काठमाडौं/मौसमले मात्र होइन शेयर बजार घटेकाले पनि हिजोआज राजधानीका सबैजसो ब्रोकर कार्यालयको वातावरण चिसो छ। लगानीकर्तामा उत्साह छैन। ब्रोकर कार्यालयहरुमा कोही चिउँडोमा हात राखेर नेप्सेको स्क्रोलमा एकोहोरिएका हुन्छन्। कोही यतिमा किनेको घटेर यति भयो भन्दै गुनासो गरिरहेका भेटिन्छन्। कोही नियमनकारी निकाय चाहियो भन्छन्। कोही भने बजारप्रतिको उत्साह नै मरेको सुनाउँछन्। बजार लगातार ओरालो झर्दा बोनस शेयर र हकप्रद शेयर जोड्दा पनि लगानीकर्ता ५० प्रतिशतले नोक्सानमा छन्। शेयर बजारमा आएको तिव्र उतारचढावले विगत लामो समयदेखि बनाएको पोर्टफोलियो विस्तारै गुमाउन थालेकाले लगानीकर्ताहरु बजारप्रति सशंकित हुन थालेका छन्। हकप्रद र बोनसले लगानीकर्ताको हातमा शेयर त थुप्रिएको छ तर जतिबेला हकप्रद र बोनसकालागि किनिएको थियो त्यसबेलाको भन्दा मूल्य निकै कम भएको छ। उच्च मूल्यका बेला किनेको शेयरको बजार मूल्य २ देखि चार सय प्रतिशतले घटिसकेकाले हाल बेच्दा लगानीकर्तालार्इ निकै घाटा हुने देखिन्छ। बजार अझै कति ओरालो लाग्ने हो टुंगो छैन। होल्ड गरेर राख्दा पनि बैंकबाट लिएको मार्जिन लोन तिर्नुपर्ने ताकेताले हैरान हुने लगानीकर्ताको आम समस्या भएको जीवन दाहाल बताउँछन्। जीवन दाहालले शेयर बजारबाट चार वर्षमा कमाएको पैसा एकै वर्षमा गुमाए। ‘बजार लगातार ओरालो लाग्दा घाटा खाएर बेच्ने कुरा भएन। नबेचौं बोनस तथा हकप्रद शेयर जोड्दा पनि आधा घाटा भैसक्यो। शेयर होल्ड गर्दा एक सय रुपैयाँमा झर्ला भन्ने डर भैसक्यो !’- दाहाल निराश छन्। एक बर्ष अगाडि एक करोड रुपैयाँभन्दा बढीको पोर्टफोलियो हाल ५० लाख रुपैयाँभन्दा तल झरिसकेको बताउँछन् लगानीकर्ता दिपक पाण्डे। बजार घट्न थालेसँगै बैंकबाट लिएको मार्जिन लोन तिर्न फोन र म्यासेज आएर हैरान भैसकेको पाण्डे बताउँछन्। ‘कतिले त लोन तिर्नुहुन्छ कि शेयर लिलाम गरिदिउँ भन्छन्। राति १२ बजे पनि मोबाइलमा म्यासेजको घण्टी बज्छ।’- उनले दुखेसो पोखे। उनले घाटामा शेयर बेच्दै लोन तिर्न बाध्य भएको बताए। ‘पोहोर ९ प्रतिशत ब्याजमा लिएको लोन एकाएक बढेर १३ प्रतिशत पुगेको म्यासेज आउँछ। चर्को ब्याज थाम्नु भन्दा शेयर बेचेर तिर्दियो आनन्द१’- उनी निराश सुनिए। बजार यसरी घट्दा पुगेको क्षति कसले ब्योहोर्नेरु बजारमा केही तलमाथि हुनु भाविक हो। तर निरन्तर यसरी घट्दा नियमनकारी निकाय संवेदनशिल नभएको उनलाई लागेको छ। लगानी गर्छु भनेर आउनेलार्इ त बस्ने वातावरण हुनुपर्ने हो नि ! उनको तर्क छ।

