार रुपैयासम्मको टमाटर बेच्छिन् । त्यहीबाट घरखर्च टार्न, केटाकेटी पढाउनसम्म पुग्ने गरेको उनी सुनाउँछिन् । ‘नुनभुटुन खाने खर्च, केटाकेटी पढाउने निस्किन्थ्यो ।’ उनी भन्छिन् । उनीहरुका अनुसार किराको प्रकोपका कारण एक पटक उत्पादन दिएपछि पुनः उत्पादन दिन नसक्ने गरेको छ । अन्य बेला कात्तिकदेखि शुरु भएर फागुन–चैत्रसम्म बेच्ने गरेका थिए । स्थानीय बजारमा करिव २५ टन खपत हुने गरेको कृषि उपज बजार स्थल धरानले जनाएको छ । कृषि उपजमा भारत, नेपालका विभिन्न स्थानबाट करिव २० टन आयत हुने गरेको छ । ठिंगाबारीबाट मात्रै दैनिक करिव ५ टन टमाटर भित्रिने गरेको व्यापारीहरु बताउँछन् । ठिंगाबारीका एक कृषकले हरेक तीन दिनमा ढेडसयदेखि २ सय केजी धरानको पालिका तरकारी बजारमा ल्याउने गरेको छ । कृषि विकास कार्यालय सुनसरीका वाली विज्ञ दीपेन्द्र पोखेरलका अनुसार ब्याक्टोरियाको कारणले गर्दा नै टमाटरलगायत अन्यबालीमा रोगको प्रकोप देखिएको हो । दोस्रो कारण माटोको जाँच र त्यसको उपचार नै रहेको उनले बताए । ‘निदानको लागि ब्याक्टेरियाको विषादीहरु नै प्रयोग गर्नुपर्छ ।’ उनले टेलिफोनसम्पर्कमा भने ।