रासस/ कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखुखेती फस्टाउँदै गएको छ । जिल्लाको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन् । नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको बताए । “उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उनले भने, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।” केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताए । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उनले १० बिगाहमा उखुखेती गरेको छ । उखुखेतीबाट ६ महिनामा रु २० लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताए । उनले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताए । “कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उनले भने, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन् ।”