नियमनकारी निकायप्रति गुनासो सम्बन्धित निकायले पोलिसी ल्याउन समयमा ध्यान नपुर्याएको लगानीकर्ताहरु बताउँछन्। पूँजी बृद्धिको पोलिसी ल्याउँदा बजारमा सप्लार्इ साइड बढ्छ। तर यसमा सन्तुलन ल्याउन डिमाण्ड साइड क्रियट गर्नुपर्छ त्यो भने हुन नसकेको लगानीकर्ताहरुले आरोप लगाए। दुर्इ वर्षमा चार गुणा पूँजी बढाउनु जायज नभएको जीवन दाहालको तर्क छ। अर्का लगानीकर्ता विरेन्द्र दाहाल भन्छन्- ‘एक मनको क्षमता भएकालार्इ तीन मनको भारी बोकाए झैं भएको छ बजार। माग नै नभएपछि बजार खस्किएको हो।’ नियमनकारी निकायले जारी गरेको पोलिसी कार्यान्वयन गर्ने उपकरण नै उपयुक्त नभएको उनको भनाई छ। ‘पोलिसी बैंक तथा संस्था घटाउने तिर छ तर उपकरण भने हकप्रद प्रयोग गरिन्छ अनि कसरी हुन्छरु’-उनले प्रश्न गरे। बजार लगातार ओरालो लाग्न थालेपछि सुरक्षित भएर बस्ने योजनाले उनीहरुले बजारमा धेरै शेयर सप्लाइ गरेको जीवन दाहाल बताउँछन्। शेयरमा लगानी गर्ने भनेर पब्लिकसँग पैसा उठाउने तर किनेको शेयर फेरि बेचेर बैंक तथा वित्तीय संस्थामा डिपोजिट गरी ब्याजबाट कमाइ गरेको उनीहरुले आरोप लगाए। म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताले बजार घटाएको दाहालले आरोप लगाए। नियमनकारी निकायले हरेक पोलिसीमा प्रयोग गरेर हेर्ने तौर तरिका नै बजार विकासको बाधक भएको लगानीकर्ताको ठम्याइ छ। जथाभावी विश्लेषणको असर शेयर बजारका विषयमा जथभावी आउने भ्रामक समाचारले बजारलार्इ नराम्रो असर पारेको बताउछँन् लगानीकर्ता सुरज अधिकारी। उनी भन्छन्- ‘जो कोहीले विश्लेषण गरिदिएको छ। सोझासाझा लगानीकर्ताले कसको विश्वास गर्ने ?’ करोडौं लगानी भएको संवेदनशील क्षेत्रका बारेमा गलत विश्लेषणले लगानीकर्ताहरुको मनोबल गिरेको अधिकारीको भनाई छ।  आफ्नो स्वार्थको लागि गलत विश्लेषण गर्नेहरुलार्इ नियमनको दायरामा ल्याउनु पर्ने उनीहरुको माग छ। नियमनकारी निकायले लाइसेन्स प्राप्त कन्सल्ट्यान्टको व्यवस्था गर्नुपर्ने र उनीहरु मार्फतमात्रै बजार विश्लेषण हुनुपर्ने लगानीकर्ताहरुले माग गरेका छन्। लाइसेन्सप्राप्त ब्यक्तिलाई मात्र बजार विश्लेषणको अधिकार दिए जथाभावी बोल्ने प्रवृत्तिको अन्त्य हुने लगानीकर्ताहरुको विश्वास छ। नेप्सेको चक्र २०७३ साल साउन २७ गते ‍नेप्से हाल सम्मकै उच्च ८१८१ विन्दुमा पुगेको थियो। सात महिना पछि २०७३ फागुन १ गते बजार लगातार ओरालो लाग्दा १२४२ विन्दुमा झरेको थियो। त्यस लगत्तै चैत्र २८ गते १६७६ विन्दुमा पुग्यो। उचारचढावकै क्रममा २०७४ मंसिर २७ गते १५२० अंकबाट ओरालो लाग्ने क्रम १३९० अंकसम्म देखियो। हाल बजार १४ सय अंककै वरिपरि चलिरहेको छ। आइतबार नेप्से १४३२ अंक थियो।